0 COMMENTS

काठमाडौं७बैशाख०७४/ सरकारले काठमाडौं र ललितपुर महानगरपालिकासहित २२ नगरपालिकाको संयुक्त सहकार्यमा ५० वटा ठूला आकारका अत्याधुनिक बसहरु सञ्चालमा ल्याउने भएको छ ।

सरकारका तर्फबाट ५० करोड लगानी खर्च त्यसैगरी काठमाडौं र ललितपुर महानगरपालिकासहित २२ नगरपालिकाको संयुक्त शेयर लगानीमा १० करोड सञ्चालन खर्चमा उक्त संख्याका बसहरु सञ्चालनमा ल्याइने भएको हो ।

महानगरले ‘नगर यातायात सेवा लिमिटेड’ नाम कम्पनी रजिष्टारमा दर्ता गराएर बस सञ्चालनमा ल्याउने काठमाडौं महानगरपालिकाका निर्देशक राज्यप्रकाश प्रधानाङ्गले जानकारी दिए । “बस ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको छ,” प्रधानांगले भने, “प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा छलफल भइरहेको छ,स्वीकृत भएर आएपछि हामी कम्पनी दर्ता गराएर बस सञ्चालन गर्ने राज्यप्रकाश प्रधानाङ्गले जानकारी दिए ।”

नगर यातायात आएपछि यसको रुट परमिटका साथै ट्राफिक जाम हुन नदिन यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीसँग छलफल गरिने पनि उनले बताए ।

यस्ता छन् नगर यातायातका बसहरु
सरकारले ल्याउन लागेका बसहरु अपाङ्गमैत्री र बालमैत्री हुने प्रधानांगले जानकारी दिए । साथै सरकारी सेवा भएकाले सञ्चालनमा कुनै विवाद नआउने पनि उनले बताए । बसमा ४० सीट क्षमता रहनेछ । जुन हाल माइक्रोको भन्दा तीन गुणा बढी हो । जसले गर्दा ट्राफिक जाम कम हुने बताइएको छ । यी बसहरु गैरनाफमूलक हुन् । “सरकारले तोकेको न्युनतम भाडादरमा यी बसले सेवा दिनेछन्,” उनले भने, “नाफामा तीव्र प्रतिष्पर्धा नहुने भएकाले यात्रुहरु भाडामा ठगिने डर हुँदैन ।”

नगर यातायातका बसहरु सञ्चालक समितिले तोकेको निश्चित रुटमा चल्ने हुँदा आवागमनमा ढिलासुस्ती हुँदैन । हाल माइक्रोलगायत साना सवारीले यात्रुहरुलाई रुटपरमिटबिना नै दैला–दैलामा पुर्याउने हुँदा ट्राफिक जाम भइरहेको पनि प्रधानांगले प्रष्ट्याए । उनले जोडे, “नगर यातायात आफ्नो रुटमा चल्ने र यात्रुको दैला–दैलामा नजाने हुँदा ट्राफिक जामको समस्या देखिदैंन ।”

साथै यी बसहरुमा जोग्राफिकल आयडेण्डिटी सिस्टम (जिआइएस) हुने र महीनावारी कार्ड सिस्टम हुने भएकाले आफू जाने स्थानको बटन थिचेपछि आफ्नो बैंक एकाउण्टबाट भाडावापतको रकम कटौति हुनेछ । साथै नगर यातायातले वाइफाइ, टेलिभिजनसहित अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्नेछ ।

हरेक नगरमा सेवा
नगर यातायातले नेपालका हरेक नगरमा सेवा दिने बताइएको छ । “हामीले पहिला यसलाई उपत्यका यातायात नाम दिएका थियौं,” प्रधानांगले बाह्रखरीसँग भने, “देशभरका नगरपालिकामा यस यातायातले सुविधा दिलाउने अवधारणाका साथ नाम परिमार्जन गरी अहिले नगर यातायात सेवा लिमिटेड राखेका हौं ।” प्रधानांगका अनुसार नेपालका विभिन्न जिल्लाका नगरपालिकाहरुसँग समन्वगरी नगर यातायातका बसहरु सञ्चालन हुनेछन् । हाल बिराटनगरबाट नगर यातायात सञ्चालन माग आइरहेको पनि प्रधानांगले बताए ।

कहिले आउँछन् बस ?
हाल नगर यातायात लिमिटेड स्वीकृति मन्त्रिपरिषद्मा पेश गरिएकाले परिषद्ले स्वीकृति दिएलगत्तै कम्पनी दर्ता भइ बस सञ्चालनमा आउनेछन् । राजनैतिकलगायत कुनै पनि किसिमको प्रभाव वा ढिलासुस्ती नभए दशैंसम्ममा नगर यातायातका बसहरुले काठमाडौंबाट सेवा सुरु गर्नेछन् ।

तस्बिर गुगलबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।