0 COMMENTS

सिन्धुली,५बैशाख२०७४/सुख्खा पहिरोले पिचनै भत्काएर सुनकोसी नदीमा खसेको बीपी राजमार्गको दुई महिनापछि निर्माण थालिएको छ।
गत फागुन ९ गते राति सडक भत्किएर सवारी साधन आवत जावतमा निक्कै समस्या भएपछि नेपाल सरकारले नै सडकको निर्माण थालेको हो। सडकको क्षतिबारे स्थलगत अध्ययनपछि छोटो समयमै टेण्डर आह्वान गरी सडकको सोमबारबाट निर्माण थालिएको बीपी राजमार्गका इन्जिनियर रमेश आचार्यले बताउनु भयो।

‘जापानी सहयोग नियोगले मर्मत गरिदिने जनाएपनि अन्तत जापानी कम्पनीले मर्मतका लागि पैसा नभएको जनाएपछि नेपाल सरकारले नै बजेटको व्यस्थापन गरेर सडकको मर्मत थालेको छ,’ उहाँले भन्नु भयो।
सडक निर्माण सम्पन्न गरी नेपाल सरकारकालाई हस्तान्तरण गरेको एक वर्षमै भत्किएपछि सरकारले उक्त सडक मर्मतका लागि जापानी निर्माण कम्पनीलाई नै भनेको थियो।

तर, सरकारले नै सडकको निर्माण कार्यलाई सुरु गरेपछि सडकको मर्मत कार्य स्वच्छन्द निर्माण सेवाले पाएको छ। कम्पनीले आगामी दुई महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सोमबारबाट काम थालेको इन्जिनियर आचार्यको भनाइ छ।
‘सोमबारबाट सडकको मर्मतका लागि प्राविधिक इन्जीनियर, निर्माण सेवा कम्पनीका कर्मचारी, उपकरणलगायताका सबै सामाग्री ल्याएर काम सुरु भएको छ,’ उहाँले थप्नुभयो। निर्माण कम्पनीसँग दुई महिनाभित्र निर्माण सम्पन्न गर्नु पर्ने सर्त छ। राजमार्गमा पहिरो गएपछि अहिले करिब अढाई किलोमिटर कञ्ची सडकमा ट्रयाक सञ्चालन गरि यातायातका साधनहरु सञ्चालनमा ल्याइएको छ।
पहिलो चरणमा भत्केको सडकको भित्तापट्टिको भागलाई काटेर ट्रयाक निर्माण गरि पिच गर्ने र भत्केको भागको तल सुनकोसी नदीबाटै जग राखेर वाल उठाउने इन्जीनियर आचार्यले बताउनु भयो।

ट्याक सडकमा यातायातका साधनहरु सञ्चालन गर्दा दुर्घट्ना बढ्ने खतरा रहेका कारण पनि आयोजनाले क्षतीग्रस्त सडकको पुनर्निर्माण तत्काल थालेको बताइएको छ।
‘कच्ची ट्याकमा लोड भएका सवारी र साना सवारीलाई उकाले चढ्नै समस्या छ। ठुला सवारीलाई चौडाई र मोड नै पुग्दैन्। यस कारण पनि दुर्घट्ना हुन सक्ने भएकाले आयोजनाले छिट्टै सडकको मर्मत गर्न लागेको हो,’ आचार्य भन्नु भयो।
सुख्खा पहिरो गएर अबरुद्ध भएपछि ड्राइभर्सन निर्माण गरी बीपी राजमार्ग सञ्चालनमा ल्याइएपनि घण्टौं जाम हुन थालेको छ। सडको करिब ३० मिटर पिच सुख्खा पहिरोसंगै सुनकोसी नदीमा खसेपछि बनाइएको ड्राइभर्सन सानो र कच्ची भएपछि सवारी साधन ओहोर दोहोर गराउँन घण्टौं समय लाग्ने गरेको हो।

‘दैनिक सवारी साधनको चाप बढ्दै जाँदा पालै पालो यात्रा गर्नुपर्छ,’ यातायात इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी विश्वराम नगरकोटीले भन्नु भयो, ‘दोहोरो सवारी पास गराउँन कम्तीमा एक घण्टा लाइन बस्नु पर्ने हुन्छ।’
बीपी राजमार्गमा दैनिक ६ हजारबढी साना ठुला सवारी साधन ओहोर दोहोर गर्ने गरेका छन्। यातायात व्यवस्था कार्यालयले उक्त राजमार्गमा दश टनबढी भार क्षमताका सवारी साधनहरु सञ्चालनमा रोक लगाएपनि नियन्त्रण हुन नसक्दा सडकमा क्षती पुगेको बताइएको छ। उक्त राजमार्ग हुँदै सिन्धुली, रामेछाप, दोलखा, खोटाङ्, सोलुखुम्बु, ओखलढुङ्गा लगायतका पूर्वी जिल्लाबाट राजधानी काठमाण्डौं जानेआउने सवारी साधनहरु सञ्चालन हुँदै आएका छन्।अन्नपुर्ण पाेस्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।