0 COMMENTS

विराटनगर ५,बैशाख०७४/ स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्ध विच्छेद गर्नुभएको छ ।वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर ११ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारूसंग सम्बन्ध विच्छेद गर्नुभएको हो । पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिएको हो । सम्बन्ध विच्छेदपछि रिंकुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट माइतीको थरबाट नागरिकतासमेत लिनुभएको छ । उहाँलाई दलित महिला कोटाबाट नेकपा एमालेले विराटनगर ११ को वडा सदस्यमा सिफारिस गरेको छ । दलित महिला कोटामा उक्त वडाबाट सदस्यमा एमालेको सिफारिसमा पर्ने एकजना मात्रै भएपछि उहाँ उम्मेदवार बन्ने निश्चित छ ।
स्थानीय निर्वाचनमा सबै स्थानीय निकायका प्रत्येक वडामा चुनावी दौडमा रहेका दलहरूले एकजना दलित महिलालाई सदस्य पदमा अनिवार्य उम्मेदवार बनाउनुपर्ने नीति छ । दलित महिलालाई उम्मेदवार बनाउन नसके त्यो पद खाली रहन्छ र त्यो पदमा अरू महिलालाई उम्मेदवार बनाउन पाइँदैन । विराटनगर ११ मा अरू दलित महिला उम्मेदवारका आकांक्षी नभेटिएपछि पार्टीले परियारलाई दलित महिला कोटाबाट वडा सदस्यको उम्मेदवार उठाउने निश्चित भएको एमाले विराटनगर ११ का अध्यक्ष सुरज श्रेष्ठले बताउनुभयो ।

  पार्टीमा सक्रिय र दलित महिला पनि भएकाले एमालेले परियारलाई वडा सदस्यको उम्मेदवार बनाउने भएको हो । ‘दलित महिला कोटाबाट स्थानीयस्तरमा भिजेको उम्मेदवार पार्टीलाई चाहिने भयो’, उहाँले भन्नुभयो, ‘त्यही भएर पार्टीको रोजाइमा उहाँ पर्नुभएको हो ।’ श्रेष्ठका अनुसार पतिसँग सम्बन्ध विच्छेद गरेर पतिको नामबाट लिएको नागरिकता रद्द गर्दै माइतीको थरबाट नागरिकता बनाएपछि पार्टीले उहाँलाई दलित महिला कोटाबाट उम्मेदवार बनाउने भएको हो ।

अलगअलग भएपछि औपचारिक रूपमै सम्बन्ध टुटाएर माइतीको थरमा नागरिकता बनाउँदा चुनावमा उठ्न पाइने भएपछि सम्बन्ध विच्छेद गरेकी हुँ । -रिंकुदेवी परियार
स्थानीय सवदनारायण सरदार थारूसँग रिंकुदेवीको १८ वर्षअघि प्रेम विवाह भएको थियो । उहाँका दुई छोरा छन् । विवाह भएपछि उहाँले पतिकै नाम र थरबाट नागरिकता लिनु भएको थियो । पतिले ११ वर्षअघि कान्छी पत्नी भित्र्याएपछि दुईजनाबीच राम्रो सम्बन्ध थिएन । सम्बन्ध सुमधुर नभएपछि पतिसँग अलग्गै बस्दै आएको उहाँले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।