0 COMMENTS

 

काठमाडौं ४बैशाख०७४ /सशस्त्र द्वन्द्वकालमा भएको एक गैरन्यायिक हत्याको मुद्दामा अदालतले झन्डै १० वर्षपछि तत्कालीन तीन सैनिक अधिकारीलाई २० वर्ष जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत, काभ्रेपलाञ्चोकका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालीन शाही नेपाली सेनाका महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनिल अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३को (३) बमोजिम जन्मकैद हुनेगरी फैसला भएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । चालक रहेका तत्कालीन सेनानी निरञ्जन बस्नेतलाई भने आदेशमात्रै पालन गरेको भन्दै अदालतले सफाइ दिएको छ ।

काभ्रेपलाञ्चोकको खरेलखथोक घर भएकी, भगवती माध्यमिक विद्यालयको ९ कक्षामा अध्ययनरत १५ वर्षीया मैना सुनुवारलाई माओवादीको आरोपमा २०६० फागुन ५ गते बिहानै घरबाट पक्राउ गरी क्याप्टेन निरञ्जन बस्नेतले चलाएको गाडीमा राखी पाँचखालमा रहेको वीरेन्द्र शान्ति तालिम केन्द्रमा ल्याइएको थियो। पक्राउ गरेको भोलिपल्टै मैनालाई माओवादीको नाममा चेन अफ कमाण्ड विपरीत तालिम केन्द्रभित्रै चरम यातना दिँदै पानीमा चोपलेर करेण्ट लगाइएको थियो। यातना सहन नसकी ज्यान गुमाएकी मैनालाई नजिकै खाल्डोमा पुरिएको थियो।

स्थानीय भगवती माविको कक्षा ९ मा अध्ययनरत मैनालाई पक्राउ गरी बेपत्ता बनाएपछि बाबु पूर्णबहादुर र आमा देवीले विभिन्न निकायमा जानकारी गराएका थिए। उनलाई सेनाको टोलीले पक्राउ गरी लगेको स्थानीय बासिन्दाले जानकारी गराएका थिए। नेपाली सेनाले २०६१ साल ५ गते मैनाको मृत्यु भएको जानकारी परिवारलाई दिएको थियो। सेनाले मैनाको मृत्यु भएको जानकारी गराएपछि आमा देवीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा २०६२ मंसिर २१ गते चार जनाविरुद्ध जाहेरी दिएकी थिइन्। सशस्त्र द्वन्द्वको समयमा प्रहरीले उक्त जाहेरी लिन अस्वीकार गरेको थियो। देवीले सेनाविरुद्धको उक्त जाहेरी लिन अस्वीकार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय र सरकारी वकिल कार्यालयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्। पछि सर्वोच्च अदालतको आदेशसँगै २०६४ माघ १७ गते सेनाका चारै जनालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले जिल्ला अदालतमा अभियोग दायर गरेको थियो।   

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।