काठमाडौं ४ बैशाख२०७४ ४/ पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराहा धनगढीमा जारी सर्वाधिक पुरस्कार राशिको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा चार खेलमा अपराजित रहेको रुपन्देही च्यालेंजर्सलाई ६ विकेटले पराजित गर्दै टिम चौराहा प्लेअफमा पुगेको हो ।
अञ्चल प्रहरी मैदानमा शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेंजर्सले दिएको ९२ रनको लक्ष्य टिम चौराहाले ११ ओभरमा मात्र ४ पुरा गर्यो । प्ले अफ्मा छनोट हुन् रुपन्देहीले दिएको उक्त लक्ष्य चौराहाले १४ ओभरभित्र पूरा गर्नुपर्ने थियो । जसमा कप्तान पारसले बिष्फोटक ब्याटिङ्ग गरेपछि ९२ रनको चौराहाले ११ ओभरभित्रै पूरा गर्यो । जितसँगै टिम चौराहाले कञ्चनपुर आइकोनिकलाई नेट रनरेटमा पछि बनाउँदै प्ले अफमा स्थान पक्का बनाएको हो ।
टिम चौराहालाई प्ले अफमा छनोट गराउन कप्तान पारसले २१ बलमा २ छक्का र ७ चौकाको मद्दतमा ४२ रन बनाए । जारी लिगमा पारसको यो सर्बा्धिक स्कोर हो । यस्तै चौराहाका लागि राजु रिजाल र अमर रौतेलाले समान १३ – १३ रन बनाए । त्यस्तै पृथु बास्कोटा १५ तथा आरिफ शेख ४ रनमा अविजित रहे । रुपन्देहीका शाहब अलामले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९१ रन बनाएको थियो । रुपन्देहीका लागि प्रकाश केसीले ४९ तथा अन्तिम थापाले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । टिम चौराहाका ललित राजबंशीले ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर ४ विकेट लिए ।
टिम चौराहा प्ले अफमा पुगेसँगै लिगको प्ले अफ समीकरण पूरा भएको छ । लिगमा एकमा मात्र पराजित रुपन्देही च्यालेञ्जर्स शीर्ष स्थानमा, बिराटनगर किङ्स दोस्रो, काठमाडौं गोल्डेन्स तेस्रो र चौराहा चौथो स्थानमा रहदै प्ले अफमा पुग्न सफल भयो ।
अब पहिलो प्ले अफमा बुधबार शीर्ष दुई स्थानमा रहेका रुपन्देही र बिराटनगरबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको बिजेता फाइनलमा पुग्नेछ भने पराजित टोलीले काठमाडौं र चौराहाबीचको बिजेतासँग फाइनल प्रवेशका लागि पुन प्ले अफ खेल्नेछ ।
नगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनमा आगामी वैशाख ९ गतेसम्म चल्ने डीपीएल क्रिकेटमा ६ टिमको सहभागिता रहेको छ । जसमा कञ्चनपुर आइकोनिक र सीवाइसी अत्तरिया लिगबाट बाहिरिएको छ । चौथो संस्करणको विजेताले ट्रफी तथा १५ लाख नगद पाउनेछ । त्यस्तै उप–विजेताले भने ७ लाख पाउनेछ । प्रतियोगितामा हरेक खेलको म्यान अफ द म्याचले १० हजार र म्यान अफ द सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछन् ।