0 COMMENTS

विराटनगर, २ बैशाख २०७४ / नव वर्षको आगमनसँगै शनिबार तराईका जिल्लामा उत्साहका साथ सिरुवा पर्व मनाइँदैछ ।यस पर्वका अवसरमा शनिबार बिहानैदेखि परिवारमा अग्रजले अञ्जुलीमा जल राखेर टाउकामाथि छम्काउने गरिन्छ । वर्षभरि दिमाग ठण्डा रहोस्, रिस नउठोस्, अग्रजको आज्ञाको पालना होस् भनेर टाउकामाथि जल छम्काएर आशीर्वाद दिने गरिएको हो । सोही कारणले यस पर्वलाई ‘जुडशीतलपर्व’ पर्व पनि भन्ने गरिन्छ ।
यसका साथै प्रत्येक परिवारले आआफ्ना खेतबारीमा रहेका रुखको जरामा पानी हाल्ने, सडक सफा गर्ने तथा कुलो र इनारको सफाइ गर्छन्। सोही क्रममा उनीहरु हिलो पनि खेल्छन् । घरका अग्रजले देवीदेवताको पूजा गरी सानो प्वाल पारी कुश राखिएको गाग्रामा जल भर्छन् । सो ग्रागामा पसाइएको कुशबाट जल थोपा थोपा गरी तुलसीको बोटमाथि झर्छ ।
प्रत्येक दिन पूजापाठ गरी गाग्रोमा जल भर्ने गरिन्छ । यो प्रक्रिया एक महिनासम्म चल्छ । चैत महिनाको गर्मीमा तुलसीको बोट नसुकोस् भन्ने यसको उद्देश्य रहेको देखिन्छ । यस पर्वका अवसरमा गए राति नयाँ माटाको भाँडामा पकाइएको भात अर्थात् ‘बासीभात’बाट देवीदेवताको पूजा गरिन्छ ।
सो प्रसाद घरको प्रत्येक चौखटमा राखेर जल अर्पण गरिन्छ। शनिबार बिहान खाना पकाइएपछि चुलो पूजा गरिन्छ । राति खाना पकाइँदैन । चुल्होलाई वर्षको एक दिन आराम गर्न दिनुपर्ने धार्मिक मान्यता छ । यो पर्व मैथिल समुदायका साथै थारु, राजवंशी, गनगाई, ताजपुरियालगायतले आआफ्ना धार्मिक एवम् सांस्कृतिक महत्वका साथ मनाउने गर्छन् ।पर्वमा आँपको टिकिलाको चटनी, सोहीजन, दही, मिठाइ अनिवार्य रुपमा खाने गरिन्छ । थारु र राजवंशीलगायत जातिमा मासु खाने चलन छ ।सरकारले यो पर्व मनाउनका लागि आज झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।