0 COMMENTS

काठमाडौँ,३१ चैत०७३ /सरकारले वैशाखबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्ने भएको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरिसकेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्र, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निःशुल्क मिर्गौला प्रत्यारोपण हुने जानकारी दिए। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।
चालु आर्थिक वर्षका लागि मिर्गौला प्रत्यारोपण गर्न एक करोड ५० लाख रुपियाँ छुट्याएको जानकारी दिँदै मन्त्री थापाले आगामी आर्थिक वर्षका लागि फेरि बजेट विनियोजन गरिने जानकारी दिए। सरकारले यसअघि नै मिर्गौला बिरामीका लागि निःशुल्क डायलासिसको व्यवस्था गरिसकेको छ ।
निःशुल्क मिर्गौला प्रत्यारोपणका लागि कार्यविधि बनिसकेको जानकारी दिँदै मन्त्री थापाले स्थानीय निकायको सिफारिसको आधारमा निःशुल्क प्रत्यारोपण गरिने बताए। स्वास्थ्य मन्त्रालयसँग अहिले धनी, गरिब छुट्याउने मापदण्ड छैन, मन्त्री थापाले भने, गाविस र जिल्लाको निवेदन लिएर आउने सबैको प्रत्यारोपण गरिने बताए।
मिर्गौलाको प्रारम्भिक परीक्षणका लागि भने सरकारले खर्च नव्यहोर्ने उनले जानकारी दिए। मिर्गौला प्रत्यारोपणको लागि अस्पतालमा भर्ना भएको दिनदेखि शल्यक्रिया गरेर सात दिनसम्मको औषधि सरकारले निःशुल्क व्यहोर्छ, मन्त्री थापाले भने, नेपालमै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि छ लाखभन्दा बढी लाग्ने भएकाले सर्वसाधारणका लागि यो ठूलो उपलब्धि हो । मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मन्त्रालयले निःशुल्क मिर्गौला प्रत्यारोपणका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको जानकारी दिए।
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले निःशुल्क मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम अवस्थामा रहेको बताए। उनले तयारी भइरहेको भन्दै मन्त्रालयको कार्य योजनाअनुसार वीर अस्पतालमा पनि निःशुल्क मिर्गौला प्रत्यारोपण हुने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।