0 COMMENTS

काठमाडौं३० चैत२०७३/स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गराएका ८० दलमध्ये ५२ दलले मात्रै मंगलबारसम्म पार्टीका तर्फबाट उम्मेदवार मनोनयन औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको नाम र हस्ताक्षर नमुना आयोगमा बुझाएका छन्। आयोगले दिएको समयावधि एक दिन मात्र बाँकी रहँदा संसदको ठूलो दल नेपाली कांग्रेस र मधेसी मोर्चामा आबद्ध धेरैजसो दलले हस्ताक्षर नमुना बुझाएका छैनन्। मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपाल र मोर्चाबाहिर रहेको नेपाल लोकतान्त्रिक फोरमले भने उम्मेदवारलाई मनोनयनपत्र प्रदान गर्ने पदाधिकारीको हस्ताक्षर र विवरण बुझाइसकेका छन्। संसद्भित्र रहेका २७ मध्ये १७ दलले मात्रै उक्त विवरण बुझाएका छन्। स्थानीय तह निर्वाचन ऐनमा राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराउनेले मनोनयनका बेला पार्टीको आधिकारिक पत्र निर्वाचन अधिकृत कार्यालयमा पेस गर्नुपर्ने प्रावधान छ। आयोगले पार्टीले दिने पत्रमा कसको हस्ताक्षर हुने, उसको नाम र हस्ताक्षर चैत ३० भित्र बुझाउन भनेको छ। कांग्रेसले बुधबारसम्म बुझाउने तयारी गरेको छ।

सद्भावना पार्टीका महासचिव मनिष सुमनले संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने विषयमा मोर्चा स्पष्ट रहेकाले निर्वाचन आयोगले ल्याएको कार्यक्रममा सहभागी नभएको बताए। ‘संविधान संशोधनपछि मात्रै निर्वाचनको विषयमा मोर्चाले अर्को निर्णय लिन सक्छ,’ उनले भने, ‘आयोगले मनोनयन पत्र प्रदान गर्ने पदाधिकारीको नाम र हस्ताक्षर माग गरेकोबारे अवगत छौं। आयोगले ताकेता पनि गरेको छ। तर, निर्वाचनमा भाग लिइहाल्ने वातावरण बनिनसकेकाले त्यता हाम्रो ध्यान छैन।’ आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले एक दिन म्याद अझै बाँकी रहेकाले उक्त अवधिभित्र सबै दलले मनोनयनपत्रका लागि पार्टीबाट पत्र प्रदान गर्ने पदाधिकारी र हस्ताक्षर बुझाउने विश्वास व्यक्त गरे। कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।