0 COMMENTS

काठमाडौं, २८ चैत०७३ /लापरबाही ढङ्गले सवारी चलाई दुर्घटना भएमा सवारीचालकलाई अब १० वर्षसम्म कैद सजाय हुने भएको छ ।

संसद्को विधायन समिति अन्तर्गतको उपसमितिले केही नेपाल ऐन संशोधन, एकीकरण तथा खारेज विधेयकको प्रतिवेदन पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।उपसमितिले चालकलाई धरौटीमा छाड्ने व्यवस्थालाई निरुत्साहित गर्न कम्तीमा तीन वर्षको सजाय हुने प्रस्ताव गरेको छ । उपसमितिको प्रस्ताव समितिले पारित गरेपछि संसद्मा पेस गरिनेछ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

मूल विधेयकले कम्तीमा दुई वर्षको प्रस्ताव गरेको थियो । प्रचलनमा रहेको मुलुकी ऐन अदालती बन्दोबस्त ११८ नम्बरबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैद दाबी गरिएको मुद्दा धरौटीमा राखेर पुर्पक्ष अघि बढाउनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था र संसद्मा विचाराधीन फौजदारी संहिताअनुसार मिलाई उपसमितिले कम्तीमा तीन वर्षको कैदको व्यवस्था गरेको हो । सवारीचालकलाई ३० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिवानाको प्रस्ताव पनि उपसमितिले गरेको छ ।

कसुरदार नछुटोस् भन्ने उद्देश्यले न्यूनतम कैद बढाइएको उपसमिति सदस्य रेवतीरमण भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो, “लापरबाही रूपमा सवारी चलाई व्यक्तिको मुत्यु भएमा अब कम्तीमा तीनदेखि बढीमा १० वर्षसम्म कैद हुनेछ । कसुरदार नछुटोस् भन्ने अभिप्रायले हामीले न्यूनतम कैदलाई तीन वर्ष बनाएका छौँ । ”

उपसमितिले मूल विधेयकको दफा २७ मिलाई उपक्रम मिलाउँदा कायम हुने दफा २६ मा भनेको छ, “कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहेबसेको मानिस वा त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणामस्वरूप एक्काइस दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्राअनुसार तीन वर्षदेखि १० वर्षसम्म कैद र तीस हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिवाना हुनेछ । ”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।