0 COMMENTS

काठमाडौं२७ चैत०७३/प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रहितविपरीतका जुनसुकै चुनौती सामना गर्न नेपाली सेना तयारी अवस्थामा रहेको बताएका छन् । उनले मातृभूमिमाथि आँच आउने कुनै पनि गतिविधि भए नेपाली सेना चुप लागेर नबस्ने धारणासमेत राखेका छन् ।

मध्यपश्चिमका भूतपूर्व सैनिकहरुको सम्मेलनलाई शनिबार सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले संकट समाधान गर्न नेपाली सेना हरबखत तयारी अवस्थामा रहेकोमा जोड दिए । राजधानी दैनिकले समाचार छापेको छ ।

‘राज्य संकटमा पर्दा हिजो नेपाली सेनाले बगाएको रगत र पसिनाको कारण यो देशको राष्ट्रिय अखण्डतामा कहिले पनि आँच आएन, संस्थागत मूल्य र मान्यतालाई जीवन्त राख्न भूतपूर्व सैनिकहरुले खेलेको अहम् भूमिकालाई म मुक्तकण्ठले प्रशंसा गर्दछु,’ उनले भने ।

राष्ट्रमाथि अनैतिक गतिविधि भएमा सरकारले दिएको निर्देशनअनुरुप सबै जिम्मेवारी पूरा गर्न सेना तयारी अवस्थामा रहेको उनको भनाइ थियो ।

प्रधानसेनापति क्षत्रीले विगतका निर्वाचनमा सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै भने, ‘आगामी स्थानीय तहको निर्वाचनमा पनि सेनाले आवश्यक सुरक्षा प्रदान गर्छ ।’

प्रधानसेनापति क्षत्रीले सैनिक कल्याणकारी कोषबाट अवकाश प्राप्त सैनिक, तिनका परिवार र बहालवाला सैनिकहरुलाई लघुवित्तका कार्यक्रमहरु सञ्चालन गर्न कर्जा उपलब्ध गराउँदै आएको बताए । कोषले यही रकमबाट प्राप्त व्याजले लघुवित्तसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सेनाको कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी चित्रबहादुर गुरुङले नेपालमा १७ हजार भूतपुर्व सैनिकहरु लघुवित्तको सञ्जालमा जोडिएको जनाए । कोषमा ३६ अर्ब ४ करोड २८ लाख ९३ हजार रुपैयाँ छ ।

सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतको आठ वटा जिल्ला (दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा) का करिव एक हजार जना भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनहरुको सहभागिता रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सो सम्मेलनको २३ चैतबाट २५ चैतसम्म सुर्खेतमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, बहालवाला सैनिक तथा तिनका परिवार र गैरसैनिक व्यक्तिहरु समेत गरी करिव एक हजार दुई सय जनालाई स्वास्थ्य उपचार तथा निःशुल्क औषधी समेत वितरण गरिएको पनि निर्देशनालयले जनाएको छ ।

सम्मेलनको क्रममा नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेत्कृष्ट व्यवसायीहरुलाई प्रशंसा पत्र एवं पुरस्कार वितरण गरिएको थियो । अशक्त भूतपूर्व सैनिक, तिनका अशक्त परिवार र अशक्त गैर सैनिकहरुलाई व्हिल चियर वितरण तथा मध्य पश्चिम क्षेत्रको ज्येष्ठ भूतपूर्व सैनिक एवं निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवारमध्ये ज्येष्ठ महिलालाई अभिनन्दनसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।