0 COMMENTS

काठमाडौं२४ चैत०७३/ निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आफैंले बनाएको आचार–संहिता खुकुलो पार्दै मन्त्रीहरूलाई चुनावी सभा समारोहमा सहभागी हुने बाटो खोलिदिएको छ । आयोगको बुधबारको बैठकले आचार–संहिताका विषयमा नीतिगत निर्णय गर्दै आचार–संहिता परिमार्जन गरेपछि सरकारका मन्त्रीहरूलाई चुनावी सभा समारोहमा सहभागी हुने बाटो खुलेको हो ।

आजको राजधानी दैनिकमा खबर छ– आयोगको यो निर्णयसँगै मन्त्रीहरूले चुनावी र्याली, सभा तथा प्रचारमा सहभागी हुन पाउने भएका छन् । यसअघि आयोगले जारी गरेको आचार–संहिताले मन्त्रीहरूलाई राजनीतिक सभा–समारोहमा सहभागी हुन रोक लगाएको थियो । आयोगका पदाधिकारी बैठकले आचार–संहिता परिमार्जन गर्ने निर्णय गरेका हुन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अब राजनीतिक कार्यक्रममा मन्त्रीहरू सहभागी हुन पाउने बताए । तर, उनीहरूले त्यस्ता कार्यक्रममा सहभागी हुँदा सरकारी सवारीसाधनको प्रयोग भने गर्न पाउनेछैनन् । आचार–संहिता परिमार्जन भएपछि १९ वैशाखसम्म मन्त्रीहरू चुनावी कार्यक्रममा सहभागी हुन पाउने निर्वाचन आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।
‘आयोगले आचार–संहितामाथि केही पुनरावलोकन गरेको छ, निर्वाचन चिह्न वितरण नहुँदासम्म मन्त्रीहरू राजनीतिक कार्यक्रममा सहभागी हुन पाउँछन्, तर सरकारी सवारीसाधन प्रयोग भने गर्न पाइनेछैन,’ प्रवक्ता शर्माले राजधानीसँग भने । उनका अनुसार १९ वैशाखमा दलहरूले चुनाव चिह्न पाउनेछन् ।

त्यस बखतसम्म मन्त्रीहरू विभिन्न कार्यक्रममा सहभागी हुन फुकुवा भएको हो । यसअघि आयोगले १८ फागुनमा मन्त्रीहरूलाई जिल्ला सदरमुकाम बाहिर हुने उद्घाटनका कार्यक्रममा सहभागी हुन र हेलिकोप्टर प्रयोग गर्न रोक लगाएको थियो । मन्त्रीहरूलाई आयोगमा नै बोलाएर निर्वाचन आचार–संहिता लागू भइसकेकाले जिल्ला सदरमुकाम बाहिर हुने कार्यक्रममा नजान र हेलिकोप्टर प्रयोग नगर्न आयोगले निर्देशन दिएको थियो । तर, केही मन्त्रीहरूले असन्तुष्टि जनाउँदै आचार–संहिता खुकुलो बनाउन प्रमुख आयुक्तसँग आग्रह गरेका थिए ।

पछिल्लो समयमा सत्तारूढ दलका प्रभावशाली नेताहरू नै सरकारमा रहेको र निर्वाचनका लागि हुने आमसभामा जानसमेत बन्देज भएकाले आयोगलाई आचार–संहिता पुनरावलोकन गर्न दबाब बढेको थियो । तर, आयोगले भने कुनै दल वा नेताको दबाबबाट नभई नीतिगत रूपमा परिमार्जन गरेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।