काठमाण्डाै२३ चैत्र२०७३/ मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टीबीच एकता भएको छ ।
विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टी र यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टीबीच आज एकताको घोषणा गरिएको हाे । एकतापछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राखिएको छ । संसदमा फोरम लोकतान्त्रिकको १४, जनमुक्ति पार्टीको २ र दलित जनजाती पार्टीको एक सदस्य छन ।
एकीकृत पार्टीलाई राष्ट्रव्यापी रुपमा नेपाली जनताको घरदैलोमा पुर्याइ हिमाल पहाड, तराई/मधेसलाई एक सुत्रमा आबद्ध गर्ने गरिने एकता घोषणापछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । पार्टी एकीकरणपछि लोकतान्त्रिक फोरमले सरकारमा सहभागी हुने संकेत गरेको छ । विज्ञप्तिमा लेखिएको छ, ‘एकीकृत पार्टीलाई सरकारको नेतृत्वमा पुर्याएर देशको समग्र विकासमा योगदान दिने लक्ष्य रहेको छ ।’
यी तीन पार्टीको एकीकरणले लोकतान्त्रिक फोरम संसदको पाँचौ दल बनेको छ । यसअघि १५ सिट रहेको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम संसदमा पाँचौं स्थानमा थियो । लोकतान्त्रिक फोरमको संसद १७ सिट पुगेको छ । तत्कालीन फोरम लोकतान्त्रिकको १४, जनमुक्ति पार्टीको २ र लामा नेतृत्वका दलित जनजातिको एक सिट छ ।पछिल्लो समय निर्वाचनमा थ्रेस होल्डको व्यवस्था गरेपछि साना दलहरु एकीकरण प्रक्रियामा जुटेका छन् ।