काठमाडौं२१चैत २०७३/ ‘हामी प्रहरी हौँ’ भन्दै ज्याकेटको खल्तीबाट हत्कडी र कम्मरमा भिरेको पेस्तोल देखाउँदै छ/सातजनाको समूहमा आएका अपरिचित व्यक्तिले सोधे– ‘यहाँ सुनको अवैध कारोबार हुन्छ रे हो ? गत शुक्रबार राति ७.४५ बजे हनुमान ढोका क्षेत्र मरूहिटीस्थित प्रेमरत्न शाक्यको घरमा सञ्चालित सुनका गरगहना निर्माण गर्ने कारखानामा छिरेका ती अपरिचित व्यक्तिले त्यसपछि गहना बनाउँदै गरेका छ जना कालीगढलाई एकाएक थप्पड हिर्काउन थाले। प्रहरी नै होलान् भनेर उनीहरू डराएर भन्न थाले– ‘सर, त्यस्तो यहाँ केही हुँदैन’ ‘अर्डर’ अनुसार पसलबाट ल्याइएको सुनबाट गरगहाना मात्र बनाउने हो। उनीहरूले यति भन्न नपाउँदै ती लुटेराले कालीगढको साथमा रहेको मोबाइल खोसे र बनाउँदै गरेका गहना पोको पारेर फरार भए। पीडितहरूले तत्कालै कारखाना सञ्चालक भारत कोलकाता घर भई हाल सोही स्थानमा बस्ने शिवप्रसाद माइटीलाई घटनाको जानकारी दिए। माइतीले प्रहरी नियन्त्रण कक्षमा खबर गरे।
लुटपाट भएको करिब २४ घण्टापछि घटनामा संलग्न सक्कली र नक्कली प्रहरी पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले आइतबार पत्रकार सम्मेलन गरी लुटपाटमा तीनजना सक्कली र छ जना नक्कली प्रहरी प्रयोग भएको जानकारी दिएको छ। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले लुटपाटमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत तीन जना प्रहरी कर्मचारी संलग्न रहेको जानकारी दिए। ‘हामी प्रहरी हौँ’ भन्दै छापा मार्ने नाममा लुटपाट गरेको अभियोगमा प्रहरी जवान अजय गुरूङ, पर्यटक गाइड सुभाष खरेल, ट्याक्सी चालक राजकुमार तामाङ, डान्स रेस्टुरेन्टमा काम गर्ने देव भन्ने सुन्दर तामाङ, पाल्देन भन्ने क्षितिज तामाङ र लाप्साङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ। घटनाका मुख्य योजनाकार भनिएका महानगरीय प्रहरी वृत्त सोह्र खुट्टेका चालक हवल्दार मेजर बलबहादुर थापा मगर, जवान नवीन ढकाल र हर्कबहादुर तामाङ भने फरार छन्। थापा मगर वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक सोमेन्द्रसिंह राठौरका मुख्य सवारी चालक भएको महाशाखाले जनाएको छ।
त्यस्तै, जवान ढकाल लेखा सहायक र गुरूङ पनि सोह्रखुट्टे वृत्तका चालक हुन्। लोप्साङ, पाल्देन र देव डान्स तथा डिस्कोहरूमा ‘बाउन्सर’ (रक्षक) को काम गर्दै आएका व्यक्ति हुन्। उनीहरूको साथबाट कारखानाबाट लुटिएको ५९ तोला सुन र १२ हजार पाँच सय रूपियाँ नगद बरामद भएको छ। महाशाखाका अनुसार नयाँ बजारस्थित मनाङ्गे गेट नजिकै भागबन्डा गर्ने तयारी गरिरहेको अवस्थामा शनिबार दिउँसो उनीहरू पक्राउ परेका हुन्। महाशाखाका अनुसार, दुई हप्ताअघि हाल फरार अवस्थामा रहेका हर्कबहादुर तामाङले ट्याक्सी चालक राजकुमारलाई सुन ‘रिफाइन’ गर्ने कारखानामा अवैध सुन आउने गरेको भन्दै लुटपाटको योजना बनाउन अह्राएका थिए। राजकुमारले त्यस घटना दरबार मार्गस्थित उडल्यान्ड क्लबमा बाउन्सरको रूपमा कार्यरत लाप्साङ र पाल्देनलाई सुनाएका थिए। सुन्दरले सुवासलाई, सुवासले जवान नवीनलाई र नवीनले हवल्दार बलबहादुरलाई सुनाइ नौ जनाको समूह बनाई लुटपाट गरेको अनुसन्धानमा संलग्न प्रहरीले अधिकारीले बताएका छन्।गोरखापत्र