0 COMMENTS
डा. त्रिलोचन आचार्य

जहाँ म जन्मिएँ हुर्केँ दिन्छ त्यस्ले बिदाई यो
भन्ने लाग्दैनथ्यो त्यै भो स्वप्ना वा बिपना छ यो
ऐले हाँस्नु पर्यो छोपूँ आँसुको पोखरी कता ?
छोडेर मुटुको टुक्रा टाढा जाँदै छु है मता ।

म छोरी सबकी प्यारी बुहारी कसरी हुनु
हाँस्थेँ उन्मुक्तभै भोलि पर्ने हो कि त्यहाँ रुनु
नचिनेका सबै होलान् साइनो कुन हो कता
कुहिरो बीचको काग जस्तो बन्नेछु है मता ।

बजेका छन् अहो ! बाजा मेरै चाल चियाउँदै
कसरी छुट्टिने मैले आमालाई रुवाउँदै
हाँसे हाँस्दै गई भन्लान् रोए बढ्ला अझै व्यथा
भो भो साथी सँगी छोड टाढा जाँदै छु है मता ।

बाबा भो बिर्सनु होला लिला मेरा सबै अब
राखुँला सम्झनाभित्र सम्पूर्ण सुख वैभव
समाती हात खै जाऊँ नौलो मान्छेसँगै कता
कोसेली रीतिको बोकी टाढा जाँदै छु है मता ।

हाँसेथ्यो घर यो हिजो यै छोरी जन्मिएपछि
हाँस्दै छ घर यो फेरि यै छोरी अन्मिएपछि
जहाँ चम्क्यो नि ! यो झिल्को बल्नु हुँदैन रे त्यता
हो त्यै विधानको खेल खेल्न जाँदैछु है मता ।

फेरिन्छ घर यो मेरो फेरिन्छ रूप रङ्ग रे
फेरिन्छन् दिन वा रात फेरिन्छ चाल ढङ्ग रे
जोडिँदै जान्छ रे नाता मन डुल्छ कता कता
साक्षी राखेर यी जन्ती टाढा जाँदै छु है मता ।

पर्वमा भन्नु है छोरी डाक्न हुन्न छुटाउनु
नबिर्सीकन है आमा भाइलाई पठाउनु
म नयाँ जिन्दगी थाल्छु लेखाउँदै नयाँ कथा
अन्मेर डोलिमा चढ्दै टाढा जाँदै छु लौ माता
कपन, काठमाडौँ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।