प्रकृति विभेदरहित छ । प्रकृतिले आफ्नो दायित्व सबैमाथि समानरूपमा निर्वाह गरिरहन्छ । मानिस संसारका प्राणीहरू मध्ये चेतनशील प्राणी मानिएको छ । मानिस पशुपक्षी कीटपतङ्ग आदि सबैमा आफ्नो अनुकम्पा एवम् कर्तव्य बर्साइरहन्छ तर कुनै भेदभावरहित । प्रकृतिले केवल मान्छे जन्माउँछ तर मान्छेलाई अनेक प्रकारले वर्गीकरण गर्छ मान्छेले नै । जन्मने बेला बालक मात्र भएर जन्मन्छ नारी र पुरुषको जन्म र जन्मने प्रक्रियामा कुनै भिन्नता हुँदैन । जब संसारमा आउँछ अनि त्यो बालक लिङ्ग जाति, वर्ण, धर्म, वर्ग,समुदाय भौगोलिकता आदिमा बा“डिन्छ । पशुपक्षीले आफ्नो सन्तानमा कुनै भेदभाव गर्दैन । चाहे भाले होस् या पोथी समानरूपले भरण पोषण गर्दछ तर सृष्टिकै सर्वश्रेष्ठ प्राणी हामी मानिस भने आफ्नै सन्तान बीच भेदभाव गर्छौँ । यही मानवीय कमजोरीका कारण आज लैङ्गिक विभेद समाजका लागि एउटा विकराल समस्या बन्दै गइरहेको छ । परिणाम स्वरूप लिङ्गका आधारमा हुने हिंसा वा महिलाहिंसा वर्तमानको प्रमुख समस्या र चुनौती बनेको छ । यसै परिप्रेक्ष्यमा बेलाबेलामा हुने अन्तक्रिया कार्यक्रमले निकै प्रभाव पर्ने अनुभव मात्र गर्न सकिन्छ तर व्यावहारिक हु“दैन वा देखिदैन ।
भनिन्छ, रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो । महिला हिंसा र विभेद विरुद्धको अभियानको महत्व त आफ्नो ठाउँमा छदै छ, तर त्यसको आरम्भ बिन्दुसम्म पुगेर त्यहीँबाट त्यसको अन्त्य गरिनु अझै प्रभावकारी हुनेछ । सुन्दा अलि कर्णकटु लागेपनि सत्यलाई स्विकार्नै पर्ने हुन्छ ।
महिला पुरुषबीच विभेदको आरम्भ घर परिवारबाट हुन्छ र महिला स्वयम्बाटै हुने गर्छ । जन्मनु अघि नै भ्रूणहत्याको सिकार हुन्छन् कैयौ छोरीहरू आमाकै कारणबाट परम्परा र रुढिगत समाजमा पोषित आमाहरू नै आफ्नो वंश परम्परा धान्नका लागि पुत्र प्राप्ति चाहन्छन् । बालक जन्मनासाथ त्यो छोरी भएमा उसको शरीरमा कतै उसलाई असुन्दर बनाउने कोठी पो छ कि भनेर खोजी खोजी मेटाउन थाल्दछन् । राम्री नभए त बिकाउन सकिँदैन, छोरो पो पौरखी जात जस्तो भएपनि केटी पाइहाल्छ भन्दै छोरीलाई बिक्नु पर्ने वस्तुका रूपमा परिभाषित गर्ने पनि नारी नै हुने गर्छन् ।
यतिमात्र कहाँ हो र ? गर्भवती स्त्रीका गतिविधिद्वारा परिवार र समाजका पाका महिलाहरू भन्ने गर्छन् बच्चा पेटमा हुँदा अल्छी भयो भने छोरी जन्मन्छन् । अझ भनौँ राम्रा लक्षण देखिएमा छोरो हुने र नराम्रा लक्षण देखिएमा छोरी जन्मने भविष्यवाणी हुन थाल्छ । बालक रुन थालेदेखि र बोल्न, हिड्न थालेदेखि नै उसलाई तालिम दिइन्छ छोरी मान्छेले जोरले रुन हुँदैन, यसरी हाँस्नु हुँदैन यसरी बोल्नु हुँदैन, यसरी हिँड्नुपर्छ । छोरीको कलिलो मस्तिष्कमा यसरी भरिने नकारात्मक प्रशिक्षणले उसलाई मान्छे भन्दा भिन्न अनुभूत गराइरहेको हुन्छ । छोरा र छोरी भएको परिवारमा छोराको काम सानैदेखि छोरीलाई लगाइन्छ छोरी दाइलाई खाना पस्किदे, दाइको लुगा धोइदे, भाइको यो काम गरिदे, त्यो गरिदे आदि आदि । अझ रमाइलो कुरा त यो छकि जन्मनासाथ छोरीलाई राम्री बनाउन फ्रक आदि लुगा लगाइदि“दै आमाहरू भन्ने गर्छन्– छोरीलाई यस्तो पो सुहाउँछ, ऊ पुतली जस्तै देखिन्छे यहीबाट प्रारम्भ हुन्छ विभेद ।
सानैदेखि छोरीलाई आधा शरीर देखिने लुगा लगाइदिएर राम्री बनाइन्छ भने छोरालाई पौरखी र बौद्धिक बन्न प्रेरित गरिन्छ । छोरो त बा आमा मर्दा बोकेर घाटमा लाने जात मर्दापर्दा काँध थाप्ने जात भनेर आमाबाट नै सानै उमेरदेखि उत्साहित र पाठ पढाउने काम आफ्नै आमा र घर परिवारबाट नै हुन्छ । धर्म संस्कार र परम्पराका नाममा हुने कतिपय विभेद विरुद्ध पनि आमाहरूले विद्रोह गर्नु साटो समर्थन नै गरेको पाइन्छ । अर्काको नासो भन्दै चेतनाको विकास पनि नहुँदै छोरी मानसिकतामा रोपिएको विभेदको बिउ विवाहपश्चात् सासूद्वारा गरिने व्यवहारमा पुग्दै पूरै झाङ्गिइसकेको हुन्छ । रज तथा प्रसुती अवस्थाका नारीका प्राकृतिक जटिलताहरूलाई व्यवहारमा अझ जटिल बनाइदिन्छन् । परिवार भित्रका नारीहरूले नै नारीको पारिवारिक जीवनमा असर पर्ने गरी “सौता” वा “रखौटी” बन्नेदेखि दाइजो नल्याएको निउँमा बुहारीलाई जिउँदै जलाउनेसम्म नारी नै हुने गर्छन् । अतः महिलामाथि हुने हिंसा र उत्पीडन मुक्तिका लागि सर्वप्रथम त नारी मानसिकताबाटै विभेदको अन्त्य हुनुपर्छ । यो अवस्थामा रह“दा नै महिलामाथिको विभेद होकि होइन ? स्वमूल्याङ्कन गर्नैपर्छ ।
समय परिवर्तनशील छ भन्छौ“, तर समाजमा हुने महिला विभेदका मुद्दाहरू जिउका तिउँ छन् । यसको मूल कारण हो हामी यथास्थानमा छौ“, परिवर्तन चाहंदैनौँ । धर्म र संस्कृति पनि कति विकृतिमूलक छन्, कुन कुराले महिलामा मानसिक, शारीरिक असर पुर्याइरहेका छन् लैङ्गिक विभेद भइरहेको छ ? यी आदि कुराहरूको जोडदार रूपले वैज्ञानिक विश्लेषण गर्न जरुरी छ । पुरुषले नारीलाई होइन नारीको सहनशीलतालाई नै समाजले दण्ड दिँदै आइरहेको हो भन्ने लाग्दछ ।
वर्तमान परिप्रेक्ष्यमा नेतृत्व लिने महिला अगुवाहरूले महिला विभेद जस्ता विद्यमान वाधक तत्वलाई मूलमुद्धाका रूपमा लिनु, कार्यान्वयन गर्नु टड्कारो आवश्यकता देखिन्छ । यसमा पुरुष वर्गले पनि त्यतिकै साथ दिनु जरुरी हुन्छ । सुदूर पश्चिमका छाउपडी प्रथा, तराईमा दाइजोको निहुँमा जिउ जोखिममा पर्ने तथा पहाडी जीवनमा उकाली ओरालीमा प्रसुती अवस्थामा पनि बोक्न नसक्ने भारी बोकेर भरिया बन्नु जस्ता कुराहरूलाई मध्य नजर गर्नुजस्ता दायित्व सम्झी अगाडि बढ्नु अति आवश्यक देखिन्छ ।
यथार्थमा अवलोकन गर्दा महिला विभेद सुरुवात आफ्नै घरबाट हुने गर्छ । आफ्नो घरपरिवार विभेदको चपेटामा परेको छ भने यसको समाधानको उपाय पनि सायद आफ्नै घरबाट सुरु गर्ने हो कि ? हामी धेरै सहन्छौँ र त हामीमाथि अन्याय हुन्छ । हामी उपभोग्य बन्न खोज्छौँ र त उपयोग गरिन्छ । हामी सहानुुभूति खोज्छौँ दया देखाएर प्रसाद बन्छौ । हामी आफ्ना लागि जबसम्म पूर्ण, सक्षम र आत्म निर्भर हुँदैनाैँ तबसम्म यो विभेद सनातन रहिरहन्छ । सम्पूर्ण नारी जागरुक र सङ्गठित भई अघि बढ्ने हो भने विभेदको केही अंश अन्त्य हुन्थ्यो कि यसमा चिन्तन मनन गरी कार्यान्वयनमा सबैले जिम्मेवारी बोध गरी अगाडि बढ्नु आजको समयको माग हो भन्नेमा कसैको दुईमत नहोला ।