0 COMMENTS

गोरर्खा,१९ चैत०७३/ कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडक अन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नयाँ ट्र्याक खन्ने काम छिट्टै सुरु हुने भएको छ।

धार्चे गाउँपालिका– ५ स्थित यमगाउँ र लप्सीबोटमध्ये कुन गाउँबाट सडक निर्माण गर्ने भन्ने विवाद हुँदा सडक निर्माण अघि बढेको थिएन। जुन गाउँबाट सडक खनेपनि लप्सीबोटवासीकै खेतीयोग्य जमिन कटान हुने भएपछि सडकको ट्रयाक परिवर्तन गरी लप्सीबोट गाउँ हुँदै खन्न लप्सीबोटवासीले आग्रह गरेका थिए।

प्राविधिक अध्ययनले लप्सीबोट तर्फबाट सडक खन्दा पहिरोको जोखिम र धेरै घुम्तीपर्ने देखिएपछि यम गाउँमुनि हुँदै सडक खन्ने प्रक्रिया अघि बढेको थियो। चण्डिकाङ डाँडाबाट दुई किलोमिटर नयाँ ट्र्याक खनेपछि पहिरोको जोखिममा यमगाउँ पर्ने भन्दै यम गाउँवासीले सडक खन्न रोक लगाएका थिए।

गोरखा–बारपाक–लाप्राक–गुम्दा हुँदै माछाखोला झर्ने र बेनिघाट– आरुघाट– सोती–लापुगाउँ हुँदै माछाखोला पुग्ने रिङरोड सडक निर्माणलाई तीव्रता दिने योजनासाथ बर्से्नि बजेट परेपनि यो वा त्यो बाहनामा गुम्दा–माछाखोला सडकमा नयाँ ट्रयाक खन्न सकिएको छैन।

सोतीदेखि माछाखोला जोड्ने नयाँ ट्र्याक खन्ने काम भने नेपाली सेनाले अघि बढाएको छ।

सांसद छमबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी उपरीक्षक जनकराज पाण्डे, प्रहरी नायब उपरीक्षकद्वय राजेन्द्र श्रेष्ठ, जीतबहादुर घले, जिल्लास्थित एघार किलो सडक आयोजना कार्यालयका प्राविधिक, निर्माण व्यवसायी, यमगाउँ र लप्सीबोटवासीका स्थानीयवासीबीच शुक्रबार लप्सीबोटमा आयोजित छलफलमा पहिरोको जोखिम नरहने गरी यमगाउँबाटै सडक निर्माण गर्ने सहमति जुटेको हो।

प्रजिअ बस्नेतले भने, ‘यमगाउँमुनि सडक खन्दा पहिरोको थप जोखिममा गाउँ पर्ने यमगाउँबासीलाई डर रहेछ। अहिले खनिएको सडकको अन्तिम बिन्दुबाट १५० मिटर नयाँ ट्रयाक खनेर घुम्ती बनाउँदै लप्सीबोटमुनिको फाँटमा सडक निकाल्ने गरी सहमति बन्यो।’ यमगाउँमुनि सडक खन्न पहिरो झरेमा रोकथामका लागि सहयोग गर्ने प्रजिअको भनाइ छ।

गुम्दा–माछाखोला सडक निर्माण गर्दा लप्सीबोटका सोमबहादुर गुरुङको पाँच ठाउँमा बारी परेपछि केही बिबाद भएको थियो। जंगलतर्फ सडकको ट्रयाक नखनी लालपूर्जा भएको जग्गामा मात्रै खनिएको भन्दै गुरुङले सडक खन्न रोक्ने चेतावनी दिएका थिए। स्थानीयबीच बिबाद हुँदा सडक बनाउन गएको डोजर तीन पटकसम्म फर्काउनुपरेको थियो।

जिल्लास्थित एघारकिलो सडक आयोजनाका प्राबिधिक बालकृष्ण गौतमका अनुसार यमगाउँ तर्फबाट सडकको ट्रयाक खन्ने काम सुरु हुँदैछ। एनले भने, ‘लप्सीबोटबासीले आफ्नो गाउँबाट सडक खन्नुपर्ने माग गरेपनि कमजोर भुबनावटले गर्दा लप्सीबोटबाट सडक खन्न सकेनौं। यमगाउँ तल हुँदै कुवा जोगाएर सडक ट्रयाक खुलाउने सहमति बनेको छ।’

गुम्दाबाट माछाखोलासम्म करिब १३ किलोमिटर नयाँ ट्रयाक खन्नुपर्ने छ। यो सडकखण्ड खुलाउन रु. ९४ लाख बजेट परेको थियो। ट्रयाक खुलाउने जिम्मा थेगिम कन्स्ट्रक्सनले पाएको छ। अब करिब चार किमी ट्रयाक खुलाउन पुग्ने बजेट बाँकी रहेको जिल्लास्थित सडक कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।