0 COMMENTS

काठमाडौं१९ चैत २०७३/ कुनै आश्चर्यजनक निर्णय नभएमा नेपालीसँग भएका पुराना पाँच सय र हजार दरका भारु नोट नसाटिने निश्चित भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार साँझसम्म भारतलाई प्रतिबन्धित नोट सटहीबारे कुनै पत्राचार नगरेपछि नेपालीसँग भएको नोट साटिने सम्भावना लगभग टरेको हो। भारतीय रिजर्भ बैंक (आरबीआई) को टोलीले नेपाल राष्ट्र बैंकलाई प्रतिव्यक्ति चार हजार पाँच सयसम्म सटही सुविधा लिन मञ्जुर भएमा शुक्रबारसम्म जानकारी गराउन आग्रह गरेको थियो। ‘शुक्रबारसम्म जानकारी गराउन भारतको आग्रह थियो’, राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भीष्मराज ढुंगानाले भने, ‘सटही गर्ने पैसाको विषयमा कुरा नमिलेपछि हामीले निर्णय दिन सकेनौं।’ भारतीय पक्षले प्रतिव्यक्ति ४५ सय भारु मात्र सटही सुविधा दिन सक्ने प्रस्ताव गरेपछि राष्ट्र बैंकले त्यसमा सहमति जनाएको छैन।

 ‘२५ हजार भारुसम्म ल्याउन वा लैजान कानुनी रूपमा खुला गरिएकाले त्यो सीमासम्म सटही सुविधा पनि दिनुपर्छ भन्ने हाम्रो माग हो’, ढुंगानाले भने, ‘भारतीय पक्षले यसमा सहमति नगरेपछि समस्या भएको छ।’ भारतले भने आफ्नो मुलुकमा पुराना नोटको सटही सुविधा दिने म्याद मार्च ३१ (शुक्रबार) सकिने भन्दै समयमै जानकारी गराउन भनेको थियो। शुक्रबारसम्म जानकारी नआए नेपालीसँग भएको भारु साट्न नसक्ने भारतीय वार्ता टोलीले बताएको थियो। समयमै निर्णय गर्न नसकेपछि राष्ट्र बैंकले आफ्ना जनताको सम्पत्ति सुरक्षा गर्ने दायित्वबाट विमुख भएको आरोप खेप्नुपरेको विज्ञहरूले बताएका छन्। नेपाल राष्ट्र बैंकसँग भारु सटही नहुँदा नेपालले कति मौद्रिक घाटा व्यहोर्नुपर्छ भन्ने अनुमानित तथ्यांकसम्म छैन। तर, विश्लेषकहरू नेपालका कुनाकुनामा भारुको प्रयोग रहँदै आएकाले यसबाट ठूलो वित्तीय घाटा हुन सक्ने बताउँछन्। व्यवसायी र विज्ञहरूले यसअघि नेपालमा २० देखि ४० अर्ब रुपैयाँबराबरको ठूला दरका भारु नोट रहेको हुनसक्ने आँकलन गरेका थिए। तर, यसको स्पष्ट आँकडा कतै पाइँदैन।

राष्ट्र बैंकले नेपालीलाई आफूसँग भएको भारुको स्वघोषणा गराउन छाडेर भारत सरकारको औपचारिक जानकारीविनै नेपालमा भारु नोटको कारोबारमाथि प्रतिबन्ध लगाएपछि यस्तो आँकडा पाइने सम्भावना टरेको हो। झण्डै ६ महिनाअघि भारतले नोटबन्दी घोषणा गरे पनि नेपालले अहिलेसम्म त्यस्तो अध्ययन गरेको छैन। तर, अहिले व्यवसायी, बैंकर र स्थानीयका अनुसार धेरै नेपालीले आफूसँग भएको भारु भारतमै लगेर साटिसकेका छन्। ‘४५ सय नै साटिदेऊ भन्यौँ भने त अझै पनि साटिदिन्छन् होला’, कार्यकारी निर्देशक ढुंगाना भन्छन्, ‘अब हामी शनिबार आन्तरिक छलफल गरेर केही निर्णय लिन्छौं।

भारतीय टोलीले आफूले भनेको सीमासम्म सटही सुविधा लिन समय अपुग भएमा अप्रिल पहिलो सातासम्मका लागि कुर्न सक्ने संकेत गरेको राष्ट्र बैंकका सहप्रवक्ता एवं सञ्चालक समितिका सदस्यसचिव राजेन्द्र पण्डितले बताए। तर, राष्ट्र बैंकका केही अधिकारी भने अब पैसा साटिनेमा शंका गर्छन् । ‘कार्यकारी निर्देशकसहितको टोली आएका बेला हस्ताक्षर गरेको भए ठीक हुन्थ्यो,’ उनले भने, ‘अब उनीहरूले प्रक्रिया लम्ब्याउन सक्छन्।’ विगतमा पनि यसबारे प्रस्ताव लैजाँदा भारतीय कर्मचारीतन्त्रको निकै लामो प्रक्रिया पार गर्नुपरेको थियो। नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।