काठमाण्डाै१९ चैत२०७३ /नेपाल आयल निगमले शनिबारदेखि युरो-४ मापदण्डको तेल विक्री वितरण गर्ने भएको छ। सन् २००७ मा नै युरो-४ मापदण्डको इन्धनको अवधारणा आए पनि सन् २०१० मा विश्व बजारमा लागू भएङ्को थियो। युरोपियन र विकसित मुलुकमा सन् २०१६ बाट युरो ६ मापदण्डको इन्धन लागू भइसक्दा नेपालमा भने भर्खर युरो ४ मापदण्डको इन्धन आउन लागेको हो।
नेपाल आयल निथमले भारतीय आयल कर्पोरेसन (आईओसी)सँग आगामी सन् २०२२ मार्चसम्मका लागि इन्धन खरिद सम्झौता नवीकरण गर्दै शनिबार अप्रिल १ बाट युरो ४ मापदण्डको पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन आयात गर्न लागेको निगमका प्रवक्ता सीताराम पोखरेलले बताए। हाल नेपालमा युरो ३ मापदण्डको इन्धन आयात र वितरण भइरहेको छ। प्रवक्ता पोखरेलले भने ‘आजबाटै आईओसीले नै युरो ४ मापदण्डको तेल प्रयोगमा ल्याउने भएपछि नेपालमा पनि सोही मापदण्डको आयात हुने हो, युरो ४ मापदण्डको तेल गुणस्तर राम्रो हुने भएकाले सवारी साधनको आयु बढ्नुका साथै वातावरण प्रदुषणमा कमी आउने, सल्फरको मात्रा कमी हुन्छ।’ भारतीय आयल कर्पोरेसन (आईओसी) ले अप्रिल १ देखि युरो ४ मापदण्डको इन्धन प्रयोगमा ल्याउने भएपछि नेपालमा पनि सोही मापदण्डको इन्धन आयात हुने भएको हो। अब आउने तेल युरो ४ मापदण्डको भए पनि आयात गर्दा त्यसको नाम भने बीएस (भारत स्ट्यान्डर्ड) ४ रहने निगमले जनाएको छ। युरो ४ मापदण्डको तेल आयात भए पनि मूल्यमा भने हेरफेर नहुने निगमले जनाएको छ।