बानी विज्ञानको अप्रेसनबाट कुरा थालौँ । मानिसको बानी कस्तो छ, त्यसैले उसको सफलता र असफलताको पटकथा लेख्छ । सायद त्यही भएर होला अङ्ग्रेजी कवि ड्राम्डनले एक पटक भने पहिले हामी बानी बनाउँछौँ पछि त्यही बानीले हामीलाई बनाउँछ । विना फरक मत कविसँग मेरो सहमति छ । हुन पनि हो, हामीले बनाएको बनी हाम्रो जीवनको गोरेटो जहाँ जीवनको गाडी दर्गुछ । कुरा खुलस्त र प्रस्ट पनि छ । लेख्ने बानी भए लेख्दालेख्दै लेखक भइएला । फुटबल खेल्ने बानी भए खेलाडी भइएला । झगडा गर्ने बानी भए गुन्डा भइएला । रक्सी पिउने बानी भए रक्स्याहा भइएला । आखिर एउटा बानी बनाएपछि हामीलाई त्यो बानीले केही न केही त बनाएरै छाड्छ । त्यस कारण बानीको प्रभाव जीवनमा अत्यन्तै महत्वपूर्ण हुन्छ । बानीले मानिसलाई नसोचेको सकारात्मक वा नकारात्मक दुवै परिणाम दिन्छ ।
केही दृष्टान्तहरूलाई चियोचर्चा गरौँ । एक सर्को सिगर, एक घुट्को सोमरस, एक फ्वाँक सुर्ति आदिबाट नकारात्मक बानीको विकास गर्दै जीवनलाई अन्ततः चाडैँ मृत्यको मुख पुर्याउने थुप्रै छन् । तिनको बानीको चर्चा छाडेर सफल हुनेहरूले कसरी कस्तो बानी बसाले र पछि गएर त्यही बानीले सफल बनायो त्यसैमा मेरो अर्जुन दृष्टि रहने छ । विश्वका महान फुटबल खेलाडी पेले केटाकेटीदेखि नै फुटबल खेल्थे । सुरुमा रमाइलोको लागि खेलेका उनले पछि फुटबलमा जीवनको सपना बुन्न थाले र फुटबल खेल्नु उनको आदत बन्यो । उनी हरेक दिन फुटबल नाङ्गै खुट्टा भए पनि खेल्थे । खानापिना छाडेर भए पनि उनी फुटबल खेल्थे । लगातार खेल्ने उनको त्यो बानीले अन्ततः उनलाई महान खेलाडी बनाई छाड्यो । आफ्नो लेखन सुधार्न दैनिक ५ पेज लेख्ने बानी बसाले एक जना अङ्ग्रेजी साहित्यकार ‘जर्ज बर्नाड शा’ ले । ९ वर्षसम्म उनले त्यसरी नै लेखिरहे र पछि उनको त्यही बानीले उनलाई साहित्यमा नोबेल पुरस्कार जित्नसमेत सहयोग ग¥यो । त्यस्तै, अर्का फ्रेन्च उपन्यासकार ‘बालज्याक’को अनौठो बानी थियो । उनी ४–५ बजे साँझ हल्का खाना खान्थे र सुत्थे अनि मध्यरातमा उठी विहान ८–९ बजेसम्म कफी पिउँदै लेख्थे । एक पटक त उनले ३ घण्टामात्र आराम गरी लगातार ४८ घण्टा लेख्न सके ।
उनको लेख्ने बानी कस्तो शक्तिशाली थियो भने एक पटक सिकिस्त बिरामी भएर बेडमा पर्दा पनि ४० पेज लेख्न सके । उनको त्यही लेख्ने बानीले उनलाई साहित्यमा महान बनायो । त्यस्तै स्टेफन किङ’ ले पनि दैनिक १० पेज लेख्ने गर्थे । यसरी अधिकांश सफल लेखकहरूको गजबको लेख्ने बानी रहेको पाइन्छ । त्यसको अलावा वैज्ञानिकहरूजस्तो थोमस अल्बा एडिसनले धैर्य र प्रयासलाई जोडेर बानी बानी बनाएका थिए । उनी धैर्यपूर्वक लगातार प्रयासमा जुटिरहन्थे । चिम आविस्कार गर्ने क्रममा उनले ९९९ पटक प्रयास गरेका थिए । उनको बानीमा विशाल धैर्यता र प्रयास पाइन्छ । यस्ता थुप्रै उदाहरणहरू पाइन्छन् । हेर्नुस् त बानीको कमाल । सुरुमा अत्यन्तै सानो लगानीबाट बिजनेसझैँ सुरु हुने बानी पछि गएर बिराट रूप लिएर आउँछ अनि त्यसैले सफलता निम्त्याउँछ । यदि हामी सफल हुन चाहँदाचाहँदै पनि असफल भइरहका छौ भने आफ्नो बानीलाई नियालौ । हामीहरू धेरै मात्रमा नकारात्मक बानीको सिकार भइरहेका छौ । त्यस कारण दिनदिन हामी अस्वस्थ र असफलताको सिमसारमा भासिँदै गइरहेका छौँ । स्वास्थ्य र सफलता उन्मुख बानी नभएसम्म हामी अगाडि बढ्न सक्दैनौँ । जन्मजात गुण त कमैले मात्र ल्याएका हुन्छन् बाँकीले बानी विकासबाटै सफलता लिने हो । एउटा निश्चित बानीको विकास गरे जस्तोसुकै सफलता हात पार्न सकिन्छ । एक जना बेलायती नेता विन्स्टल चर्चिल सानोका भक्भके थिए । राम्रोसँग बोल्न सक्थेनन् । तर पछि बोल्ने अभ्यास गर्दै जाँदा उनी अन्ततः संसारकै एक उत्कृष्ट वक्ता बन्न सके ।
त्यस कारण हाम्रो लक्ष्यसँग जोडिएको बानी विकास गर्न अत्यन्तै आवश्यक देखिन्छ । अहिलेलाई हाम्रो बानीलाई दुई भागमा बाडौँ – स्वास्थ्य र लक्ष्य । पहिलो कुरो कसरी सबल स्वस्थ बनाउन सकिन्छ त्यसलाई जोड दिएर एउटा निश्चित बानी बसालौँ । जस्तो बिहान उठ्नासाथ दुई कप सफल पानी पिउँनु अत्यन्तै आवश्यक हो । सुरुमै यस्तो गर्न मुस्किल छ भने आधा कप पानीबाट सुरु गरौँ । विस्तारै बानी बसेपछि बढाउँदै लैजाऊँ । अनि त केही समयपछि त बिहानै पानी पिउँने बानीले दिसा खलास हुन्छ, पेट स्वस्थ हुन्छ । आनन्द आउँछ । त्यसपछि शरीरले जसरी पनि आफैँ पानी खोज्न थाल्छ । त्यसपछि अर्को बानी थप्ने, त्यसपछि अर्को । एक वर्षमा त पूरै स्वस्थ बन्छ । यो स्वास्थ्यसम्बन्धी बानी हो । अब दोस्रो लक्ष्यसँग सम्बन्धित बानी निर्माण गरौँ । जस्तो कसैको अङ्ग्रेजी सुधार्ने लक्ष्य भए, दैनिक २ वटा नयाँ शब्द–अर्थ बुझ्ने । एक पेज लेख्ने । एक पेज पढ्ने । ५ मिनेट अङ्ग्रेजी खबर सुन्नेजस्तो कुनै एउटा बानी बसाल्न थालौ । एकदेखि तीन महिनाभित्रमा एउटा बानी बस्न थाल्छ ।
त्यसपछि अलि जान्न थालेपछि मज्जा लाग्न थाल्छ । सिक्ने रहर अझ बढ्छ । मलाई एक पटक मेरो सुरु प्रा.डा. पदम देवकोटाले भन्नुभएथ्यो यदि तिमीले दैनिक २ वटा मात्र नयाँ शब्द हेर्यौ भने १० वर्षमा अङ्ग्रेजीको ठूलै ज्ञाता बन्छौ । यसमा ठूलो सत्यता छ । दिनको २ वटा शब्द मात्र जान्ने हो भने वर्षमा ७३० वटा नयाँ शब्द जानिन्छ र १० वर्षमा ७३०० शब्द जानिन्छ, जुन एउटा ठूलै शब्दकोश हो । अनि यत्रो ज्ञाता हुनलाई दिनको १–२ मिनेट खर्च गरे पुग्छ । हेर्नुस् त १ मिनेटको बानी मात्र बसाल्न सक्यौँ भने हामी कहाँबाट कहाँ पुग्ने छौँ । त्यस कारण पुनः बानी विज्ञान नबुझी हामीले सफलता चुम्न सक्दैनौँ । हाम्रा गाउँघरमा बुढापाकाले हामीलाई सानो छँदा भन्नुहुन्थ्यो, “राम्रो बानी बसाउनु नानी ।” त्यसको अर्थ अहिले चाख्दै छु म । वास्तवमा त्यो वैज्ञानिक र महान भनाइ रहेछ । जीवनमा सफलता प्राप्त गर्नको लागि त्यही एउटा भनाइलाई बुझे पनि पुग्ने रहेछ । आज हामी जहाँ छौ त्यो हाम्रो बानीकै कारण हो । अतः स्वस्थ र सफलता उन्मुख बानीको विकास गरौँ । जीवनलाई अमूल्य सफलताको माला आफैँ सम्मान गरौँ । विवेक विनयी