0 COMMENTS


काठमाडौं, १७ चैत०७३ / व्यवस्थापिका–संसद्का विभिन्न बैठकमा राजनीतिक दलका जिम्मेवार नेताहरू लामो समयसम्म अनुपस्थित भएको पाइएको छ ।लगातार १० वटाभन्दा बढी बैठकमा अनुपस्थित हुने नेताको संख्या बढ्दै गएको संसद् सचिवालयको रेकर्डले देखाएको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

२१ वैशाख २०७३ मा सुरु भएको बजेट अधिवेशन अझै जारी छ । यस अवधिमा १ सय १५ सांसद लगातार १० वटाभन्दा बढी बैठकमा अनुपस्थित छन् ।

उपचारको समयमा संसद्लाई जानकारी गराएको भए पनि अन्य कारणमा भने संसद्लाई जानकारी नदिएको संसद् सचिवालय स्रोतको भनाइ छ ।सांसदहरू विनासूचना जिल्ला भ्रमण, विदेश भ्रमण, घरायसी र पार्टी कामलगायतका कारण देखाई संसद् बैठकमा अनुपस्थित हुँदै आएका छन् ।

संविधानको धारा ८९ को (घ) मा सदनलाई सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित भएमा संसद्का सदस्यको स्थान रिक्त हुने व्यवस्था छ । तर, संसद् सचिवालयले संविधानको यस व्यवस्थाअनुसार काम–कारबाही चलाएको छैन । सभामुख ओनसरी घर्ती मगरले संसद्मा यसबारे कुनै सूचना अहिलेसम्म सुनाएकी छैनन् ।

संसद् बैठकमा धेरैपटक कोरम नपुुगेर बैठक स्थगित गरी अर्को दिनको बैठकमा महत्वपूर्ण निर्णय गर्नुपरेको छ । पछिल्लो समय शीर्ष नेताको अनुपस्थितिले बिस्तारै संसद्को ‘भ्यालु’ कम हुँदै गइरहेको छ ।

बैठकमा लगातार १० पटकभन्दा बढी अनुपस्थित हुनेमा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि नाम रहेको छ । उनी ११ साउन २०७३ देखि १६ भदौ २०७३ सम्म ११ वटा बैठकमा अनुपस्थित देखिएका छन् ।कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि २१ वैशाख २०७३ देखि १३ जेठ २०७३ सम्म ११ वटा बैठकमा अनुपस्थित भएको संसद् सचिवालयको रेकर्डले देखाएको छन् । उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष कमल थापा १३ भदौ २०७३ देखि १३ असोज २०७३ सम्म ११ वटा बैठकमा अनुपस्थित देखिएका छन् ।

आरजु देउवा

यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव २३ वैशाख २०७३ देखि १४ असार ०७३ सम्म २४ वटा बैठक तथा ११ साउन २०७३ देखि १६ भदौ ११ बैठकमा अनुपस्थित देखिएका छन् ।

काँग्रेस महामन्त्री डा शशांक कोइराला पनि २३ भदौ देखि ३० असोजसम्म ११ वटा बैठकमा तथा ५ असार २०७३ देखि १६ भदौ २०७३ सम्म ३० वटा बैठकमा अनुपस्थित देखिन्छन् ।कोइराला केही समय बिरामी भएर स्वास्थ्य उपचार गराएका थिए । कांग्रेसकै नेता डा रामशरण महत २१ वैशाख २०७३ देखि ३१ वैशाख २०७३ सम्म १० वटा बैठकमा अनुपस्थित देखिएका छन् ।

कांग्रेस नेता डा शेखर कोइराला पनि १३ वटा बैठकमा अनुपस्थित देखिएका छन् । ६ असार २०७३ देखि २२ असार २०७३ सम्म उनी अनुपस्थित भएका थिए ।

यस्तै, मन्त्रीसमेत रहेका राप्रपा नेता दीपक बोहोरा १२ असार २०७३ देखि २५ असार २०७३ सम्म ११ वटा बैठक र ३० साउन २०७३ देखि २७ भदौ २०७३ सम्म ११ वटा बैठकमा अनुपस्थित छन् ।

राप्रपाकै सुशीलकुमार श्रेष्ठ २६ पुसदेखि २५ माघ २०७३ सम्म ११ बैठकमा अनुपस्थित छन् । कांग्रेस सांसद डा. आरजु देउवा पनि २१ वैशाख २०७३ देखि २५ असार २०७३ सम्म ३५ वटा बैठकमा अनुपस्थित छन् ।

एमालेका चन्द्रबहादुर गुरुङ ६ असार २०७३ देखि २२ असार २०७३ सम्म अनुपस्थित रहेका छन् । माओवादी केन्द्रकी तेजकुमारी पौडेल २९ वैशाख २०७३ देखि २५ असार २०७३ सम्म २८ वटा बैठकमा अनुपस्थित छन् ।

नेपाल परिवार दलका नेता एकनाथ ढकाल २८ वटा बैठकमा अनुपस्थित छन् । उनी ९ असोज २०७३ देखि २० पुस २०७३ सम्म अनुपस्थित रहेका हुन् ।

सुशासन समितिका सभापति मोहनसिंह राठौर स्वयं २५ मंसिरदेखि १९ पुससम्म लगातार ११ पटकसम्म अनुपस्थित छन् । कांग्रेस सांसद तारिणिदत्त चटौत १८ मंसिरदेखि १८ पुससम्म १३ बैठकमा र ११ असोजदेखि ३० कात्तिकसम्म १३ बैठकमा अनुपस्थित भएका छन् ।

कांग्रेसकै प्रदीप गिरी २१ वैशाख २०७३ देखि ३१ वैशाख २०७३ सम्म लगातार अनुपस्थित छन् । एमाले सांसद राज्य लक्ष्मी गोल्छा २४ वैशाख २०७३ देखि ८ साउनसम्म ३४ वटा बैठकमा अनुपस्थित भएकी छन् भने ११ साउनदेखि १६ भदौसम्म ११ बैठकमा अनुपस्थित देखिन्छिन् ।

तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव २४ वैशाख २०७३ देखि २८ जेठ २०७३ सम्म १५ बैठकमा अनुपस्थित छन् । यादव २४ साउनदेखि ३० असोजसम्मका २० बैठकमा पनि अनुपस्थित नै छन् ।

यस्तै, तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ला १५ जेठ २०७३ देखि १२ असार २०७३ सम्म १३ बैठकमा अनुपस्थित छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका विजयकुमार सिंह ६ असारदेखि ३१ असारसम्म १५ बैठकमा अनुपस्थित छन् ।

एमाले सांसद महिन लिम्बू १२ जेठ २०७३ देखि १६ भदौ २०७३ सम्म १७ बैठकमा अनुपस्थित छन् । एमालेकै गौरा प्रसाईं कोइराला १८ असार २०७३ देखि १८ असोज २०७३ सम्म ३१ बैठकमा अनुपस्थित देखिएकी छन् ।

फोरम लोकतान्त्रिक सांसद आशा चतुर्वेदी १७ साउन २०७३ देखि १६ भदौ २०७३ सम्म १० बैठकमा अनुपस्थित छन् । संघीय समाजवादी पार्टीकी काशी अली सिद्धिकी २९ वैशाखदेखि २१ जेठ २०७३ र १२ असारदेखि २९ असार २०७३ सम्म ११ बैठकमा अनुपस्थित छन् ।

एमाले सांसद गौरीकुमारी ओली २० भदौ २०७३ देखि ३० असोज २०७३ सम्म १२ बैठकमा अनुपस्थित छन् । स्वतन्त्र सांसद चन्द्रेश्वर झा ३१ वैशाख २०७३ देखि २९ असार २०७३ सम्म अनुपस्थित छन् ।

संघीय समाजवादी फोरम नेपालकी छाया शर्मा पन्त १८ जेठ २०७३ देखि १० असार २०७३ सम्म १० बैठकमा अनुपस्थित छन् । तर, उनीहरूमाथि कुनै कारबाही अघि बढेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।