0 COMMENTS
— पुण्यराज पुडासैनी

म उसको कोठाभित्र छिर्दा ऊ एकदमै मौन थिई । मलाई कोठामा पुग्दा उनका मौन आँखाहरूले बस्ने इसारा गरे । उसको मुहारमा कान्ति थिएन । म उसमा निराशा, पीडा र अथाह कुण्ठाको लहर देखिरहेको थिएँ । विषयवस्तु र पृष्ठभूमिका बारेमा पहिल्यै कुरा भइसकेको थियो । म मौनतामै उसलाई पढिरहेको थिएँ । मैले केही बोल्न सकिरहेको थिइनँ । उसका भोगाइका ती पाटाहरूले कता कता मलाई थिचिरहेका थिए । मैले मेरो झोलाबाट रेकर्डर निकालेर उसको अगाडि राखिदिए र निरहिझै, लाचारझै उसको कथा सुन्ने साहस बटुल्दै उसको अगाडि बसिरहे । उ आफ्ना जीवनका कथाहरू यसरी बताउदै गई ।
म रामेछापको दोरम्बा गाउँ मा जन्मिएकी हु । बुबा विद्यालयमा शिक्षक हुनुहुन्थ्यो । दाइ पनि पल्लो गाउँमा भर्खरै शिक्षकमा नियुक्ती हुनुभएको थियो । चारजनाको हाम्रो परिवार अत्यन्त सुखी परिवार थियो । मैले पनि त्यही आफ्नो डा“डापाखा पखेरामा रमाउँदै गाउँकै विद्यालयबाट भर्खर १२ कक्षा पास गरेकी थिएँ । मेरो त्यो समय उत्साह, उमङ्ग र सपनाका रङ्गीन पलहरू बुन्दै बितिरहेको थियो । बुबाको इच्छा भने मैले काठमाडौ. गएर उच्च शिक्षा अध्ययन गरोस भन्ने थियो । तर आमा भने एक्ली छोरीलाई गाउँमै राख्नुपर्दछ भन्नेमा हुनुहुथ्यो ।
मेरो उमेरले पनि मलाई संसार मेरैझैँ लाग्दथ्यो । वनमा काफलचरी कराउँदा मनमा कता कता काउकुती लाग्दथ्यो । साथी संगी माइत फर्किन्थे । मलाई मनमा केही सपना अधुरा रहेझै पीडा हुन्थ्यो । मेरो सिउँदोलाई ऐनाले जिस्काएझै हुन्थ्यो । गाउँ घरमा र देशैभरि त्यस समयमा सशस्त्र द्वन्द्व भइरहेको थियो । सबैतिर लडाइ र भिडन्तका कारुणिक घटना सुनिन्थे र दैनिक मान्छे मरेका खवरले मलाई भित्रभित्रै पोल्दथ्यो । मेरो गाउँ पनि त्यो द्वन्द्वको एउटा नमुना थियो । गाउ“का युवाहरू लगभग सबै त्यो युद्धमा होमिएका थिए । उनीहरू आफ्नो जीवनलाई अ“ध्यारोतिर धकेलिरहेका थिए । म सोच्दथेँ आफू आफैँमा जुधेर आखिर जित्ने कसैलाई हैन । तैपनि मेरो गाउँ सरकार र विद्रोही दुवै पक्षको तारो बनिरहेको थियो । सदरमुकाम आउँदा पनि दोरम्बा गाउँ भनेपछि निकै सोधपुछ र निगरानीमा रहेको महसुस हामीले गर्ने गरेका थियौा । जे होस्, हामीले त्यसको सामना गरिरहेका थियौँ र कुनै दिन पक्कै राम्रो समय आउँछ भन्ने कल्पना गर्दथ्यौँ । मेरो नाम बुबाले सुनकेशरी राख्नुभएको थियो ।

एकैछिन ऊ रोकिई । मेरो अनुहार पढ्न खोजी । माथि भित्तामा एउटा तस्विर थियो । त्यसलाई हेरिरही । उसको परिवारको सामूहिक फोटो थियो त्यो । म सोचिरहेथेँ किन हेरी उसले त्यो फोटो ! के भो होला र ऊ यहाँ यसरी मेरो अगाडि उभिरहेकी छ । त्यसपछि ऊ आखाभरी टिलपिल आँसु लिएर अगाडि बोल्दै गई ।

सरकार र विद्रोही पक्ष बीच युद्धविराम भएको थियो । त्यो युद्धविरामले गाउ“ सहर सबैतिर केही समयको लागि भएपनि राहत भएको महसुस गरेका थिए । सबै जनताले विद्रोही पक्षले त्यो युद्धविरामलाई आफ्नो शक्ति विस्तारमा प्रयोग गरेका थिए भने सरकार पक्षले ग्रामीण इलाकामा आफ्नो प्रभाव विस्तारका रूपमा । हाम्रो गाउँमा पनि विद्रोही पक्षको गतिविधि ह्वातै बढेको थियो । गाउ“कै अगुवा भएकाले मेरा बुबास“ग धेरै मानिसहरूको चिनजान र सम्पर्क थियो । हामी एकदिन बेलुका खाना खाएर पारिवारिक छलफलमा थियौँ । छलफलको विषय मेरो उच्च शिक्षाको थियो । मलाई गाउ“बाट सहरतिर पठाउन सबै राजी भइसकेका थिए र म पनि आगतको मीठो कल्पनामा हराउन खोजिरहेकी थिएँ । यतिकैमा वाहिरबाट बुबालाई बोलाएको आवाज सुनियो ।

ढोका खोलेर १०÷१२ जना मान्छे घरभित्र पसी सरासर हाम्रो बुइँगलमा गए । तिनीहरूमध्ये एकजनाले बुबासँग एकान्तमा कुरा गर्यो । त्यसपछि बुबाले केही चामल झिकिदिनु भो । अनि उनीहरू आफैँ ले बाहिरको बारीबाट साग ल्याएर पकाउने मेसो गर्न थाले । म, दाइ र आमा एक अर्कोलाई हेर्दै मुखामुख मात्र गर्यौं । त्यो रात साशय, डर र कल्पनामै बित्यो । विद्रोही पक्षका लडाकु घरमा बसिरहेका थिए । त्यसमध्ये एकजना मसगै पढेकी साथी थिइन । उनले त्यहाँ महत्वपूर्ण बैठक भइरहेको बताइन् । मलाई त्यस दिन बिहानैदेखि मनमा नरमाइलो र डर महसुस भइरहेको थियो । उनीहरू सबै बैठकमा थिए । हामी बाहिर आगमा बसिरहेका थियौं । यतिकैमा मेरो घरको आँगनमा एकहुल सैनिकहरू आए । घर चारैतिर घेरिएको थियो । ती सैनिकले सरासर भित्र गएर बैठकमा सामेल सबैजनालाई बाहिर ल्याए । त्यो हुलमा मेरो बुबा र दाइ पनि हुनुहुन्थ्यो । युद्धविराम भएको र त्यहा शान्तिपूर्ण बठक भएको भनेर विरोध जनाइरहेका थिए विद्रोहीका नेता,तर सैनिकको कमाण्डरले माथिको आदेश भन्दै उनीहरूलाई त्यहाँबाट लिएर हिड्न आदेश दियो ।

हामी विव्ह्ल भयौँ, संशयले सीमा नाघेको थियो र डरले कामिरहेका थियाैँ । करिव १ घण्टापछि गाउँको माथि डाँडाकोटेरीमा गोलीका आवाज सुन्यौँ । अब हाम्रो शरीर शिथिल र मस्तिष्क सून्य भैसकेको थियो । करिव गोली चलेको १ घण्टापछि खवर आयो सबै समातिएकालाई गोली हानेर मारियो । हापुरेमा चल्दै गरेको वार्ता विफल भयो र घेरा तोडेर भाग्दै गरेका १९ जना आतङ्ककारीको मृत्यु भयो । त्यो खवरसँगै मेरो संसार खरानीमा परिणत भयो । हामी डाँडातिर दौडियौँ । लास छरपष्ट थिए । मेरो बुबा र दाइको लास कान्लामुनिबाट मान्छेहरु तान्दै थिए । आमा मूर्छा परेर ढल्नुभयो म आमालाई सम्हाल्न सक्ने अवस्थामा थिइनँ न त आफैँलाई । आमाको होस आएन । अस्पताल लैजानुपर्ने भो तर बाटैमा आमाको प्राण उड्यो । आफ्ना पति र छोराको लास देख्न सकिनन् मेरी आमाले । उनले छोरीको साहारा बन्ने साहस पनि गरिनन्, छोडेर गइन् ।

त्यसपछि म त्यो ठाउँमा एक्ली बने नितान्त एक्ली । मलाई त्यहाँ प्रत्येक कुराले तर्साउन थाल्यो । कहिले काहीँ सोच्थेँ–तामाकोसीमा हामफालेर यो जीवन त्यागिदिऊँ तर सोच्थेँ निर्दोष मेरा दाइ, बुबाको आत्माले धिक्कार्नेछ मैले सङ्घषसगँ किन डराउने ? गाउँलाई पुनः युद्धको त्रासदीले छोपिसकेको थियो । अब युवा गाउँमा बस्न सक्ने अवस्था थिएन । कित विद्रोहीको निसाना कित सैनिकको पेलाइमा पर्नुपर्ने थियो ।

मैले त्यो गाउँ छोड्ने निर्णय गरेँ । मैले सोध्नुपर्ने कोही थिएनन् । न त बिदा माग्नुपर्नेनै मेरा कोहि थिए । म त्यहाबाट हिडे अनिश्चित भविष्य बोकेर सहरतिर । काठमाडौंमा मेरो टाढाको मामाघर थियो त्यही आएँ । केही समय त्यहाँ बसेपछि एउटा काम खोजेर भक्तपुरमा बस्न थाले“ । म केही सम्हालिदै थिएँ । एकदिन मैले सल्लाघारीमा मेरै गाउ“की एकजना साथी भेटें । मलाइ सर्वस्व भेटेँ झै भो । बीच बाटोमै अँङ्गालो हालेर रोएँ । उससँग एकजना पुरुष पनि थिए । उसले परिचय गराई साथी भनेर । मैले उसलाई मेरो डेरामा लिएर गएँ । त्यो रात मनका सबै बह पोखे । मन हलुका भो ।

उसलाई बारम्बार आइरहन अनुरोध गर्दैै भोलिपल्ट बिदा गरेँ। त्यसको करिव १५ दिनपछि ऊ र त्यही साथी मेरो कोठामा आए । मलाई निकै खुसी लागिरहेको थियो । एक्लोपनबाट एकरात भए पनि छुटकारा पाउने भएकी थिएँ । कुराकानीमै करिव ११ बजेपछि हामी सुत्ने तरखरमा लाग्यौ“ । मैले वी.ए सकेर एम.ए पढ्न थालेकी थिएँ । बिहानै कलेज जानुपर्छ भन्दै हामी सुत्यौ । सुतेको करिव १ घण्टापछि मेरो कोठाको ढोकामा ढकढक आवाज आयो । ढोका खोले, त्यहाँ सैनिक थिए । उनीहरूले सरासर छिरेर मेरो साथी र उसको मित्रलाई हतकडी लगाई पट्टी बाँधे आँखामा । अब म पुनः चेतना शून्य भएकी थिएँ ।

मलाई पनि नानाथरी गाली गर्दै हात पछाडि बाँधेर कालो पट्टी बाँधी त्यहाँबाट लिएर हिँडे । म सोचिरहेकी थिएँ । मेरो जीवन त्रासदीको पर्याय किन बन्यो किन ? भोगाइका तितापल मेरो मात्रै कर्ममा छन् । हामीलाई करिव २ घण्टापछि एउटा सुनसान ठाउँमा लगियो । किराहरू कराइरहेका थिए । सायद कुनै जङ्गल थियो । त्यसपछि सैनिकको हाकिमले आदेश दियो गोली ठोकेर मार्नलाई र सैनिकहरू तयार भए । हाम्रो हात खोलियो र लाइनमा राखियो ।

त्यसपछि मेरो साथी र त्यो मित्रलाई एक मिनेटमै भैमा ढालियो । तर मलाई गोली हानिएन । त्यो हाकिमले त्यसपछि भन्यो “यसलाई चै लिएर हिँड ।” मलाई पुनः गाडीमा राखियो र त्यसपछि कुनै अज्ञात स्थलमा लगियो । त्यहाँ म बाहेक कोही थिएन । मैले रात र दिन छुट्याउन सक्ने अवस्था थिएन । सायद भोलिपल्ट हुनुपर्दछ । एउटा हाकिम सोधपुछका लागि भन्दै आयो । ऊ मेरो नजिक थियो । रक्सीले मातेको त्यस हाकिमले मलाई प्रश्न भन्दा बढी मेरो शरीरलाई चलाउन थाल्यो । म लाचार बनेर सहन्थेँ । त्यसपछि शरीरबाट अव ऊ मेरो बलात्कारमा उत्रियो ।

एकैछिन ऊ रोकिई र रुमालले आँसु पुछी । लामो सास फेरी अनि फेरि बोल्दै गई ।म अब हरेक दिन बलात्कृत बन्दै गएँ । कयाैँ पल मैले लास बनेर विताएँ । मैले सोच्न छाडिसकेकी थिएँ । मेरा कुनै पनि भावनाले काम गर्न छाडिसकेको थियो । यो क्रम करिव ६ महिना चल्यो । म कहा“ छु थाहा थिएन । ६ महिनाभन्दा अगावै मेरो रजस्वला रोकिएको थियो । मैले मेरो पेट बढ्दै गएको महसुस गरेकी थिएँ । कुटिल ती मानिसको पाप बोक्न बाध्य भएकी थिएँ । म लुटिएँ, म लुछिए र म सिद्धिएँ झै महसुस गरिरहेकी थिएँ । मैले सधैँ नै बलात्कृत हुने समय पर्खिरहेकी थिए । त्यसदिन पनि रक्सीले मात्तिएर त्यो हाकिम आयो र मलाई पुनः लुट्यो । त्यसबेला उसको पाप मैले बोकिरहेको बताए“ उसलाई । ऊ केही बोलेन । त्यसको करिव ३ दिनपछि त्यो हाकिम केही जवानसहित आयो र मलाई कहीँ लगेर फालिदिने आदेश दियो । तर दानवमा पनि देव अंश हुन्छ भनेझैँ नमार्नका लागि भने उसले आदेश दिएको थियो ।

मेरो आ“खाको पट्टी खोलिए । मैले बाहिर हेर्दा त्यहाँ जङ्गल सिवाय केही थिएन । बल्लबल्ल बाहिर निस्किएँ । सायद त्यो धुलिखेल थियो । त्यहा“बाट म कता जाऊँ कता जाऊँ भन्नेमा परेँ । मलाई मेरो पेटमा भएको त्यो अबोधले तगारो हालिरह्यो । मैले सोचेँ–अब भगवानका् सहारामा जान्छु भनी पशुपतितिर लागे । मलाई अब डर, त्रास, गुनासो केही थिएन । म निर्जीव ढुङ्गा बनिसकेकी थिएँ । म पशुपतिमा गएँ र त्यहाँ एउटा पाटीमा बसेँ । दिन चल्दै थिए । पेट पाल्नका लागि अब मसँग माग्नु सिवाय केही थिएन । मेरो पेट सँगसँगै लाज, घृणा र अपहेलना बढ्दै थियो । कतै जान सक्ने अवस्था थिएन म । करिव ७ महिना भा कोथ्यो । त्यसबेला अनायास मेरो पेट दुःख्यो र त्यसको २ घण्टापछि रगत बग्यो । अनि त्यस सँगसँगै त्यो पापको अवशेष पनि । त्यस अवशेषले कतै कतै मनमा सहानुभुत बढायो त्यसको अवसान स“गै मेरो जीवन फेरिन्छ कि भन्ने आशा पनि पलायो ।

त्यसपछि म गाउँ फर्किएँ । वार्ता, समझदारीको कुरा चल्दै थियो । म गाउँ आउँदा मेरो घरमा विद्रोहीले झन्डा गाडेका रहेछन् । त्यहाँ कार्यालय चल्दै थियो । म त्यहाँ पुगेँ । उनीहरूबाट स्वागत भो र मलाई उनीहरूले न्यानोपन र आफन्तपन दर्साए । म त्यहाँ बस्न थालेँ । त्यो बसाइस“गै किन किन ममा विद्रोहको टुसा पलाइरहेको थियो । मेरा भोगाइले मलाई बन्दुक समात्न उत्प्रेरित गरिरहेको थियो ।

एकदिन युद्धको तयारीमा लाग्ने खवर आयो । रामेछाप सदरमुकाम मन्थली आक्रमण गर्ने योजना बन्दै थियो । मलाई पनि सामेल हुन उनीहरूले आग्रह गरे । मलाई पनि अब जीवनको मोह थिएन । तयार भएँ, बन्दुक बोकेर म उतै लागेँ ।
भीषण युद्ध भो, हामी पनि लड्दै थियौँ । एक्कासि मलाई खुट्टामा गोली लाग्यो, म लडे । त्यसपछि अर्को खुट्टामा पनि गोली लाग्यो । मलाई अन्तिम याद छ मलाई कसैले खोल्सामा लडाइदिएको थियो । मेरो होस खुल्दा म झाडीबीच एक्लै थिएँ । मेरा दुवै खुट्टा निर्जीव बनिसकेका थिए । जिउ भारी थियो र म हलचल गर्नै नसक्ने थिए ।

बल्लबल्ल म बुट्यान समाएर ५ घण्टापछि त्यहा बाट निस्किएँ । बाहिर खेतमा मान्छे काम गरिरहेको थिए । मलाई देखेपछि कुदेर आई उद्धार गरेर लुकाउदै हेल्थपोस्टमा लगे । हेल्थपोस्टको अहेव मेरो बुबाको विद्यार्थी रहेछ । उसले सामान्य उपचार गर्यो र सहर जानलाई सिफारिस गर्यो । मैले त्यो सम्भावना छैन भनेपछि उसले सरकारी औषधि लिएर आएको एम्बुलेन्मा पठाउने कुरा बतायो । मैले स्विकारेँ । म पर्सिपल्ट सहर आए । अस्पतालमा अनेक प्रश्न पश्चात उपचार सुरु भो । मेरो घाउ पाकेर कुहिएको थियो । डाक्टरले मेरो दुवै खुट्टा काम नलाग्ने भएकाले काट्नुपर्ने ।अन्यथा सङ्क्रमणले ज्यान जाने बताए । मैले प्राण बचाउने र अझै निर्दयी जीवन भोग्ने निर्णय गरे“ । मेरा दुबै खुट्टा काटिए ।
उसले त्यसपछि केही बोलिन । म पनि चुपचाप भएँ । अनि उसका भोगाइका ती पलहरूले मलाई पनि नराम्ररी पोलिरहेको थियो । कति ज्याद्रो हँदोरहेछ मान्छे जस्ता पल पनि सहन सक्ने भन्ने लागिरहेको थियो । उसले व्ह्लि चेयर अगाडि बढाई र मेरा हातमा स्पर्श गरी अनि वरर आँसु खसाल्दै मलाई जानका लागि इसारा गरी । म चुपचाप उठेर बाहिर आएँ। मेरो मन भारी भएको थियो र बाहिरी गेटको साइनबोर्डले मलाई प्रश्नको बाढी लगाइदिएको थियो ।

“सहारा अपाङ्ग पुनःस्थापना केन्द्र” यो बोर्डमाथि लागेको धुलो र उसको जीवनका तीता भोगाइका बादल उस्तै उस्तै लागिरहेका थिए । अनि उसका आँखाले केही आशाका किरण देखाइरहेका थिए । तर मेरो यात्रा अझै बाँकी थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।