0 COMMENTS

काठमाण्डाै १३चैत्र/ स्थानीय तह निर्वाचनका लागि ६४ जिल्लामा मतदानस्थल तय भएको छ । तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रौतहटसहित ११ जिल्लाका मतदानस्थल तोकिन बाँकी छ । सबै जिल्लामा निर्वाचन कार्यालय सञ्चालनमा छन् ।

निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन कार्यालयलाई १० चैतभित्र मतदानस्थल तोकेर पठाउन निर्देशन दिएको थियो । तर, तराईका आठ जिल्लामा मधेसी मोर्चाआबद्ध दलहरूको असहयोग र अवरोधका कारण मतदानस्थल तय हुन सकेको छैन । ती जिल्लाका केही गाउँपालिका र नगरपालिकामा तालाबन्दी छ ।

‘तराईका आठ जिल्लामध्ये पर्साबाट मतदानस्थल तय भएर आउने खबर आइसकेको छ,’ आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले नयाँ पत्रिकासँग भने, ‘अन्य जिल्लाबाट पनि आउने खबर आएको छ ।’

देशभर करिब १० हजार ३ वटा मतदानस्थल तय हुने आयोगको अनुमान छ । मतदान केन्द्रबारे टुंगो लाग्न भने बाँकी छ । गाउँपालिका र नगरपालिकाको वडाका मतदाता नामावलीको अन्तिम टुंगो लागेपछि केन्द्र तोक्ने तयारी निर्वाचन आयोगको छ । आयोगले बढीमा एक हजार मतदाता हुने गरी मतदान केन्द्र तोक्ने गरेको छ । करिब २१ हजार मतदान केन्द्र हुने अनुमान आयोगको छ ।

कहाँ–कहाँ छ समस्या ?
प्रदेश नम्बर २ का आठ जिल्लामध्ये सप्तरीका गाउँपालिका र नगरपालिकामा सबैभन्दा धेरै समस्या छ । सप्तरीका आठवटा नगरपालिका र नौवटा गाउँपालिकामा एक सय ६२ वटा वडा कार्यालय छन् । ती कुनै पनि कार्यालय सञ्चालनमा छैनन् । तर, अन्य सातवटा जिल्लामा भने आंशिक समस्या देखिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रलायका सहसचिव रुद्रसिंह तामाङले जानकारी दिए । उनका अनुसार रौतहटमा १०, बाराका ७ तथा धनुषा र महोत्तरीका केही गाउँपालिकामा समस्या छ । ‘ती क्षेत्रमा एकप्रकारले लुकामारीजस्तो भएको छ, उनीहरूले कार्यालयको बोर्ड जलाउने, हामीले बनाउने भइरहेको छ,’ तामाङले भने ।

मतदाता प्रशिक्षकलाई तालिम

आयोगले स्थानीय निर्वाचनका लागि शनिबार आठ स्थानमा ‘मतदाता शिक्षा कार्यक्रमअन्तर्गत ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सुरु गरेको छ । दुईदिने प्रशिक्षण कार्यक्रम विराटनगर, सिन्धुली, हेटौँडा, ललितपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा सञ्चालन भइरहेका छन् । आयोगले प्रशिक्षण कार्यक्रममा जिल्ला निर्वाचन अधिकारीहरू, सामुदायिक विद्यालयका सामाजिक शिक्षा अध्यापन गराउने माध्यमिक महिला शिक्षक, जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति तथा जिल्ला समन्वय समितिका सामाजिक परिचालक गरी देशभरका ३ सय ५४ जनालाई क्षेत्रीय प्रशिक्षक प्रशिक्षण दिँदै छ । क्षेत्रीयस्तरमा प्रशिक्षित प्रशिक्षकले ७ सय ४४ स्थानीय तहमा करिब २१ हजार मतदान केन्द्रमा खटिने मतदाता शिक्षा कार्यकर्तालाई जिल्लास्तरमा प्रशिक्षण दिनेछन् ।

मतदाता नामावलीमा भ्रममा नपर्न आग्रह

आयोगले स्थानीय निर्वाचनका लागि मतदाताको नाम, ठेगाना हालको स्थानीय तहअनुसारको नयाँ ठेगानाअनुसार अद्यावधिक गर्ने, सानातिना त्रुटि हटाउने, दोहोरो नाम हटाउनेलगायत मतदाता नामावली परिष्कृत गर्ने काम गरिरहेको जनाएको छ । परिष्कृत नभएको मतदाता नामावली हेरेर भ्रममा नपर्न आयोगले आग्रह गरेको छ । आयोगका अनुसार परिष्कृत भएपछि तयार हुने अन्तिम नामावली आयोगको वेबसाइटमा राखिनेछ ।

दलहरूको तयारी कस्तो छ
कांग्रेस रणनीति बनाउन आज बैठक

उम्मेदवार छनोट, प्रचार अभियान, पार्टी संयन्त्र परिचालन, घोषणापत्र निर्माणसहितको रणनीति बनाउन कांग्रेस केन्द्रीय समिति आइतबार बस्दै छ । कांग्रेसले यसअघि ७५ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर स्थानीय तहमा पार्टीको अवस्थाबारे अध्ययन गरेको थियो । सबै प्रतिनिधिले प्रतिवेदन बुझाइसकेको र सोही आधारमा निर्वाचन रणनीति बनाउने तयारी रहेको नेताहरूले बताएका छन् । ‘ग्राउन्ड रियालिटी बुझेर बलियो नेतालाई टिकट दिन पार्टी नेतृत्वले तयारी गरिरहेको छ,’ केन्द्रीय सदस्य एनपी साउदले भने, ‘बैठकमा त्यसैअनुसार छलफल हुन्छ ।’

एमाले स् उम्मेदवार छान्न एमालेले मापदण्ड बनायो

उम्मेदवार छान्न सातबुँदे मापदण्ड र तीनबुँदे कार्यविधि बनाएको छ । सोमबारसम्म ती मापदण्डका आधारमा उम्मेदवार छनोट थाल्न देशभर सर्कुलर गरिने महासचिव ईश्वर पोखरेलले बताए । चैत अन्तिम सातासम्ममा देशैभर उम्मेदवार छनोट गर्ने तयारी छ । नारा र घोषणापत्रको गृहकार्यमा रहेको एमालेले निर्वाचन परिचालन समिति र गाउँ–नगरमा मतदाता शिक्षा अभियान चलाउने तयारी गरेको छ । निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने नीति र योजना पनि पारित गरेको छ । बागी उठ्ने र सहयोग गर्नेलाई पाँच वर्षसम्म निलम्बन गर्ने नीति बनाएको छ ।

माओवादी स् उम्मेदवार छान्न धमाधम बैठक

उम्मेदवार छनोट गर्न कार्यविधि तय गरेर तल्लो समितिसम्म पठाइसकेको छ । घोषणापत्र पनि तयार भएको केन्द्रीय कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकीले बताए । ‘कार्यविधि र निर्देशिका तलसम्म पुगिसकेको छ । उम्मेदवार छनोट प्रक्रियाका लागि तयारी बैठकहरू धमाधम चलेका छन् । चैत मसान्तसम्ममा उम्मेदवार छनोट भइसक्छन्,’ उनले भने, ‘केन्द्रीय तहमा प्रतिबद्धतापत्र तयार भइसकेको छ । स्थानीय सापेक्षतामा थप्न पनि सकिन्छ । एक–दुई दिनभित्रै सार्वजनिक गर्छौँ ।’ माओवादीले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचन परिचालन समिति गठन गरेको छ ।

राप्रपा उम्मेदवारको मापदण्ड र घोषणापत्र बनाउँदै

राप्रपाले उम्मेदवार छनोटको मापदण्ड र घोषणापत्र बनाउँदै छ । स्थानीय तहअनुसार पार्टीका तल्ला निकाय समायोजन गर्दै निर्वाचन प्रचार अभियान पनि देशभर लगिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टी समितिभन्दा बाहिरका व्यक्तिलाई पनि गाई चिह्न लिएर उम्मेदवार बन्ने बाटो खुला गर्ने नीति लिएको श्रेष्ठले बताए । देशभर ‘जनताको माझमा राप्रपा’ प्रशिक्षण कार्यक्रम लिएर नेताहरू चुनावी अभियानमा रहेको उनको भनाइ छ ।

निर्वाचन रोकिँदैन प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले अब कुनै पनि बहानामा निर्वाचन नरोकिने बताएका छन् । शनिबार विराटनगरमा पत्रकारसँगको भेटमा उनले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गराउन आयोगले सबै तयारी पूरा गरिसकेको र देश निर्वाचनमय भएको बताए । उनले २ नम्बर प्रदेश तथा पश्चिमका केही स्थानमा निर्वाचनको उचित वातावरण बन्न नसकेको गुनासो गरेका थिए ।

संविधान कार्यान्वयनका लागि एक वर्षभित्र तीनै तहको निर्वाचन गराउनुपर्ने भएकाले पनि देश निर्वाचनमा होमिएको डा। यादवको भनाइ छ । निर्वाचन हुन नसके संविधान कार्यान्वयनमा पनि समस्या आउने उनले बताए ।

स्थानीय तहको निर्वाचनका लागि आयोगले मतपत्र छपाइ धमाधम भइरहेको र २२ जिल्लाको सकिएको डा। यादवले जानकारी दिए । सबै जिल्लामा मतदाता शिक्षा प्रभावकारी बनाउन सुरु गरिसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।