0 COMMENTS

, १२ चैत०७३/ निर्वाचन आयोगले आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा नयाँ संरचनाअनुसार मतदाता परिचयपत्रको व्यवस्था गर्ने भएको छ ।

०७० को संविधानसभा निर्वाचनमा आयोगले व्यवस्था गरेको फोटोसहितको मतदाता परिचयपत्रको सट्टा स्थानीय तह निर्वाचनका लागि आयोगले नयाँ परिचय पत्र व्यवस्था गर्ने भएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचनका लागि नयाँ परिचय पत्रको व्यवस्थापनमा आयोग जुटिरहेको जानकारी दिए ।

‘निर्धारित निर्वाचनका लागि समय निकै छोटो छ, तर आयोग नयाँ परिचय पत्रको व्यवस्थापनमा जुटेको छ,’ अर्यालले भने, ‘नयाँ परिचय पत्रमा स्थानीय तहको परिवर्तित ठेगानाअनुसारको विवरण उल्लेख हुनेछ ।’

निर्वाचन आयोगले आगामी २० चैतसम्म मतदाता नामावलीको अन्तिम टुंगो लगाउने भएको हो । यसका लागि आयोगले अहिले मतदाता नामावलीमा दोहोरो नाम परेकाहरूको नाम हटाउने, फोटो फरक परेकाहरूको फोटो मिलाउने तथा अन्य कमीकमजोरी सच्याउने काम गरिरहेको आयोगका सूचना अधिकारी अर्यालले जानकारी दिए ।

यसअघिको मतदाता नामावलीमा कतिपय मतदाताको मृत्यु भएको, केहीले बसाइँसराइको निवेदन दिएको कारण नयाँ संरचनाअनुसारको ठेगाना उल्लेख गरेर मतदाता परिचय पत्र बनाइने उनले बताए ।नयाँ मतदाता परिचय पत्रमा मतदाताको फोटोसहितको नाम, जन्ममिति, जिल्ला, गाउँपालिकाको नाम, वडा, निर्वाचन केन्द्र, बारकोड, नागरिकता नम्बरसमेत उल्लेख गरिने अर्यालले जनकारी दिए ।

नयाँ मतदाता परिचय पत्रको प्रकाशनको काम २२ चैतबाट गर्ने तयारी आयोगले गरेको छ । आयोग केन्द्रीय कार्यालयमै विशेष सुरक्षाबीच नेपालकै एक निजी कम्पनीले मतदाता परिचय पत्र छपाइको काम गर्नेछ ।त्यसका लागि काम नलाग्ने वस्तुका रूपमा उत्पन्न हुने अनावश्यक कच्चा पदार्थको तत्कालै नष्ट गर्नेसमेत आयोगले बताएको छ ।आयोगमा हुने मतदाता परिचयपत्र छपाइ स्थलमा कडा सुरक्षा चेक जाँचपछि मात्रै आवश्यक व्यक्तिसमेत जान पाउनेछन् ।

आयोगले निर्वाचनका लागि परिचालित हुने २१ हजार मतदाता शिक्षा कार्यक्रममार्फत मतदाता परिचय पत्र मतदाताको हातसम्म पु-याउने लक्ष्य लिएको हो ।निर्वाचनका लागि प्रत्येक निर्वाचन केन्द्रमा एकजनाका दरले २१ हजार मतदान केन्द्रमा २१ हजार मतदाता शिक्षा कार्यकर्ता परिचालित हुने आयोगको भनाइ छ ।

२२ देखि २५ वैशाखसम्ममा आयोगले नयाँ परिचय पत्र मतदाताका हातमा पु-याउने लक्ष्य लिएको छ । हरेक मतदाताले आफ्नो मतदान केन्द्रमा पुगेर मात्र मतदाता परिचयपत्र लिन सक्नेछन् । निर्वाचन आयोगले मतदाता परिचयपत्र हेलिकोप्टर, हवाइजहाज र गाडीबाट ढुवानी गर्ने व्यवस्था मिलाएको छ । त्यसका लागि नेपाली सेनाको सहयोग लिने निर्वाचन आयोगले बताएको छ ।

मतदाता परिचयपत्र निर्वाचनका लागि संवेदनशील भएकाले नेपाली सेना र सशस्त्र प्रहरीको जिम्मा लगाउन लागेको हो । आयोगले सडकको पहुँच भएका मतदान केन्द्रमा पनि सुरक्षा निकाय, सरकारी कार्यालय र केही निजी सवारीसाधन भाडामा लिएर मतदाता परिचयपत्र ओसार्ने तयारी गरेको छ । सडकको पहुँच नभएका मतदान केन्द्रमा भने हेलिकोप्टरबाट परिचयपत्र पु-याइने आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।