0 COMMENTS

काठमाडौं ११ चैत०७३/ काठमाडौं । मखन गल्लीका व्यवसायी श्यामसुन्दर अग्रवाललाई अपहरण गरी फिरौती असुलिएको १५ दिन भएको थियो । तर, अपहरणमा संलग्न कसैलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । १५ दिनसम्मको प्रहरीको दुःख त्यत्तिकै खेर गएको थियो । त्यही क्रममा गत २० फागुनमा प्रहरीले अनुसन्धानमा प्रभाव पर्ने किसिमको खबर पाए । अपहरणमा संलग्न भनिएकी युवती राधिका श्रेष्ठको हत्या गरेर गाडिएको अवस्थामा शव भक्तपुरमा भेटियो । अपहरणकारीले नै आफूहरूबारेको सूचना लुकाउन श्रेष्ठको हत्या गरेको अनुमान लगाउन प्रहरीलाई गाह्रो भएन ।

श्रेष्ठको हत्या गर्ने व्यक्ति उनकै प्रेमी प्रकाश लामिछाने रहेको प्रहरीले बुधबार पत्ता लगायो । उनी हाल फरार छन् । अपहरण र हत्यामा संलग्न लामिछानेका दुई सहयोगीलाई भने प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । भक्तपुर बागेश्वरी बस्ने किशोर गिरी र सरोज घोरासैनेलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । उनीहरूले गत ५ फागुनमा व्यापारी अग्रवाललाई नाटकीय शैलीमा अपहरण गरी १० लाख ७० हजार रुपैयाँ फिरौती लिएर होटेलको कोठामा थुनेर भागेका थिए । ‘अपराध लुकाउन अपराधीहरूले कतिसम्म गर्न सक्छन् भन्ने कुरा यो घटनाले देखाएको छ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘जसलाई प्रयोग गरेर उनीहरूले अपहरण गरी फिरौती असुले, पछि उसैको हत्या गरे ।’ नयाँपत्रिकामा खबर छ ।

प्रेमिका लगाएर अपहरण
मखन गल्लीमा न्यु डालिज साडी र साडी संसारनामक पसल चलाउने अग्रवालकै पसलमा काम गर्थिन् राधिका । उनी सुन्दर थिइन् । उनको सुन्दरताबाट ६२ वर्षीय अग्रवाल पनि प्रभावित थिए । गत ५ फागुन दिउँसो करिब १ बजे राधिकाले अग्रवाललाई फोन गर्दै भेट्न बोलाइन् । त्यो दिन उनले पसलबाट बिदा लिएकी थिइन् । अग्रवाल गेस्टहाउसको ४०४ नम्बर कोठामा पुगे । राधिकाले उनलाई बियर पिउन प्रस्ताव गरिन् । तर, अग्रवालले बियर पिउने इच्छा देखाएनन् । जबर्जस्ती आफूलाई बियर खुवाइएको अग्रवालले बताएका छन् ।

त्यत्तिकैमा तीनजना युवा कोठामा प्रवेश गरेर अग्रवालको मुख थुने र हातखुट्टा बाँधे । ‘हामी सिआइबीबाट आएका प्रहरी हौँ, गेस्टहाउसमा आएर यस्तो गतिविधि गर्ने’ भन्दै धम्क्याए । हुन्डीको समेत कारोबार गर्ने सूचना पाएको भन्दै जेल हाल्ने धम्की दिए । जेल जानबाट जोगाउने भन्दै उनीहरूले पैसाको ‘डिल’ सुरु गरे । अग्रवाल तत्काल पैसा दिन तयार भए । तर, उनले ७० हजार रुपैया“ मात्र बोकेर गएका थिए । सो समूहले आफ्नै एक महिला प्रहरीलाई पसलमा पठाउने बताए । जो उनै राधिका थिइन् ।

पसलमा पुगेर राधिकाले अग्रवाललाई फोन गरिन् ‘सर के–के ल्याउनु भन्नुभएको हो ?’ पसलमा रहेका व्यक्तिलाई सामान्य आर्थिक कारोबारको भान दिन उनले त्यसरी फोन गरेकी थिइन् । पसलको काउन्टरमा रहेका व्यक्तिलाई अग्रवालले दुई लाख नगद र आठ लाखको चेक दिन निर्देशन दिए । सोहीअनुसार राधिका चेक बोेकेर आइन् ।

तर, आफ्नै नाममा चेक लिँदा पछि फसिन सक्ने उनलाई थाहा थियो । चेक साट्ने अन्य व्यक्तिलाई खोजिन् । दुईजना साथीलाई फोन गरिन् । उनीहरूले अस्वीकार गरे । पसलनजिकै बस्ने ओमप्रकाश देवलाई त्यसका लागि फकाइन् । उनी आफ्ना साथी छोटु यादवलाई लिएर आए । उनीहरू दुवै न्युरोडमै रहेको एस डेभलपमेन्ट बैंकको शाखामा गए । देव भारतीय नागरिक भएकाले उनको परिचयपत्र बैंकले नमानेपछि यादवको परिचयपत्रको प्रतिलिपि लिएर उनीहरूले आठ लाखको चेक साटे । युवती पैसा लिन बैंकमै पुगेकी थिइन् । पैसा लिएपछि गेस्टहाउसमा रहेका युवकहरू अग्रवालको मुखमा पट्टी लगाई हातखुट्टा बाँधेर बाहिरबाट चुकुल लगाई भागेका थिए ।

अग्रवालका छोरा बुबा बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी लिएर गए । अनुसन्धान सुरु गरेको केहीबेरमै अग्रवाल सनराइज गेस्टहाउसमा भेटिएको भन्दै प्रहरीले खबर पाएको थियो । त्यसवेला राप्रपाको महाधिवेशन चलिरहेको थियो । होटेलमा राप्रपा कार्यकर्ताको भीड थियो । होटेलको कोठाभित्र कसैले लगातार ढकढक गरेपछि उनीहरूले नै होटेलका कर्मचारीलाई भनी ढोका खोलेका थिए । उनी मुक्त भएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

बिग्रेको मोबाइलले जोडेको प्रेम
प्रकाश पहिलेदेखि नै उग्र स्वभाव भएका व्यक्ति हुन् । जसका कारण उनी परिवारमा पनि बस्दैन थिए । ‘केही गरोस्’ भनेर परिवारले उनका लागि वसन्तपुरनजिकै मोबाइलपसल खोलिदिएका थिए । राधिका पनि नजिकैको कपडापसलमा काम गर्दै आएकी थिइन् । हिँड्ने बाटो पर्ने भएकाले एक दिन राधिका आफ्नो मोबाइल बनाउन सोही पसलमा पुगेकी थिइन् । त्यही बिग्रिएको मोबाइलले दुईजनाको प्रेम–सम्बन्ध जोडियो ।

दुवैजना महत्वाकांक्षी थिए । टन्न पैसा कमाएर बिहे गर्ने प्रलोभन प्रकाशले उनलाई दिँदै आएका थिए । राधिकाले काम गर्ने पसलका मालिकसँग प्रशस्त पैसा भएको प्रकाशलाई थाहा थियो । उनीबाट पैसा झार्न प्रेमिकालाई नै प्रयोग गरी अपहरण गर्ने योजना प्रकाशले बनाए । राधिका पनि त्यसमा सहमत भइन् । प्रहरीका अनुसार माघको पहिलो साता उनीहरूले योजना बनाएका हुन् । योजनामा सहयोग गर्न प्रकाशले बागेश्वरीका तीन–चारजना साथीलाई प्रस्ताव गरेका थिए । ‘एकजना व्यापारी लुट्नुपर्छ र घुम्न जानुपर्छ’ भन्दै प्रस्ताव राखेका थिए । तर, उनीहरूले अस्वीकार गरे । लागुऔषधसमेत सेवन गर्ने किशोर गिरी भने त्यसका लागि तयार भए । सोहीअनुसार उनीहरूले योजना अघि बढाए ।

गत ४ फागुनमा राधिकाले सुन्धाराको होटेल होलिल्यान्ड बुक गरिन् । उनीहरूलाई दुईवटा कोठा चाहिएको थियो । अर्काे कोठा लिन होटेलले परिचयपत्र खोजेपछि उनीहरू सनराइज गेस्टहाउसमा बसेका हुन् । सो गेस्टहाउसले परिचयपत्रविनै कोठा बुक गरेको थियो । योजनाअनुसार नै युवतीले भेट्न बोलाएर अग्रवाललाई होटेलमा पु¥याएको प्रहरीले जनाएको छ ।

कल डिटेल नपाउँदा युवतीको मृत्यु ?
गत ५ फागुन साँझबाटै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । तर, प्रहरीले कल डिटेल भने भोलिपल्ट बेलुका मात्र प्रहरीले पायो । त्यो अवधिसम्म अपहरणकारीहरू सजिलै भाग्न सफल भए । यदि तत्काल कल डिटेल र लोकेसनसम्बन्धी विवरण पाएको भए युवतीको ज्यान जोगिन सक्ने प्रहरी अधिकारीहरू बताउँछन् । सर्वाेच्च अदालतले अदालतको आदेशमा मात्र कल डिटेल लिन पाउने आदेश दिएपछि प्रहरीले भोलिपल्ट अदालतबाट आदेश लिएर कल डिटेल झिकाएको थियो । समयमै कल डिटेल नपाउँदा अनुसन्धान प्रभावित भएको डिएसपी केसी बताउँछन् ।

घरभित्रै प्रेमिकाको हत्या
व्यापारी लुटेपछि किशोर गिरी र सरोज घोरासैने दुई–दुई लाख रुपैयाँ लिएर ट्याक्सी चढी भक्तपुर गए । प्रकाश राधिकासँग अर्काे ट्याक्सी चढेर बागेश्वरीस्थित आफ्नो घर पुगे । सो घरमा कोही बस्दैन थिए । बेलुका चारैजना घरमा जम्मा भएका थिए । पैसा हात पारे पनि प्रकाशमा पक्राउ पर्ने त्रास कायमै थियो । अग्रवालकै पसलमा काम गर्ने भएकाले सुुरुमा राधिकामाथि नै अनुसन्धान हुने र त्यसपछि आफू पनि फस्ने डर उनमा थियो । त्यही डरले उनले पैसाका लागि प्रेमिकाकै हत्या गरे आफूहरू जोगिने विश्लेषण गरे । सोहीअनुसार व्यापारी अग्रवाललाई हातखुट्टा बाँधेकै शैलीमा उनको पनि हातखुट्टा बाँधी मुखमा पट्टी लगाएपछि सलले घाँटी कसेर हत्या गरेका थिए । शवलाई बोरामा हालेर घरबाट करिब तीन सय मिटर टाढा रहेको मुहानपोखरीमा उनलाई गाडिएको अपराध महाशाखाका डिएसपी अजय केसीले बताए ।

हत्यापछि पक्राउ पर्ने डरले प्रकाश र किशोर भारत गए । सरोज भने काठमाडौंमै बस्दै आएका थिए । किशोर भारतबाट फर्र्र्कंदै गर्दा बुधबार साँझ विमानस्थलबाट पक्राउ परेका हुन् । सरोज मुख्य अभियुक्त प्रकाशकै मामाका छोरा हुन् । उनी प्रकाशकै परिवारसँग बस्दै आएका थिए । गत २० फागुनमा मात्र युवतीको शव स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि उनको हत्या भएको खुलेको थियो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राधिकाका आमा तथा आफन्तहरूले रुदै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।