0 COMMENTS

काठमाण्डाै ९  चैत्र २०७३/ निर्वाचन आयोगले हातहतियारको सूची उपलब्ध गराउन गृह मन्त्रालयालई पत्राचार गरेको छ ।

आयोगले संकलन भएका हातहतियारको जिल्लागत विवरण चैत ११ भित्र आयोगमा उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । चैत ८ गतेसम्ममा नियन्त्रणमा लिइएका अवैध हातहतियारको सूची उपलब्ध गराउन पनि निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । आयोगले यसअघि कानूनबमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेको हातहतियार निर्वाचन अवधिभर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको मातहतमा राख्ने व्यवस्थाका लागि निर्देशन दिएको थियो ।

निर्वाचन आयोगले २०७४ साल वैशाख ३१ गतेका लागि घोषित स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि तालिम, गोष्ठी, सेमिनार, अवलोकनका लागि हुने वैदेशिक भ्रमण कार्यक्रम स्थगित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पुन: निर्देशन दिएको छ । आयोगले फागुन २८ गते मुख्यसचिव सोमलाल सुवेदीसमेतको उपस्थितिमा बसेको बैठकबाट पनि घोषित स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्मका लागि तालिम, गोष्ठी, सेमिनार, अवलोकन भ्रमण प्रयोजनार्थ हुने वैदेशिक भ्रमण कार्यक्रम स्थगित गर्न निर्देशन दिएको थियो ।

आयोगले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आगामी बैशाखको पहिलो साताबाट निर्वाचन अधिकृतको कार्यालय खुल्ने भएकाले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न आवश्यक व्यवस्थापन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसैबीच निर्वाचन आयोले फागुन १८ मा निर्वाचन आचार संहिता लागू भएपछि आचारसंहिता समितिमा परेको उजुरी तथा निवेदनहरुमध्ये समितिले हालसम्म सहमतिका लागि माग भएका ३२२ निवेदनमा छानबिन गरी १९३ वटा निवेदनलाई सहमति प्रदान गरेको जनाएको छ । यसैगरी, आयोगले १२९ वटा निवेदनलाई सहमति नदिने निर्णय गरेको छ । प्राप्त निवेदनमध्ये ९२ वटालाई त्यस विषयमा थप खुलाई लेखी पठाउन र ६ वटा निवेदनलाई तामेलीमा राख्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।