0 COMMENTS

काठमाडौं, ९ चैत०७३ / सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा हरेक दिन करिब पाँच सयजना उत्तीर्ण हुने गर्छन् । तर, स्मार्ट लाइसेन्स भने दिनमा सयवटा मात्र छापिने गरेको छ । जसले गर्दा ट्रायल उत्तीर्ण गरेकाले लाइसेन्स प्राप्त गर्न दुई महिनाभन्दा बढी कुर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

स्मार्ट लाइसेन्स छाप्ने कम्पनी मद्रास प्रिन्टर्सको बदमासीले गर्दा यस्तो अवस्था आएको हो । स्मार्ट लाइसेन्स छाप्ने दुईवटा प्रिन्टर मेसिन बिग्रिएको छ । तर, मद्रास प्रिन्टर्सले बनाउन चासो नदि“दा सेवाग्राहीले दुःख पाएका पाउँदै आएका छन् । यातायात व्यवस्था विभागका अनुसार हरेक दिन करिब आठ सयजनाले मोटरसाइकल लाइसेन्सका लागि आवेदन दिने गरेका छन् । त्यसमध्ये करिब पाँच सय उत्तीर्ण हुन्छन् । तर, दिनमा सयवटा मात्र स्मार्ट लाइसेन्स प्रिन्ट हु“दा सेवाग्राही मर्कामा परेका हुन् ।

कम्पनीको प्रिन्टर बिग्रँदा थोरै मात्र कार्ड छपाइ हुने गरेको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । विगतमा ट्रायल पास गरेको एक–दुई दिनमै सर्वसाधारणले लाइसेन्स पाउने गरेका थिए । कम्पनीले भारतबाट कार्ड ल्याएर नेपालमा मेसिन राखेर कार्ड छाप्ने गरेको छ । दुईवटा प्रिन्टर बिग्रिएको लामो समय हुँदा पनि कम्पनीले मर्मतका लागि चासो देखाएको छैन ।

चाबहिल र जगातीबाट लाइसेन्स वितरण
स्वयम्भू ठुलोभर्या‍ङपछि चाबहिल र जगातीस्थित यातायात सेवा कार्यालयबाट पनि लाइसेन्सको लिखित परीक्षा तथा ट्रायल सुरु भएको छ । ललितपुरको एकान्तकुनामा लाइसेन्सका लागि हुने भीड कम गरी सेवाग्राहीलाई सहज सेवा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा तीनवटा यातायात कार्यालय स्थापना गरिएको हो ।

तीनैवटा कार्यालयले लाइसेन्स वितरणको काम सुरु गरेपछि एकान्तकुना कार्यालयमा भीड कम भएको छ । यद्यपि, सबैभन्दा धेरै भीड भने एकान्तकुना कार्यालयमै हुने गरेको छ । दैनिक आउने करिब आठ सय आवेदनमध्ये करिब पाँच सय एकान्तकुनामा दर्ता हुने गरेको छ । अन्य कार्यालयमा दैनिक करिब एक–एक सय आवेदन पर्ने प्रवक्ता डा. पाण्डेले बताए ।

कम्पनीले सुधार्यो‍ लाइसेन्सको त्रुटि
स्मार्ट लाइसेन्समा भएका त्रुटिहरूलाई कम्पनीले सुधार गरेको छ । यसअघि सबै लाइसेन्सलाई गैरव्यावसायिक लाइसेन्स भनेर वितरण गरिएको थियो । जसबाट चालकका रूपमा विदेश जाने सर्वसाधारणले दुःख पाउँदै आएका थिए ।

त्यस्तै, लाइसेन्समा वर्ग मात्र उल्लेख गरी विवरण उल्लेख नगरिएकोमा त्यसलाई पनि सुधारिएको छ । अब लाइसेन्सको पछाडिको पानामा सबै वर्ग उल्लेख गरी लाइसेन्सको वर्ग स्पष्ट पारिएको छ । त्यस्तै पहिलेभन्दा आकर्षक डिजाइन, फोटो प्रस्ट र कार्डमा रहेको चिप पनि बलियोसँग लेमिनेट गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । नँया पत्रिकामा खबर छ ।

सुधारिएको डिजाइन केही दिनपछि कार्यान्वयनमा ल्याइने उनले बताए । स्मार्ट लाइसेन्स गुणस्तरहीन भएको र धेरैवटा त्रुटि भएपछि विभागको आलोचना हुँदै आएको थियो । हालसम्म एक लाख ६० हजारले स्मार्ट लाइसेन्स लिइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।