0 COMMENTS

काठमाडौँं, ९ चैत०७३/ काठमाडाैं उपत्यकामै प्रख्यात मानिने भक्तपुरको बिस्केट जात्राको तयारी सुरू गरिएको छ ।
गुठी संस्थानको शाखा कार्यालय सूर्यविनायक भक्तपुरले जात्राका लागि मुख्य आकर्षणको रूपमा रहेको लिङ्गो उठाउने कामका लागि आवश्यक लिङ्गो जात्रा स्थल भेलुखेल ल्याइपुर्याएको छ भने रथ निर्माण पनि थालेको छ । भक्तपुर, टौमढीस्थित प्रसिद्ध पाँचतले मन्दिर छेउ भैरवनाथको रथ निर्माण सुरु गरिएको हो ।बर्षेनि जात्राका लागि भैरवनाथको रथ टौमढीमै निर्माण गरिन्छ । करिब ३० फिट अग्लो प्यागोडा शैलीको तीनतले रथ बनाइन्छ । रथ निर्माणमा करिब आधा दर्जन कर्मचारी खटिन थालेका संस्थानले जनाइएको छ ।
गुठी संस्थानको सूर्यविनायकस्थित कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जात्राका लागि रथ निर्माणका साथै आवश्यक अन्य कार्य थालिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार रथ तान्न आवश्यक सामग्री जुटाउन सुरु भएको छ । साथै जात्रा क्रममा विभिन्न कामका लागि गुठीयार तथा रकमीलाई आवश्यक रकम वितरण पनि गर्न थालिएको छ ।भक्तपुरमा बर्षेनि बिस्केट जात्रा ८ रात ९ दिन चल्छ । नयाँ वर्ष वैशाख १ सुरु हुनुभन्दा ५ दिनअघि अर्थात् चैत २७ बाट जात्रा सुरु भई वैशाख ५ मा समाप्त हुन्छ ।जात्राको मुख्य आकर्षण भैरवनाथको रथ जात्रा हो । जात्राको पहिलो दिन चैत २७ मा टौमढीस्थित भैरवनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते तौमढीमै पुर्याएर सकिन्छ ।
भक्तपुरको केन्द्र मानिने तौमढीबाट माथिल्लो र तल्लो टोल २ पक्षबीच रथ तानातान हुन्छ । करिब १० फिट अग्ला ४ वटा काठेपांग्रा सहित बनेको अग्लो रथको दुवैतिर ४र४ वटा मोटामोटा लामो डोरी राखेर तानातान गरिन्छ ।

जात्राको अर्को विशेष आकर्षण करिब ५२ हात लामो लिंगो ठड्याइनु हो । प्रत्येक वर्ष अन्तिम दिन अर्थात् चैत मसान्त साँझ भक्तपुर नगरपालिका वडा नं ११ भेलुखेलमा हजारौं जात्रालुको सहभागितामा लिंगो उभ्याउने गरिन्छ । लिंगो ठड्याइएको अर्को दिन वैशाख संक्रान्तिमा हर्षोल्लाससहित ढाल्ने परम्परा छ । चैत मसान्तमा ठड्याइने र वैशाख संक्रान्तिमा ढालिने भएकाले लिंगो एक वर्ष ठडिएको मानिन्छ। साथै जात्रा क्रममा भक्तपुरको पोटरी स्क्वायरमा पनि हात नभएको लिंगो ठड्याइन्छ । जात्राको पहिलो दिन बिहान त्यहाँ ठड्याइएको लिंगो जात्राको अन्तिम दिन अर्थात् वैशाख ५ गते ढालिन्छ । यस क्रममा भक्तपुर, थिमिमा वैशाख २ मा जिब्रो छेड्ने जात्रा हुन्छ ।
इतिहासविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा १ हजार ५ सय वर्षअगाडि लिच्छविकालदेखि चलिआएको इतिहास छ ।
६ सय वर्षअघि मध्यकालमा यक्ष मल्लको पालामा पनि विश्व जात्राको नाममा बिस्केट जात्रा चल्दै आएको इतिहासविद श्रेष्ठले जानकारी दिदै भन्नुभयो, मल्लकालको अन्त्यमा यो जात्रा ८ रात ९ दिन चल्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।