पृथ्वीनारायण शाह,
तिष्ठा र कांगडा हुदै,
घुम्दै यतै कतै आएछन् ।
गोरखा दरवारमा वास वसि,
नुवाकोटमा खाजा खादै ,
सिहदरवार अगाडि वसेर,
सारङ्गीको सुरिलो स्वरमा ,
लय मिलाउदै,
कस्तो अचम्म !
अनौठो विरही गीत गाएछन ।
गीतकै लयमा उनी भन्दै थिए,
मैले वनाइ दिएको त्यो घरमा,
त्यहाँ भित्र सधै हास्दै रमाउने,
त्यो सार्बभौम वालक,
तिमीले चालै नपाई,
लाग्छ,
अरूले नै कतै मारेछ ।
त्यसैले त होला,
मैले तिम्रो लागि वनाएको,
पुरानो घर,
अव तिमी लाइ पनि मन पर्न छाडेछ ।
खोइ कस्तो कुरा नवुझेको तिमीले,
त्यस बेला जे उपलब्ध थियो,
त्यही चिज दुख साथ जोडेर,
मैले तिम्रो घर वनाए,
कालु पाण्डे, भक्ति थापा,
अनि वहादुर शाह,
सवै लाइ गुहारेर,
बाइसे चौविसे नामका,
सवै सर्दाम जुटाए,
अनि पुरेत, धामी सवैको सल्लाहमा,
तिम्रो न्वारान जुराए ।
अनि त्यसै दिन त हो नि,
तिम्रो नाम पनि जुराए ।
तर सुन्दैछु,
आज भोली,
तिम्रो अस्तित्वको यात्रामा,
तिम्रो पहिलो,
गर्भाधान कृयामा संलग्न,
म तिम्रो आफ्नै वावु ,
साच्चै वलात्कारी भए रे ।
तिमी जन्मनु भन्दा अगाडि नै,
तिमी लाई जन्माउने कृयामा संलग्न मैले,
तिमी विरुद्ध जघन्य अपराध गरे रे ।
त्यसैले होला, आज भोली
तिमी म संग साच्चै रिसाए छौ ।
मैले पिउने गरेको,
स्वच्छ, स्वस्थ र निस्कलंक ,
अनि,
स्वदेशी हिमाली पानीमा,
चालै नपाई,
छिमेकीले उपहारमा दिएको,
षडयन्त्रको सोमरस पो मिसाएछौ ।
दुख लाग्छ,
भुकम्पले चर्काउन नसकेको,
अनि,
नाकाबन्दीले थर्काउन नसकेको,
वर्षौ पुरानो,
स्वतन्त्रताको त्यो वलियो घर,
भन त मेरो रिसले,
तिमी आफैले कसरी चर्कायौ ?
त्यति वलियो घरको जग,
के का लागि किन मर्कायौ ?
म संग साच्चै रिसाएकै हौ भने,
भत्काई देउ सवै मेरा शालीक हरु,
क कसलाइ के के गरेर हुन्छ ,
खुसी पार सवै तिम्रा मालिक हरू ।
तर विन्ती छ,
नभत्काउ आस्थाका साझा नेपाली घरहरू ।
वरु फैलाउ ,
चेतनाका नया नेपाली शहरहरू ।
उनी भन्दै थिए,
मेरा साना दुखले अर्ज्याको
तिम्रो नासोको आत्म कहानी भित्र,
मेरो अस्तित्वको अवशान गराउदा,
तिम्रो अनुहारमा छचल्किने,
कृतिम आत्मरतीले ,
परम सत्यको चैतन्य लाइ गिज्याउदा,
मैले सुम्पेको ,
तिम्रो देशको टुहुरो आत्म सम्मान,
रुदै हिडेको मैले देखि सके ।
तिमीले जति सुकै फलाके पनि,
खोक्रो राष्ट्रियता भित्र,
अन्धो राष्ट्रवादले डामेको,
डर लाग्दो साडेले ,
मच्चाएको अन्तहिन पिडा पनि,
तिम्रै दाजु भाइले,
अव धेरै भोगी सके ।
खवर्दार !
अनि होसियार !
पस्लान शत्रु घर भित्र,
तिम्रो लुर ,
वरि परी छिमेकी सवैले जोखि सके ।
यति भन्दै,
पृथ्वीनारायण,
अस्ति नै फेरि,
सारङ्गी रेट्दै ,
उतै कतै फर्कि सके ।
अस्तु
=====
लेखक- बाग्मती बाेडीङ स्कुलका फाउण्डर हुनुहुन्छ ।।