0 COMMENTS

 मोरङ ६ चैत०७३/ मोरङको मझारे ९ तारेगामास्थित नेपाल–भारत सिमानाको दसगजा क्षेत्र मिचेर भारतीय पक्षले धमाधम सडक निर्माण गरिरहेको छ । नेपालको मझारेस्थित तारेगामा र भारतको अररियास्थित सुनामनी गुदामको सिमानामा सडक बनिरहेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

दुईदेशीय सिमाना छुट्ट्याउने दसगजा क्षेत्रभित्र रहेको जंगे पिलरकै छेउबाट लगभग १२ फिट चौडाइको सडक निर्माण भइरहेको छ । ट्र्याक खोल्ने काम सकेर डेढ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । सडक कालोपत्रेमा दर्जनौं भारतीय मजदुर परिचालित छन् ।

सडकको उचाइका कारण बर्खाको समयमा नेपाली भूभाग डुबानमा पर्ने खतरा पनि बढेको छ । सडक निर्माणका नाममा दसगजासँगै केही नेपाली भूमिसमेत अतिक्रमण गरिएको गुनासो स्थानीयको छ ।

दसगजामा कुनै पनि भौतिक संरचना निर्माण गर्न र बस्ती बसाउन नपाइने नियम उल्लंघन गर्दै भारतीय पक्षले एकलौटी रूपमा पक्की सडक निर्माण गरे पनि नेपालस्थित प्रशासनिक निकायले त्यसलाई रोक्न प्रभावकारी कदम चाल्न नसकेको गुनासो स्थानीय बासिन्दाको छ ।

‘दुईदेशीय सिमानामा सडक निर्माण गर्नु कूटनीतिक मर्यादाविपरीत होु, एक स्थानीयले भने, ‘यस विषयमा पटकपटक जानकारी गराउँदा पनि नेपालस्थित प्रशासनिक निकायको पहल प्रभावकारी बनेन ।’

‘भारतीयले सीमा क्षेत्रमा अत्याचार नै गरे । उनीहरूको हेपाहा प्रवृत्तिको सिकार सीमावर्ती क्षेत्रका बासिन्दाले हुनु परिरहेको छ’, उनले भने, ‘स्थानीयले सडक निर्माण नगर्न आग्रह गर्दा भारतीय प्रतिकारमा उत्रन्छन् ।’

सडक निर्माणको विरोध गरेमा भारतीय प्रतिकारमा उत्रने र उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पनि सहयोग गर्ने भएकाले स्थानीय स्तरमा नेपाली सर्वसाधारण त्यसको विरोधमा उत्रन सक्ने अवस्था नरहेको ती स्थानीयले बताए ।

भारत अररियाको सुनामनी गुदाम गाउँ पञ्चायतका मुखिया अजय मण्डलले सडक निर्माणका लागि रकम निकासा गर्न सहयोग गरेका थिए ।

भारतीय जनता पार्टीका तर्फबाट चुनाव जितेर मुखिया बनेपछि उनले आफ्ना मतदातालाई खुसी पार्न दसगजा र नेपाली भूमि अतिक्रमण हुने गरी सुनामनी गुदाम गाउँ पञ्चायतबाट सडक निर्माणका लागि रकम निकासा गरिदिएको स्थानीय बासिन्दाको भनाइ छ । उनका दाजु विजय मण्डल सोही पार्टीका विधायक हुन् ।

गाउँ पञ्चायतबाट निकासा भएको भारतीय २० लाख रुपैयाँले काम भइरहेको र अपुग रकम निकासाका लागि अजयले पहल गरिरहेको बताइएको छ । यस विषयमा समाचार संकलन गर्न र फोटो खिच्न पुग्दा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले अवरोध प्रयास गरेको थियो ।

सडक निर्माणको विषयलाई लिएर एक महिनाअघि भारतीय र नेपाली अधिकारीबीच छलफल भएको थियो । त्यसक्रममा दुवै देशका अधिकारीबीच दसगजा क्षेत्रमा सडक निर्माण नगर्ने सहमति भए पनि सहमतिविपरीत भारतीय पक्षले कामलाई निरन्तरता दिइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।