0 COMMENTS

काठमाडौं ५चैत०७३  /टेलिकम कम्पनीका सेवाप्रदायकले कुरा नगरेको समयको पनि पैसा तिर्नु परेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले मोबाईलको पल्स अवधि घटाएको छ । यसका लागि प्राधिकरणले आगामी वर्षको बैशाख १ गते (नयाँ वर्ष) देखि लागू हुनेगरि पल्स अवधि घटाउन सबै सेवा प्रदायक टेलिकम कम्पनीहरुलाई परिपत्र गरिसकेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताएका छन् ।

प्राधिकरणले निर्धारण गरेको पल्स सम्बन्धि नयाँ नियम अनुसार मोबाइल प्रयोगकर्ताहरुको लागि अव प्रति १० सेकेण्ड बराबरको अवधि कायम हुने छ । हाल २० सेकेण्ड बराबरको पल्स अवधि रहेको छ । मोबाईल सेवा प्रयोग गरिरहेका ग्राहकहरुले एक सेकेण्ड देखि २० सेकेण्डसम्म कुरा गरेको एक पल्स अवधिका रुपमा पैसा तिर्नु परिरहेको छ । ग्राहकले २१ सेकेण्ड कुरा गरेर फोन राखेमा ४० सेकेण्डसम्म कुरा गरेको बराबर टेलिकमलाई पैसा बुझाउनुपर्दथ्यो ।

प्राधिकरणले निर्धारण गरेको नयाँ पल्स नियमले १० सेकेण्डसम्मको पल्स अवधि तोकेको छ । यसले टेलिकमका ग्राहकहरुलाई फाइदा पुग्ने छ । पल्स अवधि जति धेरै भयो ग्राहकलाई टेलिफोनमा लाग्ने महशुल पनि बढि लाग्छ भने पल्स अवधि कम हुंदा महशुल दर कम पर्दछ । दूरसञ्चार अन्तर्गत रहेका सबै सेवा प्रदायकहरुलाई पल्सको अवधि घटाउन परिपत्रमार्फत निर्देशन दिइसकेकोले बैशाख १ पछाडी ग्राहकलाई अहिले तिरिहेको भन्दा महशुल दर कम पर्ने प्रवक्ता अर्यालले बताएका छन् ।

प्राधिकरणको हालै बसेको बैठकले दुई चरणमा लागू हुने गरि पल्स अवधि निर्धारण गरेको हो । पहिलो चरणमा बैशाखमा र दोस्रो चरणमा त्यसको ६ महीना पछाडीबाट लागू हुने गरि पल्स अवधि कार्यान्वयनमा आउने बताइएको छ । पहिलो चरणमा टेलिकमको ल्याण्डलाईन फोन (पिएसटिएन)मा ६० सेकेण्ड, सबै कम्पनीका मोबाइल फोनमा १० सेकेण्ड र अन्तरराष्ट्रिय मोबाइलमा ३० सेकेण्डको पल्स अवधि कायम गरिएको छ । पहिलो चरण कार्यान्वयनमा आएको ६ महीना पछि दोस्रो चरणमा पिएसटिएनमा ६० सेकेण्ड, सबै कम्पनीका मोबाईल फोनमा प्रति सेकेण्ड(जति सेकेण्ड कुरा गर्यो त्यतिको मात्र शुल्क)को पल्स अवधि र अन्तरराष्ट्रिय मोबाइलमा १० सेकेण्ड बराबरको पल्स अवधि निर्धारण गरिएको प्राधिकरणको भनाइ छ ।

पल्स अवधि पूर्ण कार्यान्वयनमा आएपछि सबै टेलिकम कम्पनीका ग्राहकले आफूले फोनमा कुरा गरेको समयको मात्र पैसा तिरे पुग्छ । भिन्ना भिन्नै टेलिकम कम्पनीको प्रति मिनेट कल शुल्क भने फरक फरक रहेको छ । पल्स अवधि घटेपनि प्रति मिनेट फोनमा कुरा गर्दाको शुल्क भने कम्पनीले निर्धारण गरे अनुसार नै लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।