काठमाडाै २९फागुन०७३/ यातायात व्यवस्था कार्यालय एकान्त कुनाले चैत १ गतेदेखि लाइसेन्सको लिखित फारम नलिने भएको छ ।
कार्यालयले मंगलबारदेखि लिखित फारम विस्थापित गरेर अनलाईन फारम मात्र बुझ्ने तयारी गरेको जनाएको छ । कार्यालयका अनुसार अनलाईन फारम भर्न नजान्नेले नागरिकताको फोटोकपि लिएर कार्यालय जान सक्नेछन् ।उनीहरुको लागि भने कार्यालयकै कर्मचारीले अनलाइन फारम भरिदिने व्यवस्था गर्न लागिएको छ । मंगलबारदेखि लिखित फारम एउटा पनि नबुझ्ने भएपछी फारम छापेर बिक्री गर्दै आएको ललिपुर उपमहानगरपालिकालाई फारम नछाप्न कार्यालयले निर्देशन दिएको छ ।
यातायात व्यवस्था विभागको वेबसाइट www.dotm.gov.np मा गएर लाइसेन्सको लागि फारम भर्न सकिनेछ । फारम भरेको भोलिपल्ट नागरिकतासहित कार्यालय गएर लिखित परीक्षाको प्रक्रिया सुरु गर्न सकिने कार्यालयले जनाएको छ । कार्यालयले अहिले लिखित र अनलाईन गरी नयाँ लाइसेन्सको लागि दैनिक पाँच सय जनाको फारम बुझ्ने गरेको छ ।