0 COMMENTS

धनगढी,२९ फागुन ०७३/ मातृभूमि जोगाउने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाउनुभएका गोविन्द गौतमको (आज) आइतबार राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ ।
मृतकका परिवारले शनिबार शव बुझ्ने सहमति जनाएपछि आइतबार अन्त्येष्टि गरिने निश्चित भएको हो । सेती अञ्चल अस्पतालमा राखिएको उहाँको शवलाई आइतबार बिहान उठाउने र धनगढी, ठोकेबजार, पुनर्वास, आनन्द बजारमा शवयात्रा गरी कञ्चनपुरको पुनर्वास नजिक रहेको दोदा नदी किनारमा राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिने सहमति भएको मृतकका आफन्त खडानन्द गौतमले जानकारी दिनुभयो । अन्त्येष्टिको क्रममा नेपाल प्रहरीले ११ तोपको सलामी दिने जनाइएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–८ स्थित आनन्द बजार नजिक कल्भर्ट बनाइएको विवादमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर सोही ठाउँ निवासी गौतमको गत बिहीबार मृत्यु भएको हो । भारतीयले नेपाली भूमिमा ज्यादती गरेको र नेपाल सरकारले सुरक्षा दिन नसकेको विरोधमा मृतकका आफन्तले तीन दिनदेखि शव उठाउन मानेका थिएनन् ।
मृतक गौतमलाई मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरी आफन्तलाई क्षतिपूर्ति दिने तथा उहाँको बालबच्चाको भरणपोषणसहित शैक्षिक खर्च नेपाल सरकारले बेहोर्ने निर्णय गरेपछि शनिबार आफन्तले शव बुझ्ने सहमति जनाएका हुन् । मृतक गोविन्दका तीन जना छोरी छन् । मृतक गौतमका बुवा खेमलाल, श्रीमती लक्ष्मी र आमा हरिदेवी गौतमले शव बुझ्ने सहमति जनाएपछि शनिबार सेती अञ्चलमा शवको पोस्टमार्टम भएको छ ।
यसअघि, शनिवार नै अन्त्येष्टि गर्ने भनिए पनि पोस्टमार्टम गर्न नै ढिलो भएकाले आइतवार मात्रै अन्तिम संस्कार हुन लागेको हो । सेती अञ्चल अस्पताल परिसरमा सयांैको सङ्ख्यामा स्थानीय उपस्थित भई ‘वीर शहीद गोविन्द गौतम अमर रहून्’ भन्ने नारा लगाएका थिए । अस्पताल परिसर र आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अस्पतालमा मृतकका आफन्तलाई भेट्दै पूर्वमन्त्री लेखराज भट्टले सरकारले दोषीमाथि कारबाहीका लागि कूटनीतिक पहल थालेको बताउनुभयो । उहाँले गौतमको सम्झनामा आनन्द बजारको नाम गोविन्द बजार राखिने तयारी भइरहेको र दुई देशीय सीमा निर्धारणका लागि उच्चस्तरीय टोली पनि आइपुगेको जानकारी दिनुभयो तर स्थानीयवासीले भने क्षतिपूर्ति रकमप्रति असहमति जनाएका छन् ।
उनीहरूले विभिन्न क्षेत्रमा आन्दोलन गर्ने क्रममा ज्यान गुमाएका व्यक्ति र मुलुकको भूमि जोगाउने क्रममा ज्यान गुमाउने व्यक्तिको क्षतिपूर्ति रकम एउटै हुन नहुनेमा जोड दिएका छन् । सरकारले तत्काललाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ तर गौतमको परिवारलाई कम्तीमा पनि ५० लाख रुपियाँ सरकारले दिनुपर्ने स्थानीयको माग छ । यसैबीच, शनिबार पनि घटना भएको आनन्द बजारसहित धनगढी नजिकको गौरीफन्टा नाकामा प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका कारण आनन्द बजारमा बिहानैदेखि तनाव भएपछि स्थानीय प्रशासनले पुनर्वास नगरपालिकासहित आसपासमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
विरोध प्रदर्शन जारी रहेकाले स्थितिलाई नियन्त्रणमा लिन अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।