0 COMMENTS

काठमाडौं२७ फागुन०७३/ बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्दबजार नजिक भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मृत्यु भएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरेको छ ।

साथै गौतमका बालबालिकालाई उच्च शिक्षा प्रदान गर्ने जिम्मा पनि सरकारले लिएको छ । मृतक गौतमका परिवारलाई क्षतिपूर्ति स्वरुप सरकारले १० लाख रुपैयाँ पनि प्रदान गर्ने छ ।

बिहीबार बसेको संसद्को बैठकमा कञ्चनपुर र सप्तरी घटनाका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री निधिले सहिद घोषणाका साथै १० लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने, गौतमको अन्त्येष्टि सम्मानपूर्वक गरिने र सन्ततिको निःशुल्क पठनपाठन गराइदिने निर्णय भएको जानकारी दिएका हुन् ।

भारतसँग जोडिएको कञ्चनपुर जिल्लाको दक्षिणी सीमाना नजिक आनन्दबजारमा कल्भर्ट निर्माण सम्बन्धमा नेपाल र भारतका सीमा अधिकारीबीच यही फागुन १० गतेको सहमति भएको थियो । तर, उक्त सहमति विपरीत भारतीय पक्षले कल्भर्ट भत्काएपछि उत्पन्न विवादमा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट निर्दोष गोविन्द गौतमको उपचारका क्रममा दुःखद् निधन भएको मन्त्री निधिले संसदलाई अवगत गराए । उनले उक्त अकल्पनीय घटनाबारे गृह र परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी धारणा स्पष्ट पारिसकेको जानकारी दिँदै भारतीय पक्षबाट गोली प्रहार हुनु निन्दनीय भएको बताए ।

साथै निधिले प्रधानमन्त्री प्रचण्डलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट कञ्चनपुर गोली काण्डप्रति दुख व्यक्त गरिएको पनि बताए । भारतीय प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोबलले टेलिफोन गरी यस्तो सन्देश दिएको निधिले संसदलाई अवगत गराए । ‘प्रधानमन्त्री मोदीका तर्फबाट मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको र शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ,’ संसदमा जवाफ दिँदै निधिले भने ।सोही विषयमा प्रधानमन्त्री प्रचण्डको निर्देशनमा आफूले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन गरी घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेको पनि निधिले संसदलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।