फागुन २७, काठमाडौं ०७३/ नेपाल टेलिकमले होली पर्वका अवसरमा आफ्ना उपभोक्ताहरुलाई विभिन्न किसिमका सेवाहरुमा छूट अफर ल्याएको छ । चाडपर्व अफर अन्तरगत कम्पनीले जिसएम/सिडीएमए पोष्टपेड तथा प्रिपेडका सेवाग्राहीलाई रिचार्ज कार्डमा डेटा बोनस, यूट्युब् डेटा प्याक र एसएमएस प्याक अफर उपलब्ध गराएको हो ।
रिचार्ज कार्डमा डेटा बोनस अन्तरगत रू. २ सयको रिचार्ज कार्डमा २ सय एमबी डेटा, रू. ५ सयको रिचार्ज कार्डमा ५ सय एमबी डेटा र रू. १ हजारको रिचार्ज कार्डमा १ हजार एमबी डेटा दुई दिनसम्म बोनस अवधि रहने गरी राती १०ः०० बजे देखि बिहान ६ः०० बजेसम्म उपभोग गर्न पाइने कम्पनीले बताएको छ । उक्त अफरको अवधि फागुन २९ गतेदेखि चैत ३ गतेसम्म हुनेछ । यो अफर अन्तरगतको डेटा बोनस रिचार्ज गरेपश्चात् स्वतः प्राप्त हुनेछ । त्यसैगरी, यूट्युब् डेटा प्याक अन्तरगत १ जिबी यूट्युब् डेटा प्याक १ सय रुपैयाँमा २ दिनसम्म र ५ सय एमबी यूट्युब् डेटा प्याक ६० रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाइने छ ।
यो अफरको अवधि भने फागुन २९ गतेदेखि चैत १३ गतेसम्म उपलब्ध हुनेछ । यो अफर लिनका लागि U1GB या U500MB टाइप गरी १४१५मा SMS गर्नुपर्ने छ ।एसएमएस प्याक अन्तरगत १ सय ओटा एसएमएस १० रुपैयाँमा (नेपाल टेलिकमको नेटवर्क भित्र मात्र) ३ दिनसम्म उपभोग गर्न पाइने छ । यो अफर फागुन २९ गतेदेखि चैत ३ गतेसम्म लागू हुने कम्पनीले बताएको छ । यो सेवा लिनका लागि SMS100 टाइप गरी १४१५मा SMS गर्नुपर्नेछ ।