0 COMMENTS

आनन्दबजार (कञ्चनपुर), २७ फागुन/ भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट एक नेपालीको ज्यान गएको छ । बिहीबार मध्याह्न साढे १२ बजेतिर एसएसबीले सामान्य विवादमा नेपाली भूमिमा प्रवेश गरी गोली चलाउँदा पुनर्वास नगरपालिका–८, माछापुच्छेटोलका ३० वर्षीय गोबिन्द गौतमको मृत्यु भएको हो ।

पेटमा गोली लागी गम्भीर घाइते भएका गौतमलाई उपचारका लागि धनगढीस्थित सीपी अस्पताल ल्याउने क्रममा बीच बाटामै मृत्यु भएको गौतमका छिमेकी तारा खड्काले बताए । अस्पताल पु-याएका गौतमलाई चिकित्सकले मृत घोषित गरेका थिए । राजधानी दैनिकले समाचार छापेको छ ।

गौतमको शव सीपी अस्पतालमै राखिएको छ । शव पोस्टपार्टमका लागि प्रहरीले धनगढीस्थित सेती अञ्चल अस्पतालमा लैजाने प्रयास गरिरहेको भए पनि स्थानीयले उचित क्षतिपूर्ति दिनुपर्ने र शहीद घोषणा गरिनुपर्ने माग राखी शव उठाउन दिएका छैनन् ।

वैदेशिक रोजगारीका सिलसिलामा साउदीमा रहेका गौतम ६ महिनाअघि मात्र नेपाल आएका थिए । गौतमका तीन छोरी र एक श्रीमती रहेका छन् ।

जंगेपिलरसमेत हराइसकेको सो क्षेत्रमा खोलामाथि कच्ची कल्भर्ट निर्माण गर्ने सहमति केही समयअघि नेपाली र भारतीय अधिकारीहरूबीच भएको थियो ।

सोही सहमतिअनुसार पुनर्वास नगरपालिकाले बुधबारदेखि कल्भर्ट बनाउन थालेकामा भारतीय एसएसबीले भत्काएपछि विवाद भएको हो ।

कल्भर्ट भत्काएको विरोधमा प्रदर्शन गर्न पुगेका नेपालीहरूमाथि भारतीय प्रहरीले गोली हानेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब निरीक्षक नैनसिंह कार्कीले बताए ।

नेपाल–भारत सीमाअन्तर्गत पुनर्वास नगरपालिकाको आनन्दबजारस्थित २०० नम्बर सीमा स्तम्भनजिकको कारगिलडाँडा नजिककको खोलामा नेपाली पक्षले पानी निकासाका लागि कल्भर्ट निर्माण गर्न खोज्दा एसएसबीले सो ठाउँ गुगल म्यापमा भारततिर देखाएको भन्दै विगत डेढ महिनादेखि अवरोध गर्दै आएको थियो ।

बुधबार साँझ एसएसबीका जवानहरू कल्भर्ट निर्माणको विषयमा नेपाल प्रवेश गरी नेपालीको घरघरमा गएर कुटपिट गरेका थिए । भारतीय सुरक्षाकर्मीको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरू सीमा बन्द गराएर विरोधमा उत्रिएका थिए ।

उनीहरूले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका हुन् । नाराबाजी गरिरहेकै बेला एसएसबीका जवानहरू नेपालतर्फ आएर प्रदर्शन गरिरहेका केही नेपालीलाई कुटपिट गरेपछि तनाव बढेको थियो । त्यसपछि आनन्द बजारका स्थानीयहरूले दसगजामा ढुंगामुढा सुरु गरेका थिए ।

नाराजुलुसका क्रममा एसएसबी र नेपाली पक्षबीच केहीबेर ढुंगा हानाहानसमेत भएको प्रत्यक्षदर्शी प्रतीक विष्टले बताए । त्यस लगत्तै हतियारधारी एसएसबीको टोलीले नेपालीलाई लखेट्दै नेपालतिरको ८ सय मिटर भूमिभित्र पसेर अन्धाधुन्ध गोली चलाउँदा गौतमको मुत्यु भएको हो । नेपाली भूमिमा प्रवेश गरेको एसएसबीले कम्तीमा पनि ३० राउन्डभन्दा बढी गोली चलाएको स्थानीय लक्ष्मणकुमार कुमालले जानकारी दिए ।

एसएसबीले बन्दुकको कुञ्जाले कुटपिट गरी १२ जना घाइते बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । झडपमा सशस्त्र प्रहरी निरीक्षक रामबहादुर खत्री, नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक लक्ष्मण विकलगायतका सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

यसैबीच, भारतीय सुरक्षाकर्मीको ज्यादतीको विरोधमा बिहीबार बेलुकी सदरमुकाम महेन्द्रनगरमा केही युवाहरूले प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएका युवा समूहले महेन्द्रनगर बजारमा रहेको होटेल ओपेराअगाडि पार्किङ गरिराखेको एक भारतीय नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् ।

घटनापछि नेपालतर्फ २ सयको हाराहारीमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । स्थितिलाई भड्किन नदिन नेपाली सुरक्षाकर्मीलाई सतर्क रूपमा राखेर नेपाली नागरिकलाई सम्झाई बुझाई गर्ने काम भइरहेको सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी रोवेन्द्रसिंह देउजाले बताए ।

घटनापछि आक्रोशित नेपाली पक्षले हतियारसहित भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा प्रवेश गरी नांगो हस्तक्षेप गरेको भन्दै हातहातमा लाठी लिई नाराबाजी गरिरहेका छन् ।

घटनास्थलमा रहेका कञ्चनपुर प्रहरी प्रमुख एसपी प्रकाश चन्दले भारतीय पक्षसँग छलफल गरी उच्चस्तरीय टोली बनाउन र नेपाली पक्षबाट सुदूरपश्चिम क्षेत्रीय प्रशासकको टोली घटनास्थल आनन्दबजार पुगेको बताए । घटनास्थल कैलालीको सदरमुकाम धनगढीबाट २० किलोमिटर दक्षिण पश्चिमतर्फ पर्छ ।

घटनाका विषयमा बिहीबार राति विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले एसएसबीको गोली प्रहारबाट गोविन्द गौतमको मृत्यु भएको पुष्टि गरेको छ ।

साथै परराष्ट्रमन्त्रालयले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न कुटनीतिक पहल गरिसकेको समेत जनाएको छ । तर, काठमाडौंस्थित भारतीय दूतावासले भने विज्ञप्ति नै निकालेर एसएसबीले गोली नचलाएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।