0 COMMENTS

फागुन २५ ,सप्तरी– मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले मधेशको जुनसुकै भागमा एमालेले कार्यक्रम गर्दा अब अवरोध नगर्ने स्पष्ट पारेका छन् ।

बुधबार काठमाण्डौमा भएको साक्षात्कारमा यादवले भने,‘ एमालेले मधेशको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम तथा अभियान गर्न पाउँछ, मधेशी मोर्चाले हिजोपनि विरोध गरेको थिएन, र भोलिका दिनमा पनि विरोध गर्दैन् ।’

साक्षात्कारमा यादवले एमालेलाई आफूहरुले तराई–मधेशमा कहिल्यै पनि निषेध गर्ने भनेर नभनेको र अब पनि नगर्ने स्पष्ट पारे । उनले भने,‘एमालेले मेची–महाकाली अभियान सप्तरीबाटै सुरु गर्नुहोस्, हामी विथोल्दैनौं, विरोध गर्ने हाम्रो कुनै नीति छैन, यदि तपाईहरुको कार्यक्रम हाम्रा कार्यकर्ताहरुले विथोलेका छन्, हामीलाई नाम दिनुहोस्, हामी उनीहरुलाइ कारवाही गर्न तयार छौं, सरकारलाई भनेर हामी कारवाही गराउँछौं ।’

उनले मोर्चाले आह्वान गरेको दुई दिने बन्दको कार्यक्रममा पनि एमाले नेताहरुको घर, पार्टी कार्यालय तोडफोड नगरेको दावी गरे । भने,‘हामीले त्यस्तो गरेका छैनौं, यदि कसैले त्यस्तो गरेको छ भने त्यो घुसपैठ हो, हामीले गरेकै छैनौं, हामीलाई बद्नामा गराउन खोजिएको छ ।’ उनले यही २७ गतेबाट एमालेले हेटौंडाबाट सुरु गर्ने अभियानमा मोर्चाले कुनैपनि किसिमको अवरोध तथा विरोधका कार्यक्रमहरु नगर्ने स्पष्ट पारे । उनले भने,‘उहाँहरुले अभियान चलाउन पाउनुहुन्छ, त्यो उहाँहरुको अधिकारको कुरा हो ।’

उनले सप्तरी घट्नामा मोर्चालाई दोष लगाउने काम कपोकल्पित मात्रै भएको आरोप पनि लगाए । उनले भने,‘एमालेको अभियानबारे मधेशी जनतामा आक्रोश थियो, यो घट्नामा सरकार जिम्मेवार छ, निहत्था जनतामाथि गोली चलाउने आदेश कसले दियो ?, यो नश्लवादी गतिविधि हो ।‘यादवले थपे,‘घट्नामा संलग्न दोषीहरुलाई कारवाही होस्, एमालेले पनि गम्भिर विषय उठाएको छ, हत्या प्रयास भनेर, यसको छानविन होस्, उहाँहरुको कुराबाट हामी पनि चिन्तित छौं ।’
उनले एमालेलाई व्यवहार र बोली सच्याउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।