बुटवल, २१फागुन ०७३/बुटवलमा सम्पन्न १९ औं तिलोत्तमा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ। एन्फा एकेडेमीमा शनिबार सम्पन्न फाईनलमा विभागीय टिम त्रिभुवन आर्मीलाई २-१ गोलले हराउँदै संकटाले उपाधिमाथि कब्जा जमाएको हो।
तिलोत्तमाको उपाधिसँगै संकटाले यो सिजनमा ३ गोल्डकप जितेको छ। आर्मी संकटासँगको पाँचौ भेटमा पनि पराजित भएको हो। यसअघि चार पटक संकटा र आर्मी बीच भएको खेलमा तीन पटक संकटाले आर्मीलाई हराएको थियो । उपाधिसँगै संकटाले नगद ५ लाख ५५ हजार ५ सय ५५ सहित गोल्डकप मेडल र प्रमाण पत्र हात पारेको छ।उपविजेता बनेको त्रिभुवन आर्मीले नगद ३ लाख ३३ हजार ३ सय ३३ रूपैयासहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
विभागीय टिम त्रिभुवन आर्मीका लागि खेलको ३० औं मिनेटमा दिप लामाको क्रस बललाई राजिव गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेपछि निकै दबावमा रहेको संकटाले पहिलो हाफको ईन्जुरी समयमा निराजन खड्काले गोल गर्दै टिमलाई १-१ को बराबरीमा पुर्याए।पहिलो हाफमा एक-एकको बराबरी भएकोमा खेलको ८५ औं मिनेटमा पुनः संकटाका निराजनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए। सोही गोल नै संकटालाई उपाधि दिलाउने निर्णायक गोल बन्न पुग्यो ।
विजेता तथा उपविजेतालाई युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ, जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर के.सी (कुमार) ले पुरस्कार वितरण गरेका छन् ।
प्रतियोगितामा बेष्ट प्लेयर अफ द टुर्नामेन्टबाट रूपन्देही ११ का दिलिप क्षेत्री भए। उनले नगद १५ हजार सहित स्कुटरसमेत प्राप्त गरे । त्यसैगरी हाईस्कोरमा आर्मीका दिप लामा, बेष्ट डिफेन्समा हिरण्डय मगर, बेष्ट कोचमा संकटाका सल्याङ खड्गी, बेष्ट गोल किपरमा संकटाकै विनय श्रेष्ठ, बेष्ट मिडफिल्डमा निराजन खडका घोषित भए। उनीहरुले नगद १५/१५ हजार प्राप्त गरे ।
सोही अवसरमा पूर्वखेलाडीहरू दयाराम सापकोटा, नन्दा थापा, अशोक पुन र कालि कुमार बासफोटलाई समान समेत गरिएको थियो। संघका अध्यक्ष दिर्घबहादुर के.सीले प्रतियोगितामा ६८ लाख आम्दानी, ५७ लाख खर्च र ११ लाख २२ हजार ७० रुपैया बचत भएको प्रतिबेदन समेत प्रस्तुत गरेका थिए।
प्रतिक्रिया दिनुहोस्