0 COMMENTS

काठमाडौँ, २० फागुन०७३/ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्धारित समयमा नै तीनवटा चुनाव सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको शुभारम्भ गर्दै उहाँले मुलुकको भौगोलिक कारणले पुस र माघमा निर्वाचन गर्न उपयुक्त नरहेकाले मङ्सिरभित्र सबै चुनाव गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्नुभयो ।प्राध्यापक सङ्घ बुद्धिजीवी संस्था भएकाले प्रजातन्त्रमाथि आएको चुनौतीलाई समाधान गर्न पार्टीलाई सुझाव दिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो – “नयाँ नेतृत्वका लागि चुनाव गर्नुस्, चुनावले प्रजातन्त्र बलियो गर्छ, भागबन्डाबाट वाक्क भए, भागबन्डा चाहिन्न भन्नेले धेरै भाग मागेका छन् ।
सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय शक्तिले मुलुकमा विभिन्न स्वार्थसिद्ध गर्नका लागि हस्तक्षेप बढाउँदै गरेकाले देश लथालिङ्ग भएको बताउँदै अहिलेको अवस्थामा प्रजातन्त्रवादी प्राध्यापकले विज्ञ समूहका रुपमा देशको राष्ट्रियता र एकताका निमित्त पार्टीलाई दिशानिर्देश गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।रक्षामन्त्री बालकृष्ण खाँणले प्राज्ञिक उन्नयन र प्रजातन्त्रको रक्षाका लागि प्राध्यापक क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्यायले राजनीतिक दलले भागबन्डामा प्रहरी प्रमुख, राजदूत नियुक्ति गर्दा त्यसमा प्रजातन्त्रका लागि सङ्घर्षशील पार्टी नेपाली काँग्रेसले पनि साथ सहयोग गरेकामा चिन्ता व्यक्त गर्नुभयो ।
प्रजातन्त्रवादी प्राध्यापक सङ्घका अध्यक्ष वासुदेव घिमिरेले नयाँ संविधानअनुसार प्रादेशिक संरचनामा संस्थालाई विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।शनिबारसम्म जारी रहने सो महाधिवेशनमा एक हजार २७२ प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।