डिसेम्बरको भयानक चिसो बिहान !
भण्डारीले मलाई लगेथे डाउन टाउनको त्यो भुइँतल्लाको कोठामा । बाल्टिमोर डाउन टाउन नजिकै रहेको त्यस कोठामा चार जना नेपालीहरु थिए ।
‘उहाँ गए हप्ता आउनु भाको हो !’
‘सजिलो र गतिलो काम खोज्नुपर्यो !’
‘मिलेसम्म यै अपार्टमा उहाँलाई नि राख्नुपर्यो साथीहरु !’
भान्सा नजिकैको सोफामा मलाई राख्दै भण्डारीले फटाफट भनिसके । घरी सामुन्नेका नौला चार अनुहार र घरी भण्डारीका अनुहारमा आँखा डोर्याउँछु म ।
‘तपाईंहरु गफ गर्दै गर्नुस्, म नुहाएर आइहाल्छु है !’
एकजना निकै मोटे पसिहाले बाथरुममा । तिनका छातीमा काला रौं थिए झ्याप्पै । छिनभरमा अघि चिनिएका गौरवजी, सापकोटाजी, टि एम र गुरुङजी सबै कोठामा छरिए । भण्डारीले त्यहीँको फोनबाट लामै फोन गरे बाहिर ।
‘पाँच डलरमा भए हुन्छ । पछि बढाउनु न श्रीमान् । नयाँ मान्छेलाई त्यति भए हुन्छ । मान्नु न श्रीमान् । म नि मनाउँला । तपार्इं नि मनाउनु है श्रीमान् !’
भण्डारीले मलाई काम खोज्नका निम्ति गरेको बातचित हो यो । म कान त्यता दिए पनि आँखा कोठामा कुदाइरहेको छु हतार–हतार ।
बाथरुमबाट नुहाएर निस्किनेले कपाल पुछ्दै भने– ‘अर्को हप्तासम्ममा तपार्इंलाई एडजस्ट गरौँला कतै न कतै ! नआत्तिनुस् !’
मैले कालो कफी खाएँ यतिन्जेलमा ।
अरुहरु बिदा भएर काममा निस्के । भण्डारीजी पनि मलाई छोडेर गए । तिनी दिउँसो आउने भए ।
‘तपाई यीँ बस्नु होला । म लिएर जान्छु बेलुकी । उहाँ दिनभरि यीँ रहनु हुन्छ । म छुटे है त श्रीमान् !’
तिनी हाँस्दै गए ।
तल कार स्टार्ट भएको सुनिएको थियो । मैले एक्लो ठानेँ आफूलाई ।
एक छिनमा छातीभरि रौं भएका साथीले कफी हातमा थमाए । मैले त्यो फिका कफी पिएँ सुरुप्प–सुरुप्प । भुँडी तातो भयो मज्जाले । रन्किए कान रनक्क ।
‘मेरो पाँच बजेदेखि रातभरि काम छ । तपाईं ल्यापटपमा अल्मलिनुहोला । दिउँसो नसुते राति काम गर्न सकिन्न, के गर्ने !’
उनले कम्प्युटर अन गरिदिए ।
अनि छेउमा तीन पिस पाउरोटी राखिदिए । अलिकति भुटेको भात, तीनचार वटा मासुका चोक्टा, एउटा हरियो खुर्सानी, तारेको पापड, एउटा उसिनेको अण्डा राखिदिए मेरा छेउमा ।
यतिन्जेल उनले आफ्नो परिवार, बिहे गर्न बाँकी चार छोरी, ब्रतबन्ध गर्न बाँकी एक छोरा, मरेकी भाउजू, करकर गरिरहने श्रीमती, छोरो मरेको जेठान, खसी चोर्ने गाउँको व्यापारी, अंश नदिने फुपूको जेठो छोरा, आफूलाई अमेरिका बोलाऊ भनिरहने कान्छी छोरीको हेडमिसबारे एक–एक गरी सुनाए मलाई ।
‘यो कोठामा पाँच जना छौँ । मिलेर बसाैँला नि !’
उनी खाई पिई सुते ।
म दिनभरि ल्यापटमा भुलेँ । उनी दुईतीनचोटि शौचालय गए । निदाउनु अघि उनले भनेका थिए– ‘छोरीहरुको बिहे गर्न धन पाएका दिन अमेरिकामा एक सेकेन्ड नि बस्दिनँ !’
साँझतिर भण्डारी आए ।
ती भुत्ले मित्र उठिसकेका थिए । उनैले फेरि कफी खुवाए । हामीसँगै काममा जाने भए ।
‘अल्मेडासम्म राइड दिनुहोला !’
उनले भने ।
अनि हामीसँगै आए ।
ठूलो चर्चनिर ओर्लिएर भने– ‘उहाँलाई एडजस्ट गरुँला । नआत्तिनुस् !’
उनी गए । हामी ग्यास स्टेसनमा छिर्यौँ । भण्डारीले चुरोट ताने । मैले कफी खाएँ कागजी बोतलमा ।
म बसेको अपार्टमा उनको फोन आइरहन्थ्यो ।
‘बुझ्नुभो, छोरीको बिहे गर्ने पैसा हात पर्यो कि म उडिहालेँ !’
प्रायः फोनमा यो कुरो भइरहन्थ्यो ।
एक दुईपटक उनी ड्रम क्यासल नि आए ।
‘आज तपाईको हातको कफी खाने !’
मैले थर्मसको तातो पानीमा फिका कफी बनाएर खुवाएँ । उनले सुरुप्प तानेर भनेथे– ‘बेग्लै खालको स्वादिलो !’
हिउँ परेर निकै जाडो बढेको साँझ ।
उनीसँग मेरो नजिकैको वाल्मार्टमा भेट भयो । म त्यत्तिकै बरालिन गएको थिएँ । खासगरी दारी काट्ने ब्लेड र एकदुई जोर मोजा किन्ने निहुँमा त्यता पसेथेँ । अझ अर्को बहाना थियो– जिउ छोडेर हिँड्ने कालीहरुको नखरा हेर्ने ।
‘ओहो, आज मेरो अपार्टमा जाऊँ !’
‘उतै रात कटाउँला !’
भेटमा उनले हार्दिकता देखाए झटपट ।
हामी गफसँगै बाहिर आइसकेथ्यौँ । उनको खैरो कारमा दुबै छिर्यौँ । मैले खबर गर्दै भनेँ– ‘आज पाहुना लाग्न गएँ है । मलाई नखोज्नु राति !’
हुन त घर कुरुवा मै मात्र थिएँ । एक जना बूढा रातभर काम गर्ने र दिनभर सुत्ने गर्थे । तैपनि बूढालाई सूचना दिई धर्म निभाएँ ।
डाउन टाउनको कोठामा पस्दा कोही थिएनन् ।
सात बजेदेखि फाटफुट मान्छे आउन थाले । म नमस्ते गर्दै बस्न थालेँ । कोठा न्यानो थियो । ओल्लो सोफा र पल्लो सोफा गर्दै समय कटाइरहेथेँ निरन्तर ।
सोफाको छेउमा रहेको पातलो सिरकसँगै मेरो ओछ्यान तय भयो ।
दश बजेतिर सुत्ने तरखर गर्दै थिएँ, तीनजना आए । एक जना खल्याङमल्याङ नुहाउन थाले ।
मेरो आँखा लोलाउन थालेका छन् ।
पल्लो कोठामा मासुका चप्परी खुकुरीले छ्वामछ्वामी काटेको सुनिन्छ । आवाज चर्कै सुनिन्छ डङडङी । मासु त ढुङगैसरी भएको सुनियो ।
कुखुराको मासु फ्रिजमा जमेको रै छ ।
मासु काट्नेले झ्वाँक पोखेको सुनिन्छ– ‘साला तँ कति उच्छिटिन्छस् । तँलाई टुक्रयाएर नभुटी काँ हुन्छ र ! तेरो चोक्टासँग एक बोतल नखाई त्यसै काँ सुतुँला र म !’
मासु काटेको डङ्डङी आवाज घरीघरी आइरहन्छ ।
बैठक कोठाको पल्लो कुनामा सुतेको तन्नेरीको फोन आयो । ऊ तकिया च्यापेर सुतेको रहेछ । तकियासँगै उठ्यो फोनमा झ्वाँक्किदै ।
ऊ फोनमा बाझ्दै भान्सामा पस्यो– ‘तपाईंकी छोरी एक नम्बरकी बाइफाले रै’छे । मेरो पैसा उडाएको उडाएकै छे त्यसैले । मेरो कागज बनेका दिन आएर म त्यसलाई दुई टुक्रा पार्छु !’
‘चार वर्ष भो त्यसले जग्गा किनेकी छैन । छोरो होस्टेलमा छ । म अमेरिका भए नि त्यसको हरेक चालामाला देखिरहेको छु । कागज बनेको पर्सिपल्ट म नेपाल आइपुग्छु । तपार्इंकी छोरीलाई गर्धन सोझ्याएर बस्न भन्नु !’
मेरा आँखा निदाउन सकेनन् । म हेरेको हेरेकै भएँ फोनका कुराले । फोनमा उतापट्टि बोल्ने आइमाईको स्वर नि सुनिएथ्यो मज्जैले ।
एकै छिनमा एउटा पुड्को मान्छे कोठामा आइपुग्यो । यतिखेर रातको बाह्र बजेको हुनुपर्छ ।
ऊ जुत्तैसँग वरपर गरिरहेको थियो । कोठाकोठाको बत्ती बाल्ने निभाउने गरिरहेको थियो । केही खोजिरहेको छ ऊ ।
उसले फ्रिजबाट सागपात झिकेर धोयो अनि हातैले चुँडेर कराइमा ओइरियो–झ्वाइँययऽऽऽऽ ।
पट्पट्….चट्चट्… आवाज आइरह्यो । उसले कराइमा छोपेको थाल राख्न खोज्दा ठङरङ्ङ खस्यो भुइँमा । राती कति भयानक सुनिँदो रहेछ ।
म निदाउन थालेको थिएँ ।
यस्तै एक बजेतिर एउटा फोन बज्यो ।
कुरा गर्दै पल्लो कोठामा बोलेको सुनियो– ‘जे मन लाग्छ गर । अब म गर्न सक्तिनँ । तीन वर्षदेखि पठाएको–पठाएकै छु त । कति पठाउनु मैले ? अब आफैले कमाएर खानुपर्छ बुझिस् । घरमा तेरी आमालाई पठाएकै छु । तँलाई दिल्लीमा नि पठाएकै हो । अब मेरो छाला पठाउन मात्र बाँकी छ, बुझिस् !’
एउटा टाई लाएको मान्छे फोनमा उफ्रिरहेको थियो ।
‘तेरो बाउ तिमेरको कमारो रहेछ । मर्ने बेलासम्म कमाएर तिमेरलाई पालिरहनुपर्ने । खानका कालहरु !’
ऊ निकै रिसायो ।
मेरो निद्रा हरायो । खुल्लै होलान्जस्तै भए, आँखाहरु । तैपनि चिम्ली नै रहेँ । मनमा अघिदेखि नै सुनेका कुराले कानमा दोहोरिएर बज्न थालेँ ।
उठेर शौचालय गएँ ।
यतिन्जेलमा दुई बज्यो रातको ।
कोठामा सात–आठ जना मान्छे भएको लाग्दै छ । कोही खाटमा, कोही सोफामा, कोही भुइँमै गुँलुड्किएको देखिरहेको छु ।
ढोका फेरि खुल्यो ।
निकै अग्लो मान्छेले ज्याकेट फ्याँक्यो सोफामा । त्यो ज्याकेटले मलाई लाग्यो । ऊ जुत्ता खोल्न थाल्यो । ज्याकेटको सेल फोन बज्यो चर्कैसँग ।
त्यतिखेर म सुतेको सोफा समेत हल्लियो थरर्र ।
‘साला कति सताएको ।’
ऊ फोन लिन झम्टिएर आयो ।
अनि फोन समात्दा मेरा खुट्टा समात्न पुग्यो ।
‘ए, कोहो यहाँ ?’
‘नयाँ हो कि पुरानो हो ?’
म चट नपटाईकन सुतिरहेँ । ऊ फोन लिएर ढोकाको चेपमा उभियो र कुरा गर्न थाल्यो । कोठामा मान्छे हार लाएर सुतेको देखियो यतिखेर ।
‘सुन न सुन । म आउन, नपाउने भएँ । पैसा अहिले बचेको छैन । होटेल राम्रो चलेन । साथीले धोका दियो । फेरि कालीले पनि हैरान गरेकी छ । पेपर म्यारिजमा फँसियो । लास्टै धोका दिई राँडले । मिलाउन खोज्दै छु !’
उसको नाक स्वर सुनियो ।
हो, ऊ रुन थाल्यो ।
‘म नरकमा परेँ । यो भासबाट उम्किन गा¥हो छ भीमा । अब के गर्नु त ! सुन त सुन !!’
साँक्साँक् सुँक्सुँक् सुनिरहेँ मैले ।
रातमा कति गाढा सुनिने रहेछ मानिसको दुःख । के दुःख पनि रातजस्तै गाढा हुन्छ ?
म कोल्टे फेरी सुत्न खोजेँ ।
मासु पकाउनेहरु बल्ल सुत्न खोज्दै थिए । साग पकाउने पल्लो कोठामा घुरिरहेको थियो यतिन्जेलमा । मलाई यहाँ ल्याउने मित्रले मभन्दा उत्तरतिर आफ्नै हत्केलालाई सिरानी बनाएर सुतिरहेका थिए । उनको शरीरमा नीलो कम्बल थियो असरल्ल ।
पश्चिमपट्टि एकदमै पातलो अनुहारको एउटा मानिस निकै अघिदेखि छटपटाइरहेको देखिरहेथेँ म । घरी उत्तानो, घरी घोप्टो पर्दै सुतिरहेको थियो ऊ । उसलाई अरुहरु जैसी भन्दथे ।
लौ, जैसीकै फोन बज्यो टिनिन्न ।
उसले सिरकमै बोलेको सुनियो ।
‘तिम्रो बहिनीले याँ बर्बाद गरी । बोस्टन लगिदिएँ त्याँ नि टिकिनँ । दुई मैना अघि एउटा पन्जाबीको पसलमा काम बिगारिछ । फेरि यीँ मुन्टी । कमाए जत्ति के गर्छे थाहा छैन । छैन–छैन भेटेकै छैन । मेरो नाकै गइसक्यो । सारै गनाई त्यो !’
‘मलाई फुन नगर घरी–घरी । अब म सुत्छु । पिज्जा बेल्दा–बेल्दा पाखुरा चुँडिएलान्जस्तै भइसके । म सुत्छु अब । त्यसको खोजखबर गर्दिन म । खोई कुन मुसल्टेकी कान्छी भएर सुतेकी होली यतिखेर । मलाई फोन नगर । प्लिज……प्लिज….!’
जैसीले रिस पनि शान्तसँगै देखायो ।
मेरा आँखा, कान, नशा सबै बिउँझिए । जागा भएँ म । परेलीमा हरेक कुरा नाच्न थाले । रगतमा फोनका भावना बग्न थाले सरर्र ।
रेस्टरुम गएँ ।
निद्रा हरायो । वरपर घुरीघुरी सुतिरहेका थिए । अचेत भएर, मुडो भएर अनि असरल्ल भएर सुत्नेको ज्यान पो पढ्न थालेँ म ।
त्यै बेला मलाई यो अपार्टमा ल्याउने गौरवजीको फोन बज्यो बिहानको तीनबजे ।
उनले सुस्तरी भनेको सुनियो–‘ठीकै भो त । गइछे, राम्रै भो । यता डलरको भाउ नि घटेको छ । जब आवर नि कम पाइएको छ । कमाइ र खर्चको ब्यालेन्स हुने भो । राम्रो । पीर नगर । ठीक भो, एकदमै ठीक भो ।’
डाउन टाउनको यो कोठामा अब कसको फोन बज्छ ?
मेरा कान झन् चनाखा भइरहेथे ।
प्रतिक्रिया दिनुहोस्