0 COMMENTS

रुकुम, १६ फागुन०७३/नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन् ।
पार्टी प्रशिक्षणका लागि रुकुम पुग्नुभएका भट्टराईले सोमबार सल्ले विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अहिलेको सरकारले आफ्नो आयु लम्ब्याउनलाई निर्वाचनको मिति घोषणा गरेको आरोप लगाए ।संविधान संशोधन गरेर मधेसी दलले उठाएका मागलाई सम्बोधन गरेमात्र तीनवटै तहको चुनाव गर्न सकिने उनले बताए ।

अहिलेको संविधानमा सबैको हित हुने व्यवस्था नभएकाले नै तत्काल संविधान संशोधन गरेरमात्र देशलाई निकास दिनुपर्ने भट्टराईको भनाइ थियो ।डा.भट्टराईले भने– ‘अहिलेको शासकीय स्वरुपसमेत ठीक छैन, संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि निर्वाचन प्रक्रियामा जानुपर्ने व्यवस्था गर्नुपर्छ ।’

शासकीय स्वरुप ठीक नभएकै कारण देशको आर्थिक र राजनीतिक विकास पनि तीव्र गतिमा हुन नसक्ने उनको भनाइ थियो । संयोजक भट्टराईले नयाँ शक्ति नेपालले अघि सारेको आर्थिक क्रान्तिको एजेण्डामार्फत देशको आर्थिक समृद्धिलाई पूरा गर्न सकिने बताए ।
‘अब राज्यका सबै शक्ति मिलेर देशमा औद्योगिक क्रान्ति सञ्चालन गर्नुपर्छ त्यसको अगुवाई नयाँ शक्तिले गर्छ,’ भट्टराईले भने ।

नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरमबीचको एकताको सन्दर्भमा भने गम्भीर छलफल भइरहेको र अब छिट्टै टुङ्गोमा पुग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।