0 COMMENTS

काठमाडौं, १४ फागुन०७३/पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली कांग्रेसलगायतका प्रमुख राजनीतिक दलले आफ्नो सुझावलाई बेवास्ता गरेर हतारमा संविधान जारी गरेको खुलासा गरेका छन् ।

आफ्नो सुझाव बेवास्ता गरेकै कारण अहिलेसम्म राजनीतिक गतिरोध कायम रहेको दाबी पनि पूर्वराष्ट्रपति यादवले गरेका छन् । राजधानी दैनिकले समाचार छापेको छ ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा शुक्रबार राजधानीमा आयोजित ‘महेन्द्र नारायण निधि राष्ट्रिय पुरस्कार र प्रेमसागरी देवी निधि पुरस्कार’ वितरण कार्यक्रममा पूर्वराष्ट्रपति यादवले संविधान जारी गर्दा प्रमुख दलले आफ्नो सुझावलाई मान्दै नमानेको खुलासा गरे ।

‘तत्कालीन संविधानसभामा असन्तुष्ट रहेका दललाई मनाउन संविधान जारी गर्न केही समय पर्खन मैले गरेको आग्रहलाई राजनीतिक दलले नमान्दा मुलुकले अहिलेसम्म गतिरोध बेहोर्नुपरेको छ,’ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिसमेत रहेका यादवले भने । यादवका अनुसार राष्ट्रपतिको हैसियतमा उनले संविधान जारीमा हतार नगरी असन्तुष्ट दललाई मनाउन भनेका थिए ।

‘मैले असन्तुष्ट दललाई मनाउन केही समय पर्खौं भनेको थिएँ, तर दलका नेताहरूले मान्नुभएन, हतार–हतारमा जारी गरेका कारण १८ महिना बितिसक्दा पनि मुलुक जहाँको त्यहीँ छ,’ पूर्वराष्ट्रपति यादवले भने ।

राज्यको जिम्मेवार पदमा रहेका सबै व्यक्तिले फास्ट ट्र्याक भनेर संविधान जारी गर्न हतार गरेको पूर्वराष्ट्रपति यादवको जिकिर छ । आफू लोकतन्त्रवादी भएको नाताले संविधानसभाका बहुसंख्यक मधेसी सांसदहरू कांग्रेस, एमाले र माओवादीमा रहेका र उनीहरू संविधान जारी गर्न सहमत भएकाले बाध्य भएर जनताको वारेसको हैसियतले संविधानलाई तीनपटक ढोगेको उनले प्रस्ट पारे ।

संविधान जारी गर्न राष्ट्रपति यादवले अस्वीकार गरेको चर्चा चलेपछि उनले ढोगेका थिए । संविधानसभा अध्यक्षले राष्ट्रपतिलाई संविधान जारी गर्न निमन्त्रण गर्दा समेत अस्वीकार गरेको चर्चा चलेपछि संविधान मस्यौदा समितिका सभापति तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संसद्को रोस्ट्रमबाटै कडा प्रतिवाद गरेका थिए । राष्ट्रपति यादवले त्यसबेला नेताहरूले लगाएको आरोपको प्रतिवाद गर्दै केही समय पर्खन भने आग्रह गरेको तथ्य खोलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।