काठमाडौं,१३ फागुन०७३/ मान्छेको दिमागमा दुई किसिमका रसायनिक तत्व हुन्छन् । एउटा दिमागलाई स्टिमुलेन्ट (उत्तेजित) गर्ने र अर्को डिप्रिसेन्ट (सिथिल) गर्ने । हामीले खाएका कुरा पहिले पेटमा पुग्छ र केही बेरपछि दिमागको सम्पर्कमा आउँछ । अनि खाएको चिजअनुसार दिमागका दुई रसायनिक तत्वले प्रभाव पैदा गर्दछ ।
भाङ खाँदा स्टिमुलेन्ट भएर आउँछ, मै हुँ भन्ने भाव पैदा गराउँछ । थ्रेसहोल्ड कम भयो र स्टिमुलेन्ट बढी भयो भने उत्तेजित हुन्छ । डिप्रिसेन्ट बढी भयो भने शिथिल बनाउँछ ।
मस्तिष्कमा क्यानाविनोइड भन्ने रसायन पनि हुन्छ । गाँजामा पनि ६० भन्दा धेरै प्रकारका अलग अलग क्यानाविनोइड पाइन्छन् । गाँजा सेवनपछि ती क्यानाविनोइड मस्तिष्कमा पुग्छन् । गाँजाको धेरै रसायनमध्ये टेट्राहाइड्रोक्यानाविनोइड (टिएचसी) को भूमिका हँसाउन र रुवाउनमा बढी हुन्छ ।
यो रसायनले मस्तिष्कको बाहिरी वातावरणसँगको प्रभाव कम गराएर आफ्नो प्रभाव मस्तिष्कमा हावी गराउँछ । यस्तो बेला मान्छे जुन मुडमा छ, त्यही मुडमा निरन्तर भइरहन्छ । जस्तै हाँस्यो भने हाँसेको हाँस्यै गर्ने र रोयो भने रोएको रोयै गर्ने आदि ।
गाँजा भाङ धतुरो तीनै चिज सेवन गरेको सुरुवाती समयमा आनन्द पैदा गर्छ । केही बेरपछि फरक फरक असर देखाउन थाल्छ । त्यसैले यस्ता लागू औषधको निरन्तर प्रयोग नसाका लागि निकै हानिकारक हुन्छ ।
गाँजा वा भाङ खाँदा फाइदा हुन्छ कि बेफाइदा ? सामान्य हिसाबले कुरा गर्दा गाँजा खाएपछि कतिले रमाइलो भएको बताउँछन् भने कतिलाई यसले असर गरेको पनि भेटिन्छ । यसको असरका विषयमा पनि वरिष्ठ नेपाली चिकित्सकका फरक–फरक धारणा छन् ।
अनुसन्धानहरुले पनि गाँजाले कतिलाई हानी पुर्याएको देखाएको छ भने कतिलाई फाइदा । वरिष्ठ नशारोग विशेषज्ञ डा गोपालरमण शर्माका अनुसार विदेशका केही ठाउँमा त केही विशेष प्रकारका रोगीहरूलाई गाँजाको प्रयोगबाट उपचार समेत गर्न थालिएको छ । तर, यसको अर्थ यो हानिकारक चिज होइन भन्न नसकिने उनी बताउँछन् ।
स्वास्थ्यमा पार्न सक्ने असर
हरेक नशालु पदार्थको नकारात्मक असर हुनेमा चिकित्सकहरु सहमत छन् । एउटा स्वस्थ व्यक्तिलाई यसले मानसिक र शाररिक असर पार्न सक्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलका अनुसार कतिपयलाई एकपल्ट गरेको गाँजा सेवनले पछिसम्म असर पारेको भेटिएको छ । उनीकहाँ आइपुगेका बिरामीको उदाहरण दिँदै भने, ‘एकपल्ट गाँजा सेवन गरपछि मुटुको धड्कन बढेको महशुस हुने, निद्रा डिस्टर्व हुने र श्वास फेर्न गाह्रो हुने जस्ता समस्या लिएर बिरामी आएका छन् ।’
यसबाहेक गाँजाले मुटुको चाल बिगार्ने, रक्तचाप बढाउने, हृदयाघातसम्म गराउन सक्ने उनी बताउँछन् । उनले भने, ‘मुटुसम्बन्धि समस्या भएकाहरुले यसको प्रयोग गर्दै गर्नुहुन्न ।’
मानसिक स्वास्थ्यमा पनि गाँजाका असर छन् । वरिष्ठ मनोरोग विशेषज्ञ डा उपाध्यायकहाँ एकचोटी गाँजा खाएर डराएको व्यक्ति सधैं डराउने गरेको भन्दै उपचारका लागि आएका थिए । उनले भने, ‘कतिपयको मन आत्तिने, डराउने र काँप्ने हुन सक्छ । गाँजा खाएको समयमा डराएको व्यक्ति पछिसम्म पनि डराइनरहने हुन सक्छ ।’
उनका अनुसार कतिपयमा एकपल्ट खाँदा आनन्द महशुस गरेका कारण निरन्तर सेवन गर्ने इच्छा जाग्न सक्छ । जसले गर्दा कुलतको दलदलमा पनी फस्न सकिन्छ तेसैले यस्ता चीज नखानु नै उत्तम हुने छ ।