0 COMMENTS

काठमाडौं, १३फागुन ०७३ / महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज मनाइँदैछ ।

हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा-आराधना गरिरहेका छन् ।फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्वले गर्दा फागुनमा पलाउन थाल्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजका दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।आजको शिवधुनीपछि जाडो जान्छ, पशुपति दर्शन गर्न आएका भारतीय भक्तजनले जाडो लिएर जान्छन् भन्ने विश्वाससमेत छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकूट र किरातेश्वर संगीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।शंकरको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशका विभिन्न भागलगायत भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यस वर्ष १३ लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डाक्टर गोविन्द टण्डनले बताए ।

पशुपति क्षेत्रमा सुरक्षाका लागि नेपाल प्रहरीका चार हजार, सशस्त्र प्रहरी बलका दुई हजार पाँच हजार र राष्ट्रिय अनुसन्धान विभागका चार सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।