0 COMMENTS

काठमाण्डाै११ ,फाल्गुन ०७३/यस वर्ष महाशिवरात्रीमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ ।

बत्तिसपुतली-गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा-राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकुण्ड-दक्षिणामूर्ति-रुद्रगाडेश्वर-बासुकी हुँदै उत्तर ढोकाबाट र जय वागेश्वरीबाट भुवनेश्वरी हुँदै पश्चिमतर्फको सानो ढोकाबाट समेत मन्दिर प्राङ्गण प्रवेशको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बुधबार आयोजजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

दर्शनार्थी जुन लाइनबाट गएको हो सोही लाइनबाट फर्कने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताए । ‘पश्चिम ढोकाबाट बाहिर निस्केपछि वनकाली हुँदै गौशालातर्फ र दक्षिणामूर्ति हुँदै मित्रपार्कबाट बाहिर जाने व्यवस्था गरिएको छ, तोकिएको प्रवेश बाटोबाट दर्शन गर्न जाँदा जुत्ता-चप्पल कक्षमा जुत्ता राख्ने र दर्शनपश्चात् तोकिएको बाटोबाट फर्की जुत्ता-चप्पल लिने व्यवस्था मिलाइएको छ,’ उनले भने ।

दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि मूल शिविरमा कमान्ड पोस्टसहितको सञ्चार सेवासहितको प्रहरी नियन्त्रण कक्ष स्थापना गरिनेछ । आवास-भोजनस्थल, पार्किङ स्थल, जुत्ता चप्पल कक्ष एवम् गोरखनाथ, सिफल, तिलगङ्गा, वनकाली, कैलाश, राम मन्दिर, उमाकुण्ड, वेदविद्याश्रम, घाट क्षेत्रलगायत स्थानमा नेपाल प्रहरीको सब-कमान्ड पोस्ट स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको सुरक्षा व्यवस्था मिलाइएको छ ।

पशुपति मासु, मदिरा निषेधित क्षेत्र भएकाले मासु, मदिरा तथा अन्य लागुपदार्थको बेचबिखनमा नियन्त्रणका लागि महानगरीय प्रहरी परिसर काठमाडौँबाट सार्वजनिक सूचना प्रकाशन गरिएको छ । महाशिवरात्रिका अवसरमा बिहीबार, शुक्रबार र शनिबार पशुपति क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइने छ । मेलाका अवसरमा तिलगङ्गामा तीर्थयात्री-दर्शनार्थी र पर्यटक, कोषको कार्यालय बाहिर तथा प्रहरीवृत्त गौशालामा गाडी पास वाहक र सरकारी, सिफलमा अर्चक उपासक, पास वाला सवारीसाधन र स्थानीय दर्शनार्थी एवम् गुह्येश्वरी पारि गोठाटार, जोरपाटी, बौद्धतर्फबाट आउने तीर्थयात्रीको वाहन राख्ने व्यवस्था मिलाइनेछ ।

मेलामा स्वास्थ्य शिविर, पानीको व्यवस्था, स्वयम्सेवक परिचालन गरिनेछ । यस वर्ष मन्दिर दर्शनका लागि कुनै पनि पासको व्यवस्था गरिएको छैन । मन्दिरभित्र सुरक्षाकर्मी र कोषले खटाएको कर्मचारी मात्र रहने व्यवस्था हुने छ । दर्शनार्थी र भक्तजनको सुविधाका लागि गौशाला, मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, जयबागेश्वरी र तिलगङ्गामा पशुपतिनाथको चन्दन वितरण गरिनेछ ।

महाशिवरात्रि पर्वका अवसरमा सूचनाको सहज सम्प्रेषणका लागि कोषले अडियो नोटिस बोर्ड नं १६१८०१४४७०५७५ मा सुन्न सकिने व्यवस्था गरेको छ ।

नागाबाबाहरु मन्दिरभित्र
यस वर्ष शिवरात्रि मनाउन आएका नागाबाबाहरु पशुपति मन्दिर परिसरमै बस्न थालिसकेका छन् । विगुत घसेर बस्ने नागाबाबाहरु भक्तजनलाई आफूतिर बोलाई आशीर्वाद दिँदै भेटी माग्छन् । मन्दिर परिसर बाहिर धुनी जगाउँदै गाँजा तान्दै गरेका जोगी र साधु तथा सर्वसाधारण पनि भेटिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।