0 COMMENTS

काठमाण्डाै, १० फागुन ०७३/सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने नीति लिएको छ ।
स्वास्थ्य मन्त्रालयले बनाएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति, २०७३ मा सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने व्यवस्था मिलाईने उल्लेख गरिएको छ ।
सरकारी तथा सार्वजनिक निकायबाट आयोजना हुने कार्यक्रमहरुमा मदिराजन्य पदार्थको प्रयोग तथा वितरण गर्न पूर्ण रुपमा निषेध गर्ने नीतिमा छ । साथै बिहान ५ बजे देखि बेलुकी ७ बजेसम्म फुटकर मदिरा खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिने भएको छ ।
मन्त्रीपरिषद्बाट सोमबार पारित भएको नितिमा फुटकर मदिरा क्रेतालाई एक दिनमा कम्तिमा १ लिटर भन्दा बढी खरिद बिक्री गर्न नपाउने व्यवस्था गरिने भनिएको छ । एक्काईस वर्ष उमेर नपुगेका व्यक्ति र गर्भवती महिलालाई मदिरा खरिद, बिक्री र सेवन गर्न निषेध गर्ने व्यवस्था मिलाईनुका साथै त्यसको सूचना टाँस गर्ने लगायतका प्रवर्धनात्मक व्यवस्था मिलाईने मन्त्रालयले जनाएको छ ।
सरकारको यो नीति कार्यान्वयन गर्न चाडै नै कानुनी व्यवस्था गरिने स्वास्थ्य मन्त्री गगनकुमार थापाका कानुनी सल्लाहकार राजु कटुवालले जानकारी दिए । ९ बुँदे नितीका थप मुख्य बुँदा तथा उपबुदाँहरु निम्नानुसार छन् :
-नेपाल सरकार, स्थानीय निकाय र विकासका साझेदारहरुबाट हुने कार्यक्रममा मदिरा नियन्त्रणको बिषयलाई समावेश गर्न प्रोत्साहन गरिनेछ ।
-मदिराको हानिकारक सेवनलाई न्यूनिकरण गर्न राष्ट्रिय मदिरा रहित दिवस मनाउने परम्पराको थालनी गरिनेछ ।
मदिराको बोतलको कम्तीमा ७५ भागमा मदिरासेवनको कारणले भएको सिरोसिस भएको कलेजो वा मुटुरोगको चित्र र “मदिरासेवनस्वास्थ्यका लागि हानिकारक छ”भन्नेजस्ता चेतावनीमूलक स्वास्थ्य सन्देश, मदिरा उपभोग गर्ने अन्तिम मिति र मदिराको गुणस्तर उल्लेख गर्नु पर्ने व्यवस्था गरिनेछ ।
-छापा तथा बिद्युत्तीय संचार माध्यम, इन्टरनेट, ईमेल र हार्डिङबोर्ड लगाएत कुनै पनि संचार माध्यम वा तरीकाबाट मदिराको उत्पादन, बिक्री वितरण र सेवन प्रबद्र्धन र बजारीकरण गर्ने सम्बन्धी सूचना वा चित्र वा सन्देश वा सामग्री वा विज्ञापन वा प्रायोजन वा समाचार प्रकाशन र प्रसारण कार्यलाई निषेध गरिनेछ ।
-चलचित्र, टेलिफिल्म, नाटक जस्ता कुनै पनि मनोरञ्जनात्मक वा समाचारमूलक वा प्रायोजनात्मक श्रब्यदृष्य कार्यक्रममा कलाकारका प्रयोग वा व्राण्ड वा लोगो वा अन्य परिचय झल्कने गरी मदिराको प्रबद्र्धन हुनेगरी अभिनय वा बिज्ञापन वा प्रचार प्रसार गर्ने कार्य निषध गरिनेछ ।
-सार्वजानिक क्षेत्र एवं कार्यस्थल नजिक मदिरा उत्पादन र बिक्री, बितरण गर्न नपाउने व्यवस्था मिलाईनेछ । मदिराको उत्पादन, विक्रि, वितरण गर्न अनिवार्य लाईसेन्स लिनुपर्ने व्यवस्था मिलाईने छ ।
-सार्वजनिक, शैक्षिक, पर्यटकीय, खेलकुद, मनोरञ्जन स्थलहरु, निश्चित धार्मिक, पुरातात्विक, ऐतिहासिक स्थलहरु र नेपाल सरकारले आवश्यक ठानेका अन्य स्थानहरुलाई मदिरा उत्पादन, बिक्री वितरण र सेवन निषेधित क्षेत्र तोक्ने व्यवस्था गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।