0 COMMENTS

काठमाडौं, सिन्धुली,१० फागुन ०७३/बीपी राजमार्गको प्राविधि अध्ययन टोलीले दिएको प्रतिवेदनविपरीत ठूला सवारीसाधन सञ्चालनमा ल्याउँदा सो राजमार्ग भासिएको छ । पूर्वी नेपालसँग राजधानी जोड्ने छोटो दूरीको बीपी राजमार्ग अत्यन्तै बलियो र वातावरणीय हिसाबले मुलुककै उदाहरणीय सडक मानिएको थियो । तर, सञ्चालनमा आएको छोटो समयमै सडक भासिएपछि सो राजमार्गको भविष्यप्रति पनि प्रश्नचिह्न खडा भएको छ ।

१९ वर्ष लगाएर बनाइएको १ सय ५८ किलोमिटर लामो बीपी राजमार्ग निर्माणमा जापान सहयोग नियोग (जाइका) ले अनुदान सहयोग गरेको थियो । करिब २५ अर्ब रूपैयाँ लगाएर निर्माण गरिएको सो सडक जाइकाले २०७१ सालको अन्त्यमा मात्र निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तर दुर्भाग्य † एक लेन सडक दुई वर्षमै भत्कियो । सो सडकखण्डलाई गोरखा भूकम्पले पनि असर पु¥याएको प्राविधिकहरूको दाबी छ ।आइतबार राति करिब ३० मिटर सडक सुनकोसी नदीमा खसेको छ । सिन्धुलीको शीतलपाटी–बेनीघाट–खाल्टे खण्डको राजमार्ग सुनकोसीमा खसेको हो ।यद्यपि, वैकल्पिक बाटो प्रयोग गरी सोमबार साँझदेखि राजमार्ग सञ्चालनमा ल्याइएको छ ।

वातावरणलाई असर नगर्ने गरी अधिकांश स्थानमा अग्ला पर्खाल लगाएर देख्नलाई मात्र आकर्षक सडक निर्माण गरेपछि नेपालका सडक इन्जिनियरहरूले गुनासोसमेत गरेका थिए । उनीहरूको निचोड थियो, न सडक बलियो छ न त यसलाई विस्तार गरी दुई लेन बनाउन सकिन्छ । राजमार्ग साना गाडी र दुईपांग्रे चलाउनका लागि उपयुक्त सडकमा ठूला सवारी सञ्चालनमा आएपछि समस्या उत्पन्न भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको यातायात व्यवस्था विभागले उक्त राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण भएपछि विभागका तत्कालीन प्राविधिक निर्देशक शरद अधिकारीको नेतृत्वको प्राविधिक टोलीले अध्ययन गरेको थियो । टोलीले स्थलगत अध्ययन गरी तत्कालीन विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले बाटो कमजोर र सानो भएको भन्दै दिउँसो मात्र बस चलाउन दिनुपर्ने सुझाव दिएको थियो ।

यस्तै, प्रतिवेदनले धेरै घुम्ती भएकाले ४० भन्दा बढीको गतिमा हाक्न नमिल्ने र मालवाहक सवारीसाधन गुडाउन नहुने बताएको थीयाे । प्रतिवेदनका आधारमा तत्कालीन महानिर्देशक बुर्लाकोटीले ठूला सवारीसाधन गुडाउन रोक लगाएका थिए । बुर्लाकाटीलाई तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले २०७२ भदौमा हटाई महानिर्देशकमा चन्द्रमान श्रेष्ठ आएपछि प्रतिवेदनविपरीत ठूला सवारीसाधनलाई अनुमति दिए । ‘लोड भएका ठूलो गाडी चल्नु र बाटोमा लगाएका अग्ला पर्खालका कारण भासिएको प्रारम्भिक रूपमा देखिन्छ,’ पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्रालका पूर्वसचिव तुलसी सिटौलाले भने, ‘तल नदी भएका कारण पनि केही प्रभाव परेको हुन सक्छ । स्थलगत अध्ययनपछि मात्र थप कुरा भन्न सकिन्छ ।’प्राविधिक प्रतिवेदनविपरीत व्यवसायीको दबाबमा जथाभावी बीपी राजमार्गमा ठूला गाडी चलाउन दिएपछि दुर्घटनामा बढिरहको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।