0 COMMENTS

काठमाडौं, ६ फागुन०७३/ नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा लगाएको ताला खोलेको छ ।

महासंघका अध्यक्ष महेन्द्र विष्ट र युनियन अध्यक्ष बद्री सिग्देलबीच दुई बुँदे सहमति भएपछि शुक्रबार युनियनले ताला खोलेको महासचिव अजयबाबु सिवाकोटीले जानकारी दिए ।ताला खुलेसँगै पूर्वका १६ जिल्लामा शनिबार (भोलि)का लागि तोकिएको निर्वाचन निर्धारित मितिमै हुने पक्का भएको छ । तर, विवाद भएका पाँचथर र सप्तरीमा भने चुनाव हुने छैन ।

पत्रकार महासंघका महासचिव उजिर मगरका अनुसार युनियनले सरोकार देखाएका नुवाकोट, दोलखा, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिरहा, सप्तरी, रोल्पा, हुम्ला, दैलख, काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको सदस्यता विवाद महासंघको सचिवालयले सहमतिका आधारमा टुंगो लगाउने छ ।सदस्यता वितरणमा एकलौटी भएको भन्दै युनियनले फागुन २ गते महासंघको केन्द्रीय कार्यालयमा ताला लगाएको थियो ।

प्रेस विज्ञप्ति
नेपाल पत्रकार महासंघको सदस्यताको विषयमा असहमति जनाउँदै नेपाल प्रेस युनियनले महासंघ केन्द्रीय कार्यालयको मुल ढोकामा २०७३ फागुन २ गते लगाएको ताला निरन्तरको संवादपछि सहमतिमा आजदेखि खुलेको छ । युनियनले सरोकार देखाएका शाखाहरूको सन्दर्भमा कतिपयमा यस अवधिमा शाखा अधिवेशनका समयमा केन्द्रीय प्रतिनिधिमार्फत् समाधान गरिएको छ भने नुवाकोट, दोलखा, रुकुम, बारा, रौतहट, चितवन, सुर्खेत, स्याङ्जा, प्यूठान, जाजरकोट, सिराहा, सप्तरी, रोल्पा, हुम्ला, दैलेख, काठमाडौं, ललितपुर, भक्तपुर शाखामा देखिएका सदस्यतासम्बन्धी समस्याहरु महासंघको सचिवालयले सहमतिको आधारमा टुंगो लगाउने छ । शाखा/एशोसियट संस्थाहरूमा पनि महासंघ सचिवालयले उपयुक्त विधि र प्रक्रियाबाट हल गरेरै शाखा अधिवेशन तथा नेतृत्व चयन प्रक्रिया अघि बढाउने छ । महासंघ सबै पत्रकारहरूको साझा संस्था भएकोले सबै सरोकारवाला संस्था र पत्रकारहरूले चासो देखाएका विषयको न्यायोचित संवोधनका निम्ति सम्बद्ध सरोकारवाला संस्था र व्यक्तिसँग निरन्तर संवादमा रही समाधान गर्न महासंघ तत्पर छ ।
महासंघको सदस्यताको विषयलाई लिएर समस्या देखिएका बाहेक सबै शाखाको अधिवेशन पूर्वघोषित कार्यतालिकाबमोजिम नै हुनेछ । पूर्वाञ्चल क्षेत्रमा भोलि हुने अधिवेशन पाँचथर र सप्तरी शाखामा तत्काललाई स्थगित गरिएको छ भने सिराहामा शाखाबाट सदस्यता विवरण प्राप्त भई निर्णय हुनासाथ जानकारी गराइने छ । पूर्वाञ्चलका अन्य जिल्लामा केही समयभित्रै केन्द्रीय प्रतिनिधि, सदस्यताको अन्तिम नामावली र अन्य सम्बद्ध कागजातहरू उपलब्ध गराइने भएकोले उत्साहका साथ अधिवेशन आयोजना गर्न सम्बद्ध शाखा कार्यसमिति र सहभागी हुन सदस्य पत्रकार साथीहरूलाई अनुरोध छ । तालाबन्दीको कारण अन्योल भई नियमित कार्यातालिका प्रभावित हुने अवस्था आएको भए सम्बद्ध शाखाले तत्काल महासंघ केन्द्रीय कार्यालयमा जानकारी गराउनुहुनेछ । अन्य क्षेत्रमा पनि सदस्यताको विवाद नभएका शाखामा कार्यतालिकाबमोजिम नै अधिवेशन हुने छ भने समस्या देखिएको शाखाको हकमा समस्या समाधान गरेर अधिवेशन गराइने भएकोले सदस्यताको विषयलाई लिएर विवाद कायम रहेका शाखामा सम्बद्ध सबै पक्षलाई राखी आपसी छलफल गरेर सम्बन्धित शाखा अधिवेशन हुने एकसाता अघिसम्ममा समाधान गरेर केन्द्रमा सिफारिस गर्नुहुन पुनः निर्देशित गरिएको छ । अन्यथा केन्द्रले नै उपयुक्त विधि र प्रक्रियाबाट हल गरेर अन्तिम नामावली पठाई अधिवेशन गराइने छ ।
उजिर मगर
महासचिव

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।