0 COMMENTS

काठमाडौं ५, फागुन०७३/ यौन व्यवसायलाई सरकारले निषेध गरेको भए पनि ५४ हजारभन्दा बढी महिलाले यौनलाई पेशा बनाइरहेको तथ्याङ्क एक सरकारी निकायले सार्वजनिक गरेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपालमा पछिल्ला ६ वर्षमा यौनकर्मी महिलाको संख्या झन्डै दोब्बरले वृद्धि भएको दावी समेत केन्द्रले गरेको छ ।सन् २०१० मा नेपालमा करिब २८ हजार यौनकर्मी महिला रहेकोमा अहिले त्यो संख्या बढेर ५४ हजारको हाराहारीमा पुगेको जानकारी विहीबार दिइयो । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा विभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययन प्रतिवेदनमा यो तथ्याङ्क उल्लेख गरिएको छ ।

विहीबार राजधानीमा प्रतिवेदन सार्वजनिक गर्दै महिला यौनकर्मी, तेस्रोलिंगी, पुरुष यौनकर्मी र समलिंगीहरुको संख्या बढेको दाबी गरियो ।यस्तै, सुइबाट लागुपदार्थ लिने व्यक्तिहरुको संख्या पनि ३४ हजारको हाराहारीमा रहेको तथ्यांक केन्द्रले सार्वजनिक गरेको छ ।

देशका विभिन्न ४४ जिल्लामा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तले यी सबै समूहका महिला, पुरुष तथा तेस्रो लिंगीहरु एचआइभी संक्रमणको उच्च जोखिममा रहेको बताए ।अध्ययन प्रतिवेदनमा सबैभन्दा बढी यौनकर्मी महिला, पुरुष, तेस्रोलिंगी, सुइद्वारा लागुऔषध लिने व्यक्तिलगायतको समूह काठमाडौंमा रहेको देखाइएको छ ।

काठमाडौंपछि भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, बाँकेलगायतका जिल्लाहरुमा उनीहरुको संख्या बढी रहेको उल्लेख छ ।

राजनीतिक अस्थितारका कारण उब्जिएको बेरोजगारी समस्या, खुला सीमालगायतका कारणले यौनकर्मी महिला पुरुषको संख्या वृद्धि भएको निष्कर्ष अध्ययनको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।