0 COMMENTS

काठमाडौं, ५ फागुन०७३ / स्थानीय निर्वाचन गराउने तयारीमा लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही नेताहरूको क्रियाकलापबाट आजित बन्न पुगेका छन् । विशेष गरेर आफ्नै गुटका नेताहरूसँग देउवा असन्तुष्ट बन्न पुगेका हुन् ।

बामपन्थीहरूको एकतालाई टुटाएर कांग्रेस र माओवादी गठबन्धनमा सरकार बनाउन सफल भएका देउवालाई आफैले अति विश्वास गरेको नेताले धोका दिइरहेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

स्रोतका अनुसार देउवाका अति विश्वासपात्र विमलेन्द्र निधिले विभिन्न विषयमा फसाउँदै लगेका छन् । सभापतिमा निर्वाचित हुने बेला खुमबहादुर खड्कासँग भएको सहमतिलाई पनि उल्टाउन लगाएका निधिले नेपाल प्रहरीको आइजीपी नियुक्ति प्रकरणमा पनि अनावश्यक रुपमा बिबादमा तानेका छन् । देउवाले आइजीपी नियुक्तिमा चासो राख्नु स्वभाविक पनि हो ।

तर, आफ्नै पार्टीको सभापतिको निर्देशनलाई मान्नुपर्नेमा निधिले बामपन्थी पत्रकारहरू प्रयोग गरेर बद्नाम गराउने अभियानमा लागेपछि भने कांग्रेसभित्र चिन्ताको विषय बन्न पुगेको छ ।

पछिल्लो समय गृहमन्त्री निधि वामपन्थी पत्रकारहरूसँग निकट हुन खोजिरहेका छन् । निधिले प्रहरीको आइजीपी नियुक्तिका विषयमा आन्तरिक कुराहरू ‘लिक’ गरेको आरोप छ । स्रोतले भन्यो–‘नवराज सिलवाललाई आइजीपी बनाउने मुडमा रहेका निधिलाई देउवाले आफ्नो लाइनको व्यक्ति चन्दलाई अगाडि बढाउन निर्देशन दिएपछि रिसाएका थिए । त्यही भएर होला निधिले देउवाविरुद्ध वामपन्थी पत्रकारहरूमार्फत समाचार लेखाए ।’ निधि सभापति देउवाको संरक्षण गर्नुका साटो बिबादमा तानेर आफ्नै समूहभित्र आलोचित बन्न पुगेका छन् ।

स्थानीय चुनावका बेला एमालेका गृहमन्त्री बामदेव गौतमले आफ्नो पार्टीलाई जिताएको कुरा अहिले निधिले भुलेको आरोप कांग्रेसका नेता तथा कार्यकर्ताहरूले भन्न थालेका छन् । राज्य संयन्त्रमा आफू निकट मान्छे नहुँदा त्यति बेलाको स्थानीय चुनावमा कांग्रेसले ठूलो मूल्य चुकाउनु परेको थियो । त्यसको मूल्य अहिले पनि कांग्रेस कार्यकर्ताले गाउँगाउँमा चुकाइ रहेका छन् ।

यो कुरा बुझेका कांग्रेसका पार्टी सभापति देउवाले आफू निकट व्यक्तिलाई आइजीपी बनाउन खोज्नुलाई अन्यथा लिन नहुने कांग्रेसका एक प्रभावशाली नेताले बताए । उनले भने–‘कांग्रेसले आफूलाई सहयोग गर्ने व्यक्तिलाई नै अगाडि बढाउनु पर्छ । वामपन्थीहरूलाई कुनै पनि हालतमा सहयोग गर्न सकिँदैन ।’

गृहमन्त्री निधिका पछिल्ला गतिविधी शंकास्पद हुन थालेकोमा देउवा पनि सशंकित भएका छन् । उनले निधिका हरेक निर्णय र प्रस्तावलाई आफ्नो किचन क्याबिनेटभित्र गम्भीर रुपमा पटक–पटक छलफल गर्ने गरेको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।