0 COMMENTS

कपिलवस्तु ४फाल्गुन २०७३/ शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिनगरकी ७ वर्षीया बालिका सीता अधिकारीको हत्या भएको छ । प्रहरीले जबरजस्ती करणीपछि हत्याको आशंकामा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

बालिका सोमबार साँझ घर आसपास खेल्दाखेल्दै हराएकी थिइन् । राति ९ बजेसम्म आमाबुवा र छिमेकीले खोजे । नभेटेपछि प्रहरीलाई खबर गरे । प्रहरीले आसपास क्षेत्र, विद्यालय, बगैंचा, नदी र खोलामा खोजी गरेको थियो । तर कतै फेला पारेनन् । बिहान सशस्त्र प्रहरीको विन्ध्यवासिनी गणको पूर्व–उत्तरको जबई खोलामा पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।

‘गुप्ताङ्गबाट रगत बगिरहेको थियो,’ वडा प्रहरी कार्यालय चन्द्रौटाका निरीक्षक झवीन्द्र भट्टराईले भने, ‘त्यही रगत साँप्रोभरि लत्पतिएको थियो ।’ भट्टराईका अनुसार शरीरमा चोटपटक छैन । तर घाँटी थिचेको जस्तो देखिन्छ । बलात्कारपछि हत्या गरेको आशंकामा मंगलबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिसँग सोधपुछ भइरहेको भट्टराईले बताए । पक्राउ परेका व्यक्ति बालिकाकै छिमेकी हुन् ।

बजार बन्द
घटनापछि बिहानैदेखि विद्यार्थी, प्याब्सन र नागरिक अगुवाले चन्द्रौटामा प्रदर्शन गरेका छन् । दोषीलाई पक्राउ गरेर कानुनी कारबाही माग गर्दै विभिन्न ५ संघसंस्थाले इलाका प्रशासनमा ज्ञापनपत्र दिए । २ घण्टा चन्द्रौटा बजार बन्द गरियो । साँझ ५ बजे शवयात्रा निकालेर जबई खोलामा दाहसंस्कार गरिएको छ । चोकमा किराना पसल गरी अधिकारी परिवारले जीविकोपार्जन गर्दै आएका छन् । सीता परिवारकी कान्छी छोरी हुन् । उनी अवर मदरल्यान्ड एकेडेमीमा एल केजीमा पढ्थिन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।